युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’

विष्णु सुवेदी

गोरखापत्र मुलुकको जेठो समाचारपत्र मात्र होइन, यो नेपाली पत्रकारिताको वैभवशाली संस्था हो । यो पत्रिका मात्र होइन, यो हाम्रो गौरव अनि इतिहास एवं सभ्यता पनि हो । हाम्रो संस्कृति, साहित्य र भाषिक विविधताको धरोहरका रूपमा यो रहेको छ ।
वि.सं. २०५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा एउटा ठूलो फड्को पनि थियो । नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र होइन, युगको जीवन्त प्रतिनिधि हो । आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने पढिने पत्रिका गोरखापत्र हो । हाम्रो सामाजिक विकास र संस्कृति प्रवद्र्धनमा यो संस्थाको महत्त्वपूर्ण योगदान छ । यसले अनेक उकाली ओराली पार गरेको छ भने राजनीतिक र सामाजिक परिवर्तनका थुप्रै आरोह अवरोहको साक्षी बनेको छ ।
वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’को लक्ष्य हासिल गर्न संस्थाको ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुवैतर्फ व्यापक शल्यक्रिया गरेर उत्पादनको गुणस्तरमा उल्लेख्य सुधार तथा परिवर्तन आवश्यक छ । सूचना प्रविधिको तीव्रतर विकाससँगै मिडिया उद्यमको मात्र होइन, पत्रकारिताको चित्र र चरित्र बदलिएको छ । कागजको जमाना अब जोखिममा परिसकेको छ र दुनियाँ डिजिटल भइसकेको छ । अबको दुनियाँमा बलवान् हामी पत्रकार वा पत्रिका होइन, प्रविधि र पाठक हुन् । पत्रकारभन्दा पाठक स्मार्ट भएका छन् । पाठकसमक्ष रोजाइका अनगिन्ती विकल्प छन् र उनीहरूका चाहना र आवश्यकता फेरिएका छन् ।

सामाजिक सञ्जालको आक्रामक विकास र विस्तार मूल प्रवाहको मिडियाका लागि सबैभन्दा ठूलो चुनौती हो । चौबिस घण्टा कुरेर पाठकले किन गोरखापत्र र राइजिङ नेपाल पढ्नुपर्ने ? यसको जबाफ अब हामीले हाम्रो उत्पादनमा आमूल सुधार गरेर दिनैपर्छ । नत्र गोरखापत्र संस्थानले भन्दा पहिले हामीलाई पाठकले बिदा दिने खतरा पनि छ । हामीले काम गर्ने सोच, शैली र संस्कार बदल्न सकनौँ भने त्यो खतरा अब टाढा छैन ।
पत्रकारिताको आयाम नै परिवर्तन भएको छ । अब प्रतिस्पर्धा सूचनामा होइन, सामग्रीको प्रस्तुति र स्‍वादमा हो । त्यही एउटै सामग्रीलाई कुन एङ्गल र कस्तो ‘प्याकेज’मा हामीले प्रस्तुत गर्न सक्छौंँ अनि ‘मल्टी मिडिया’लाई कसरी ‘ब्लेन्ड’ गर्छौं, त्यसमै हाम्रो स्तर र प्रभाव प्रदर्शन हुन्छ । पाठकको स्वाद र सन्तुष्टि, सामग्रीको विविधता र गुणस्तर अनि प्रविधिको प्रभावकारी संयोजनबाट मात्रै हाम्रो सफलता सम्भव हुनसक्छ । पाठकको रुचि र रोजाइअनुसार हामी हिँड्न सकेनौँ भने हाम्रो प्रयास अर्थहीन हुनेछ । समयको माग र प्रविधिको गति पछ्याउँदै दौडिन र बदलिन सकेनौंँ भने हाम्रो यात्रा असान्दर्भिक हुने खतरा पनि छ ।

अहिलेको मुख्य चुनौती भनेको सूचना प्रविधिमा भएको चमत्कारिक विकास हो । अब डिजिटलबाट भाग्‍ने अवस्था छैन र यसको गति पछ्याउन पनि त्यति सजिलो छैन । सूचना प्राविधिको चमत्कारसँग जुध्‍नुपर्ने र त्योसँग समायोजित हुनुपर्ने चुनौती छ । हामीले छाप्ने पत्रिकाको ‘हार्डकपी’ सबै पाठकले पढ्न पाउने अवस्था छैन । सबै ठाउँमा पु-याउन पनि सम्भव छैन तर हाम्रो ‘डिजिटल प्लेटफर्म’मार्फत लाखौँ पाठकसँग हामी जोडिनसक्छौँ । अब त्यो प्लेटफर्म हाम्रो प्राथमिकतामा हुनुपर्छ ।
पाठकको परिभाषा परिवर्तन भएको छ । पत्रिका किन्‍ने ग्राहक र पढ्ने मात्र हाम्रा पाठक होइनन् । फेसबुक, ट्‍िवटर, युट्युब तथा अन्य डिजिटल मिडियाबाट हाम्रो उत्पादनसँग जोडिने र हाम्रा सामग्री पढ्ने, सुन्‍ने र हेर्ने सबै हाम्रा पाठक हुन् । तिनको सुविधा, रोजाइ र रुचिलाई अब हामीले ख्याल गर्नुपर्छ । पाठक अहिले पत्रकारभन्दा पनि स्मार्ट भएका छन् । प्रविधिको प्रयोग र रोजाइमा उनीहरू सिपालु छन् । त्यसैले पाठकको परम्परागत चित्र र चरित्र जसरी परिवर्तन भएको छ, हाम्रो सामग्री र प्रस्तुतिमा त्यही खालको परिवर्तन आवश्यक छ ।
राजनीतिक अस्थिरतासँगै व्यवस्थापन र सम्पादकीय नेतृत्वमा भइरहने फेरबदलले संस्थाको स्वाभाविक विकास क्रम बेलाबेलामा बिथोलिएको छ । व्यवस्थापन र सम्पादकीय नेतृत्वमा एउटा खालको स्थिरता भयो भने संस्थाको गति अझ सहज हुनेछ । विगतमा राजनीतिक हस्तक्षेप र दलीय ‘सिन्डिकेट’ले गोरखापत्र थलिएको छ । यो रोग हामी गोरखापत्रकर्मीले नै निम्त्याएको हो ।

सानोभन्दा सानो विषयलाई पनि राजनीतीकरण गरे वा दलीय चस्मा लगाएर पार्टी वा नेता वा मन्त्रालयमा धाउने प्रवृत्ति अब बन्द गर्नुपर्छ । त्यो प्रवृत्तिलाई दुरुत्साहन गर्नेतर्फ अब नयाँ व्यवस्थापनको कठोर प्रयास हुनेछ । जुनियर रिपोर्टर वा कार्यालय सहायकसम्मको कर्मचारीको नियुक्ति वा सरुवामा पनि उसको सीप र क्षमता जाँच्ने र मूल्याङ्कन गर्नेभन्दा पनि माथिको लाइन कुर्ने, दलीय इसारा र आदेश पर्खिने गलत प्रथाले यो गौरवमय संस्थाको व्यावसायिक धारमा खिया लाग्दै गएको छ ।
विगतमा केही प्रकरणले के पाठ सिकाएको छ भने हाम्रा आफ्नै कमजोरीले पनि संस्थाले आफ्नो स्वायत्तता र निर्णय गर्ने क्षमता गुमाउँदै गएको छ । अब यो अवस्था अन्त्य गर्नुपर्छ । गोरखापत्रलाई राजनीतिक गुटबन्दी र दलीय सिन्डिकेटबाट मुक्त गरेर एउटा स्वायत्त र व्यावसायिक संस्थाको रूपमा विकास गर्नुपर्छ । यसका लागि यहाँ कार्यरत सबै गोरखापत्रकर्मीको इमानदार र सिर्जनशील सहयोग र सक्रियता आवश्यक छ । हामीले परम्परागत ढर्रा अन्त्य गर्नैपर्छ । सरकारी काम कहिले जाला घाम वा झारा टार्ने प्रवृत्तिलाई निर्मम रूपमा निरुत्साहन गर्नैपर्छ ।
संस्थाको सबैभन्दा ठूलो पुँजी भनेको त्यहाँको जनशक्ति हो । त्यो जनशक्ति सिर्जनशील, इमानदार र ऊर्जाशील भएन भने संस्था पनि बलियो र दिगो हुन सक्दैन । संस्थाका हरेक सदस्यले संस्थाप्रति गौरव गर्ने र त्यहाँको उत्पादनको अपनत्व लिने अझ हार्दिक र व्यावसायिक वातावरण तयार गर्नु जरुरी छ । विगतमा संस्थाभित्र केही पात्र अस्वाभाविक रूपमा हावी भएर संस्थानको स्थापित पद्धति भत्काइएको छ भने तदर्थ एवं अपारदर्शी ढङ्गले धेरै कामकारबाही भएको छ र त्यसमा मन्त्रालयबाट समेत प्रभावकारी अनुगमन वा नियमन नभएको पाइएको छ । त्यसको अप्रिय परिणाम र पीडा संस्थाले अझै केही समय बेहोर्नुपरेको पर्नेछ । यो अवस्था फेरि दोहोरिन नदिन नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ ।

गोरखापत्रको मुख्य कार्यालय न्युरोडको भूगोलपार्कमा छ । निकै व्यस्त र साँघुरो स्थानमा रहेको यो कार्यालय कुनै पनि हिसाबले उपयुक्त छैन । जनसम्पर्क बढी हुनुपर्ने यो कार्यालयमा अहिले सहज पहुँच छैन भने मुख्य भवन निकै जीर्ण छ । नयाँ भवन निर्माण र निर्माणाधीन संरचनालाई पूर्णता दिनु तत्कालको आवश्यकता हो । दीर्घकालीन रूपमा यो ठाउँ र संरचनालाई व्यापारिक ‘कम्प्लेक्स’का रूपमा विकास गरेर गोरखापत्रलाई अलि खुला र उपयुक्त स्थानमा सारेर गोरखापत्र भिलेज निर्माण गर्नुपर्छ । जहाँ गोदाम, प्रेस, न्युज रुम, तालिम तथा सम्मेलन कक्ष, म्युजियम, क्यान्टिन र आवासको समेत व्यवस्था गर्न सकिन्छ ।

जीर्ण भवन पुनर्निर्माण गर्न सकिन्छ र त्यो नयाँ बन्छ छिटै तर हाम्रो सोच अनि काम गर्ने शैली पनि जीर्ण भयो भने त्यसको जीर्णोद्धार गर्न भने कठिन हुनेछ । संस्थासँग स्मार्ट भवन तयार हुँदा हामी जीर्ण भएर असान्दर्भिक हुने अवस्था नआओस् ।
नेपालमा सबैभन्दा बढी स्रोतसाधन सम्पन्‍न र सबैभन्दा बढी पहुँच वा नेटवर्क भएको सञ्चार संस्था गोरखापत्र हो । हामीसँग के छैन ? अनुभवी जम्बो जनशक्ति छ । प्रविधि र उपकरण यहाँ जति अन्यत्र छैन । सूचनाको यति सहज पहुँच अरूसँग हुँदैन । शताब्दी लामो विरासत अनि पाठकको माया र विश्‍वास पनि छ । स्वाभाविक रूपमा कसैले उछिन्‍न नसक्‍ने गरी गोरखापत्र नम्बर एक हुनुपर्ने हो तर त्यो हुन अझै सकिरहेको छैन । त्यो हुन नसक्‍नुको कारण र कमजोरी हामी नै हो । यो संस्था जति सशक्त, दिगो र व्यावसायिक हुन्छ, गोरखापत्रकर्मीको भविष्य त्यति सुरक्षित र सुन्दर हुन्छ ।

इतिहास तथा विरासतले हामी समृद्ध छौँ तर अब यो संस्थाले नयाँ जीवन खोजिरहेको छ । परम्परा र विरासतमा अल्झिनुभन्दा अब ‘ब्रान्ड’ विकास गर्नु जरुरी छ । संस्थासँग रहेका पूर्वाधार, मानव संसाधन, प्राविधिक एवं भौतिक स्रोतसाधनको अध्ययन गरेर त्यसको प्रभावकारी उपयोग र परिचालन गरी परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्रलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो ।
यस्तो गौरवमय संस्थाको सदस्य वा गोरखापत्रकर्मी बन्न पाउँदा मलाई खुसी अनि गर्व लागेको छ । आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित यसका सम्पादकीय उत्पादनहरू (गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुना, अनलाइनलगायत)को गुणस्तरमा अभिवृद्धि गरी गोर्खापत्रलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहितको मार्गचित्र तयार हुने क्रममा छ ।

सञ्चार तथा सूचना प्रविधिको आयामलाई आत्मसात् गर्नसक्ने सक्षम र शालिन व्यक्तित्व मन्त्रालयको राजनीतिक नेतृत्वमा भएकोले पनि गोरखापत्र सुधारको अभियानमा हामी थप उत्साहित भएका छौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई युग सुहाउँदो, सक्षम, विश्वसनीय र व्यावसायिक मिडिया संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । त्यसैगरी सञ्चार क्षेत्रको विकास र डिजिटल दुनियाँसँग राम्रोसँग परिचित एउटा विज्ञ व्यक्तित्व डा. वैकुण्ठ अर्याल मन्त्रालयको सचिव हुनुहुन्छ । त्यसैले सुधारको अभियान अगाडि बढाउन अहिले गजबको एउटा अवसर छ ।

युग सुहाउँदो स्मार्ट गोरखापत्रको लक्ष्य हासिल गर्ने अभियानमा गोरखापत्रका समस्त सम्मानित पाठक, संस्थाका अग्रज र शुभेच्छुकको सद्भाव र सुझाव अझै महìवपूर्ण हुन्छ । हामी सबैबाट अमूल्य सल्लाह तथा प्रतिक्रियाको अपेक्षा गर्दछौँ । गोरखापत्र सुधारको कार्ययोजनासहितको मार्गचित्रबारे आगामी अङ्कमा म बुँदागत रूपमा चर्चा गर्नेछु । गोरखापत्रअनलाइनबाट

आइतवार, कार्तिक १४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...