अपरिचित बुहारीको बकपत्र

लगभग १२०० मिटरको उचाइमा रहेको घर। फराकिला ढुंगा छापेको साँघुरो आँगन अनि तरेली परेका खेतमा झुलेका धानका बालाहरु। कात्तिक मासको बिहानी सिरेटोमा खाना खाएर जुठोभाँडो गरेपछि बलेसीमा घाम तापी आँखैअघि झल्केका माछापुच्छ्रे र धौलागिरि हिमालको मनोरम दृश्य हेर्दै थिएँ, कतिखेर सोचाइको धरातल छोडी गहिराइमा डुबिसकेको रहेछु भन्ने पनि पत्तो पाएनछु।

अल्यापुमै आमा गुमाउनु भएका आफ्ना श्रीमानको मन-मस्तिष्कमा विचरण भइरहेका भावनाहरुलाई थाहै नपाई मेरो मनले पनि आत्मासात गर्न खोजेको रहेछ। नौ महिना कोखमा राखी दश धारा दूध चुसाएर दुःखले हुर्काएको छोरो पढाइमा अब्बल हुँदा कति आत्मसन्तुष्टि मिल्यो होला! भविष्यमा उसले पक्कै केही राम्रो काम गर्नेछ भनी गर्वले छाती कति फुल्यो होला!

चुहिएको छानो र भत्किएको आँगनलाई नयाँ स्वरुप देला भन्दै कति सपना साँच्नुभयो होला! दसैँ-तिहारमा सेलरोटी पकाउँदा बिग्रेको बेलामा अँगेनोको छेउमै बसेर मलाई कति मार्गनिर्देश गर्नुहुन्थ्यो होला! अपसोच! रहर साँचेको कान्छो छोराको विवाहसमेत देख्न नपाई आफूले मृत्यवरण गर्दैछु भन्ने थाहा पाउँदा कस्तो अनुभूति भयो होला!

हो आमा, हजुरले लिपेर बनाएको घरको दैलो मैले टेक्दा हजुरले हामीलाई छोडेर गइसक्नु भएको रहेछ। हजुरको छोरा हजुरलै नै बनाउनु भएको जगमा टेक्दै खाएको जागिरको सिलसिलामा म जन्मिएको जिल्लामा सरुवा भई आउनु भएको रहेछ। मेरो घरमा म माथिको दिदीको विवाह भइसकेकोले मेरो विवाहको प्रसङ्ग चल्नु स्वभाविकै थियो सायद!

मेरो भिनाजु र हजुरको छोराले एउटै अफिसमा काम गर्ने सिलसिलामा हजुरको छोरा अविवाहित हुनुहुन्छ र विवाह गर्ने मनसायमा हुनुहुन्छ भन्ने कुरा मेरो भिनाजुले थाहा पाएपछि मेरो र हजुरको छोराको विवाहको प्रसङ्ग थप अघि बढेको रहेछ। मेरो भिनाजुले आफ्नी सालीलाई उपयुक्त हुने पात्र देखेपछि अफिसकै अरु स्टाफमार्फत कुरा अगाडि बढाउनु भएको रहेछ, जुन कुरा मैले पछिमात्र मेरो बुवा र भिनाजुले भनेपछि थाहा पाएँ।

जागिर खान गएको जिल्ला अनि उस्तै-उस्तै जागिर गर्ने केटीसँग विवाह गर्न लागेपछि हजुरको (अहिले मेरो पनि) गाउँ र इस्टमित्र बीचमा प्रेम विवाह हो कि भन्ने गाइँगुई पनि नचलेको होइन। तर, मेरो बुवा र भिनाजुले भेटेर गफगाफ गरेपछि मात्र मैले बिहेको प्रस्ताव स्वीकृत गरेको थिएँ। मलाई मेरो बुवाले रोज्नु भएको केटासँग विवाह गर्दा जीवन काट्न सहज हुन्छ भन्ने विश्वास थियो।

अहिलेको जमानामा बिहेको कुरा चलेको एक महिनाभित्रै बिहे भइसक्नु अनि विवाहअघि केटा र केटी कतै क्याफेमा बसेर एक कप चिया/कफी समेत नखाई औपचारिक भेटकै भरमा विवाह टुङ्गिनु सायद अचम्मकै कुरा हो। जुन कुरा हजुरको छोरा र मेरो जीवनमा पनि लागु भयो। मेरा साथीहरुलाई बिहेको निम्तो दिँदा पनि ‘लभ म्यारिज कि एरेन्ज म्यारिज?’ भन्ने प्रश्न सबैभन्दा पहिले सामना गर्नुपर्थ्यो। शुद्ध ‘एरेन्ज म्यारिज’ हो भन्ने जवाफ फर्काउन म अभ्यस्त भइसकेको थिएँ।

हो आमा, मैले हजुरको छोरालाई आफ्नो जीवनसाथी पाएकोमा गर्व गर्छु। तर, यति असल छोरा जन्माइदिने अनि यहाँसम्म पुग्ने वातावरण मिलाइदिने हजुरलाई देख्न नपाउँदा नमिठो गरी मुटु पोल्छ। घर पुग्दा हजुरले पस्केर दिएको खाना खान नपाउँदा, सँगै घाँस काट्न जाँदा मनका भावना बिसाउने चौतारी हजुर नहुनु भएकोमा मेरो मन चसक्क घोच्छ।

घर गएको बेलामा मैले भित्र-बाहिर गर्दा हजुरले सिकाएको/अह्राएको कुरा मैले अनुभव गर्न नपाएकोमा मलाई झनै धेरै पीडा हुन्छ। ‘आमा’ शब्द सबैका लागि प्रिय हुन्छ, जुन मेरो लागि पनि छ।

हामीले आफ्नो आमालाई पनि ‘ममी’ नभनी आमा नै भनेर सम्बोधन गर्छौँ, आमाको आमा अर्थात् हजुरआमालाई पनि आमा नै भन्छौँ। अझ सौभाग्यको कुरा, आमाको ८८ वर्षे हजुरआमालाई पनि हामीले आमा नै भनेर सम्बोधन गर्न पाएका छौँ। तर, विवाह गरेर गएको घरमा ‘आमा’ भनी सम्बोधन गर्न नपाउँदा मलाई सधैँ पीडाबोध भइरहन्छ, हजुरको अभाव खड्किरहन्छ।

हो आमा, जुन कुरा शाश्वत छ, उही कुरा सबैभन्दा अप्रिय हुन्छ। त्यो मृत्यु हो। यो धर्तीमा अजर-अमर कोही रहँदैन। तर, अल्पायुको मृत्य जति अकल्पनीय र पीडादायी पनि अरु केही नहुने रहेछ। हजुरलाई बचाउने अनेक प्रयास गर्दा पनि ७ वर्षअघि मृत्युले हजुरमाथि विजय प्राप्त गरेरै छोडेको रहेछ। औषधि उपचारका सम्पूर्ण विज्ञानहरु हजुरका लागि फिका सावित भएका रहेछन्।

हजुर जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, यो अपरिचित बुहारीको तर्फबाट हजुरको आत्मालाई सधैँ शान्ति मिलिरहोस् भन्ने कामना गर्दछु। शब्दरुपी श्रद्धाञ्लीका थुङ्गा बाहेक हजुरलाई अरु केही चढाउन र टक्राउन नपाएकोमा क्षमाप्रार्थी छु आमा।

सोमवार, मंसिर १३, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...