विश्वकप टि२० प्रतियोगिताको उपाधि अष्ट्रेलियालाई

अस्ट्रेलियाले आइतबार छिमेकी देश न्युजिल्यान्डलाई आठ विकेटले हराएर विश्वकप टि२० प्रतियोगिताको उपाधि जितेको छ ।

सबभन्दा बढी पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलियाले टि२० संरचनाको विश्वकप भने पहिलो पटक हात पारेको हो । न्युजिल्यान्डको पहिलो पटक विश्व टि२० च्याम्पियन बन्ने सपना भने पूरा हुन सकेन । न्युजिल्यान्ड सेतो बलको क्रिकेटमा लगातार दोस्रो पटक फाइनलमा निराश बनेको हो ।

दुई वर्षअघि विश्वकप एकदिवसीय क्रिकेटको फाइनलमा इङ्गल्यान्डसँग सुपर ओभरमा कम चौका प्रहार गरेको आधारमा मात्र पराजित भएर विश्व विजेता बन्नबाट वञ्चित भएको थियो । यद्यपि यसबीच यो वर्ष भारतलाई हराएर न्युजिल्यान्ड टेस्ट क्रिकेटको विश्व च्याम्पियन बनेको थियो । यसैगरी, सन् २०१५ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँग नै न्युजिल्यान्ड निराश बनेको थियो ।

विश्वकप टि२० को सातौँ संस्करणको फाइनलमा टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य न्युजिल्यान्डले चार विकेटको क्षतिमा १७२ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । केन विलियम्सनले ४८ बलमा ८५ रनको कप्तानी पालि खेलेपछि न्युजिल्यान्डको पालि राम्रो भएको थियो । न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिलले ३५ बलमा २८ रनको सुस्त पालि खेल्नुभयो । यसैगरी ग्लेन फिलिप्सले १८ र जेम्स निसमले सात बलमा अविजित १३ रन बनाउनुभयो ।

टि२० विश्वकपमा न्युजिल्यान्डले बनाएका योगफल अहिलेसम्मकै सर्वाधिक हो । तर अस्ट्रेलियाले १७३ रनको लक्ष्य पनि सामान्य बनायो । मिचेल मार्शले ५० बलमा अविजित ७७ रन र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले ३८ बलमा ५३ रनको अर्धशतकीय पालि खेलेपछि अस्ट्रेलियाले जवाफमा सात बल बाँक्ी छँदै दुई विकेटको क्षतिमा १७३ रन बनाएर लक्ष्य हासिल गर्यो । ग्लेन म्याक्सवेल पनि १८ बलमा २८ रन बनाएर अन्तसम्म आउट हुनुभएन ।

विश्वकप टि२० को उपाधि जित्ने अस्ट्रेलिया छैटौँ राष्ट्र हो । यसअघि, भारत (२००७), पाकिस्तान (२००९), इङ्गल्यानड (२०१०), वेस्ट इन्डिज (२०१२, २०१६) र श्रीलङ्का (२०१४) विश्व टि२० च्याम्पियन बनेको थियो । एपी

सोमवार, कार्तिक २९, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...