आरजुको पोल्टामा आरक्षण : मैले किन बधाई दिने ?

बसन्ती बास्तोला

नेपाली कांग्रेसको चुनाव सकिएपछि मलाई मेरो श्रीमान्ले सोधे, ‘दिदीले चुनाव जित्नुभयो । तिमीलेे किन बधाई नदिएको ?’ मैले भनें, ‘सभापति नै हुने क्षमता भएको मान्छे गएर एउटा सदस्यको लागि आरक्षणमा उठेर जित्छ भने मेरा लागि त्यो बधाई दिनुपर्ने जित नै होइन, त्यसैले दिइनँ ।’

मैले भनें, ‘दिदीले आफ्नो क्षमता मात्र खुम्च्याएको होइन । जसले त्यो आरक्षण पाउनुपर्ने हो उसको भाग पनि खोसेको हो । त्यसैले अझ यसमा त मेरो असन्तुष्टि नै छ ।’ आरक्षणका विभिन्न पदमा जितेकालाई मैले बधाई नदिएका र भित्रभित्रै असन्तुष्टि जनाएका घटना धेरै छन् । यी कुरा लेख्नै पर्छ भन्ने चाहिं यस पटकको नेपाली कांग्रेसको चुनावले बनायो ।

म कक्षा १० मा पढ्दा शेरबहादुर देउवा यो मुलुकको प्रधानमन्त्री थिए । १२ वर्ष दैनिक पत्रिकामा रिपोर्टिङ गरें, पत्रकारिताको रहर पूरा गरिसकेर पाँच वर्ष घरपरिवारलाई दिएँ, एउटा बच्चा हुर्काउँदै यही बीचमा मैले विचार लेख्न थालेको पनि पाँच वर्ष भइसक्यो, मुलुकमा उनै प्रधानमन्त्री छन् ।

छिमेकी दाइ पदम विश्वकर्मासँग म हिसाब ट्युसन पढ्थें । मलाई राजनीतिमा रुचि भएको कारण पढ्ने समयमा समेत कहिलेकाहीं राजनीतिक गफ भइरहन्थे । ट्युसनको बेला हामी प्रधानमन्त्री ठूलो कि डाक्टर भनेर शेरबहादुर देउवा र आरजु राणाको विषयमा कुरा गथ्र्यौं । त्यतिबेला नामको अगाडि डाक्टर हुनु ठूलो कुरा थियो ।

उतिबेला पदम दाइले भनेका थिए, ‘प्रधानमन्त्री सधैंको पद हैन, डाक्टर सधैंको हो ।’ त्यसबेला दाइले भनिदिएको कारण मैले शेरबहादुर देउवाभन्दा आरजु राणा ठूलो देखें । त्यसपछि जब म आफैं विवेक प्रयोग गरेर मानिस चिन्न थालें, कहिल्यै आरजु राणालाई शेरबहादुर देउवा भन्दा कमजोर ठानिनँ ।

देउवाको राजनीति धान्न राणाले कमाएर ल्याएको तलब समेत कार्यकर्ताको स्वास्थ्य उपचारमा खर्च गरेको मलाई थाहा छ । मलाई अहिले पनि लागिरहन्छ शेरबहादुर देउवाभन्दा त आरजु राणा पो सक्षम छिन् । के शेरबहादुर देउवा वा अरू कांग्रेस नेता उनीहरूको र आरजु राणाको आर्थिक, शैक्षिक पूर्वाधारको लेखाजोखा गर्ने हो भने आरक्षण पाउनुपर्ने कसले हो ?

तर उनै राणा आरक्षणको सिटमा उठेपछि आम महिलाले आफ्नो स्थान कहाँ खोज्लान् ? उनले गर्न सक्ने धेरै काम छन् । उनी राजनीतिमै हुनुपर्छ भन्ने छैन । हुन मन छ भने उनी प्रत्यक्षमा किन गइनन् ? यसको उत्तर खोजिनुपर्छ । बीपी कोइरालाले नै भनेका छन्, ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास ।’

यसपटक मलाई आरक्षणको अर्थ र उद्देश्य खोज्न मन लाग्यो । राज्यमा बसोबास गर्ने विभिन्न जातजाति, वर्ग र समुदायका नागरिकहरू मध्ये खासगरी महिला, जनजाति र अल्पसंख्यक समुदायका व्यक्तिविशेषको सामाजिक, आर्थिक एवं राजनीतिक उत्थान गर्ने उद्देश्यले शैक्षिक, रोजगारी र आयमूलक कार्यक्रममा पहुँच पुर्‍याउन राज्यद्वारा उनीहरूलाई मात्र प्रदान गरिने सहुलियतलाई आरक्षण वा सकारात्मक विभेद भनिंदो रहेछ । यसको अर्थ आरक्षणको उद्देश्य हो सबै नागरिकलाई शासन, प्रशासनका सबै क्षेत्रमा समानुपातिक हिसाबले सहभागी गराउने र सामाजिक न्यायको प्रवर्द्धन गर्दै समावेशी प्रजातन्त्रको धारणालाई साकार बनाउने ।

यस्ता अभ्यासले समावेशी प्रजातन्त्रको धारणा साकार भयो त ? नेपालमा सकारात्मक विभेदको शुरुआत २०४७ को संविधानपछि शुरु भयो । यसको शुरुआत राम्रोको लागि गरिएको हो । स्थानीय निकायमा महिला नेतृत्व बढ्नु यो एउटा कारण हो । महिला सक्षम नभएर होइन, धेरै स्थानमा उनीहरूलाई विश्वास नगरिएर पनि उनीहरू पछाडि परेका हुन् ।

हामीले पत्रकारिता शुरु गर्दा पनि पत्रकार महासंघमा आएका तालीमका अवसरमा महिलाका लागि भनेर पठाइयो भने मात्र हाम्रो पालो आउँथ्यो नत्र सधैं पुरुष जान्थे । उनीहरू पत्रकारितामा सक्रिय हुन् या नहुन् यसले अर्थ राख्दैनथ्यो । किनकि पठाउने ठाउँको नेतृत्व पुरुषले नै गरिरहेका हुन्थे ।

महिला उभिनासाथ ‘आरक्षण’ र पुरुष उभिनासाथ ‘सक्षम’ देख्ने समाज रहेसम्म महिलाले पटक-पटक ‘क्षमता’ को परीक्षा दिइरहनुपर्छ । तर डा.आरजु देउवा जस्ता महिलाले आरक्षणको सिट ओगट्दा समाजलाई यस्तो ‘परीक्षा’ लिन झन् सजिलो भएको छ

अहिले पनि धेरै पार्टी र संस्थाको नेतृत्व पुरुषले नै गरिरहेका छन् । के उनीहरू नेतृत्वमा पुग्नुमा महिलाको कुनै योगदान छैन ? पत्रकार र लेखक संगीता खड्काको ‘युद्धका ती दिन’ पुस्तक विमोचनमा प्रचण्डले भनेका थिए, ‘रोल्पामा युद्ध शुरु गर्दा पुरुष डराएका थिए । त्यहाँका महिलाले तिमीहरू डराएर घर नआऊ, हामी युद्ध गर्छौं भनेर युद्धको शुरुआत गरेका थिए । ती महिला हुँदैनथे भने जनयुद्ध सम्भव थिएन ।’

जनयुद्धमा महिला सहभागिता ४० प्रतिशतभन्दा बढी थियो । पिठ्युँमा बच्चा र हातमा बन्दूक बोकेर महिला के आरक्षणमा लडेका थिए ? भाषणमा भनियो महिला साहसी हुन् । तर माओवादी समेत शान्ति प्रक्रियामा आएपछि उनीहरूको पार्टी र सरकारमा समेत आरक्षणमै तोकिएको ३३ प्रतिशतमा पनि महिला किन पुग्न सकेनन् ? किन राखिएन ?

स्वस्फूर्त आन्दोलनमा पुग्ने ४० प्रतिशत कहाँ हरायो ? माओवादी नेता अमृता थापाले सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा भनेकी थिइन्, ‘युद्धका बेला कति महिलाले बच्चा फालेर लागे, कतिलेे आन्दोलन कमजोर हुन्छ भनेर बच्चा पाएनन् र पाएकाले पनि पिठ्युँमा बोकेर लडे । त्यसरी लडेका कति महिला अहिले शान्ति प्रक्रियापछि सेना र राजनीतिमा छन् त ? यसको कारण किन खोजिएन ?

म हरेक क्षेत्रमा देख्छु महिला भन्नासाथ आरक्षणमा राखिदिन्छन् । कति महिलालाई लाग्छ ठीक छ यो मेरा लागि हो । जनजाति, दलित र सीमान्तकृत वर्ग सबैलाई यस्तै लाग्दो हो । म पत्रकारिता शुरु गर्दा समाचारसँगै लेख लेख्थें । एक दिन मेरो साथीले भने, ‘तिम्रो त्यो लेख त आरक्षणमा छापिएको हो है ?’ जसले आफ्नो जिल्ला छोडेर विकट जिल्लामा त्यसअघि कुनै पत्रकार टिक्न नसकेको ठाउँमा पत्रकारिता गरेर त्यस जिल्लामा पत्रकारितालाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरेकी छे, उसमा उनीहरू क्षमता, मिहिनेत नदेखेर लिङ्ग मात्रै देख्थे र उसका लेख रचनालाई आरक्षणमा स्थान पाएको सम्झन्थे ।

अहिले पनि मलाई यो सम्झँदा उनीहरूप्रति दया लाग्छ । यीमध्ये धेरै त्यस्ता छन् जसले अहिलेसम्म लेखेको एउटा लेख मैले पढ्न पाएकी छैन । उनीहरू मलाई अझै आरक्षणमै बाँचिरहेको देख्छन् । यसरी महिला उभिनासाथ ‘आरक्षण’ र पुरुष उभिनासाथ ‘सक्षम’ देख्ने मानसिकता समाजमा जहिलेसम्म रहन्छ तबसम्म महिलाले पटक-पटक क्षमताको परीक्षा दिइरहनुपर्छ । डा. आरजु राणा देउवा जस्ता महिलाले आरक्षणको सिट ताकेपछि यस्तो आक्षेप लगाउनलाई झन् सजिलो भएको छ ।

यसबाट समाजलाई लिङ्ग अनुसार सक्षम र अक्षम परिभाषित गर्न बल दिइरहेको छ । यो हटाउनु जरूरी छ । हाम्रा धेरै कुरा पुस्तान्तरण हुँदै आए । हामीले जे सुन्यौं त्यही भन्दै आयौं । आफैं समालोचना गर्ने र स्वविवेक प्रयोग गर्ने हाम्रो बानी छैन ।

यसको पहिलो शिकार राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । मदन भण्डारीको मृत्युपछि विद्या भण्डारीलाई एमालेबाट चुनाव जिताउन केशव स्थापित जस्ता नेताले रङ्ग छ्याप्ने उपाय रचे । विधवालाई विरोधीले रङ्ग छ्यापे भनियो । उनलाई श्रीमान् गुमाएकी, सेतो सारी लगाएकी विधवा र अवलाको रूपमा प्रस्तुत गरियो र चुनाव जिताइयो ।

यसले के स्थापित गर्‍यो भने उनी राष्ट्रपति पनि मदन भण्डारीको विरासतमा पाइरहेकी छिन् । मैले त मदन भण्डारीलाई देख्न पाइनँ । तर मदन भण्डारी र विद्या भण्डारी सँगै भूमिगत हुँदा पोखरामा मेरो आफन्तकोमा बसेको कथा र उनीहरूको कुरा म अझै सुन्छु ।

क्षमता सबैको फरक हुन्छ । मदन भण्डारी र विद्या भण्डारीका पनि फरक फरक क्षमता थिए होलान् । सँगै भूमिगत भएर राजनीति गरेर आएकी एक सक्षम महिलालाई श्रीमान्को नाम जोडेर अवला बनाइनु के उचित थियो ? उनको स्तर मापन जहिले मदन भण्डारीसँग गरियो र कमजोर देखाइयो । के मदन भण्डारीसँग एमालेका अरू नेतालाई कहिल्यै दाँजियो र कमजोर पार्ने कोशिश गरियो ? क्षमता र कमजोरीको प्रश्न पुरुषलाई गर्ने चलन नै छैन यहाँ ।

मदन भण्डारीसँगै राजनीति गरेर श्रीमान् बितेपछि पनि छोरीहरू एक्लै हुर्काएर राजनीतिक जीवन अगाडि बढाएकी उनले भोगेको विभेद, हिंसा, राजनीतिक उतारचढाव, आर्थिक संकट यी कुरा कहिल्यै लेखियो ? यसरी आरक्षण नचाहिने महिलालाई हामीले कमजोर रूपमा प्रस्तुत गरेका छौं भने, आरक्षण चाहिने महिला हाम्रा आँखामा परेकै छैनन् ।

डेढ दशकअघि म नेपाल पत्रकार महासंघको निर्वाचनमा तनहुँ जिल्लाको सचिव पदमा उठ्न लागेकी थिएँ । ‘अरू महिला छैनन्, कोटा खाली हुन्छ, तिमी यसैमा बस भनियो ।’ मानौं त्यो आरक्षण मेरा लागि नै बनेको हो । म त्यो कोटाभन्दा माथि उठ्नै हुँदैन । त्यसपछि सदस्यता भएको जिल्ला छोडेर पत्रकारिता गर्न थालेपछि चुनावले मेरो जीवनमा प्रवेश नै पाएन ।

पछिल्लो पटक विधान संशोधन समितिमा अरूको काम गरेको वर्ष पुगेन भनेर एउटा प्यानलमा मेरो नाम राखिदिएछन् । चुनावको दिन मात्र पुगेकी मैले यो मेरा लागि हैन भन्दै म विरुद्ध चुनाव लडाइएकी पत्रकारको नाममा भोट हालें र अरूलाई पनि उनैलाई भोट दिन भनें । हामी आरक्षण भर्ने नाममा के केसम्म गरिरहेका छौं, त्यो हामीले सोच्न आवश्यक छ ।

अझ बढी राजनीतिक पार्टीले धेरै सोच्नुपर्छ । एमालेको कुरा गरौं, जोसँग सँगै आन्दोलन गरेर आएका धेरै महिला छन् । अहिलेका धेरै नेता जो नेता बनेका छन्, उनीहरूको राजनीतिक पिल्लर सबै उनीहरूका श्रीमती हुन् । उनीहरूका कुरा सुन्नुहोस्, तपाईं राजनीतिको योगदान बुझ्नुहुन्छ । आफूले पढाएर, बच्चा पाएर, एक्लै हुर्काएर आफू गाउँ-गाउँमा राजनीति गर्दै शिक्षण पेशा अगाडि बढाएर श्रीमान्को राजनीति धानेको आरक्षण जानलाई हो ? जीवनमा यत्ति गर्न सक्ने महिलालाई राजनीतिमा आरक्षण किन चाहिन्छ ? त्यहाँ अझै पनि महिला नेतालाई समकालीन किन मानिंदैन ?

राजनीतिमा आफ्ना कुरा राख्ने धेरै महिलालाई अगाडि जान दिइएन । उनीहरूले ती महिलामा नेतृत्व र क्षमता भन्दा बढी लिङ्ग देखे । तानेर यस्ता मानिस लगियो जसलाई देखाएर महिला कमजोर छन् भन्ने स्थापित गर्न खोजियो या आरक्षणमै सीमित गरियो । पार्टीमा भाइ त के छोराहरू आएर समेत सधैं दाइ बने । अनि कुन स्वाभिमानले महिला राजनीतिमा टिकेका होलान् ?

यो बहसको पहिलो विषय हो अब आरक्षणका बारेमा बहस हुनु आवश्यक छ । यसका पूर्वशर्तहरू बनाइनुपर्छ । शुरु प्रवेशमा मात्र आरक्षण हुनुपर्छ । सकारात्मक विभेदका आधारहरू स्पष्ट हुनुपर्छ । अनुसन्धान र सूचनामा आधारित मापदण्डहरू हुनुपर्छ । यी मापदण्ड अपनाएर म वा हामी संलग्न पार्टीले आरक्षणको दुरुपयोग त गरेन भनेर विचार गर्नुपर्छ ।

सबैभन्दा हास्यास्पद कुरा विनोद चौधरी आरक्षणमा निर्वाचित भएका छन् । महिला, जनजाति, दलित र दुर्गम स्थानभित्र पनि आरक्षणको शर्त बनाएर लागू गर्नुपर्छ । काठमाडौंमा सबै पूर्वाधार पाएर हुर्किएकी महिला र विकट गाउँमा हुर्किएको पुरुषले आरक्षण पाउन परे कसले पाउने स्पष्ट हुनुपर्छ । मधेशीको कोटामा आउन के हुनुपर्छ सबैले थाहा पाउनुपर्छ ।

विनोद चौधरी आरक्षणमा जाँदा मलाई स्याङ्जाको कुरा याद आयो । भनिन्थ्यो, ‘सिरुवारीमा गुरुङ्गको हलो बाहुनले जोत्छन् ।’ उनीहरू आर्थिक, राजनीतिक र शैक्षिक रूपमा अगाडि छन् भने आरक्षण बाहुनले पाउने हो कि जनजातिले ? जनजातिले कोटा पाउनुपर्छ तर त्यो सबै रूपले सक्षमले लिने हो कि त्यहाँभित्र पनि आरक्षण पाउनुपर्ने व्यक्ति र समूह हुन्छ ? के हामीले कहिल्यै खोजी गरेका छौं ?

आरक्षण प्रमाणित गर्न जात, भूगोल र लिङ्ग मात्रै काफी छ त ? यसको गलत अभ्यासले आरक्षण पाउनेहरूको स्वाभिमान र आत्मविश्वासमा नराम्रो असर पारिरहेको छ । जसलाई चाहिएको हो उसलाई नकारात्मक असर पर्न सक्ने यस्तो आरक्षणले हामीलाई कहाँ पुर्‍याउला ? यसरी जित्नेहरूलाई लागेको छैन होला कि मैले कसैको भाग खोसिरहेछु । खान नपाएर भाग खोज्नु र पाईपाईकन अर्काको भाग खोस्नु फरक कुरा हुन् ।

हामीले आरक्षणको अभ्यासलाई व्यवहारमा बदलेनौं भने आरक्षणको विपक्षमा जनमत बलियो हुनसक्ने देखिएको छ । यसबाट सम्भ्रान्त वर्गलाई आरक्षण दिएर पटक-पटक सत्तामा बसिरहन दिने खतरा बढेको छ भने धेरैको क्षमता आरक्षणमै खुम्चिएको छ । त्यसैले आरक्षणको दुरुपयोगले क्षमता भएका र नभएका दुवैलाई हानि गरिरहेको छ । त्यसैले यसको सदुपयोगका बारेमा बहस हुनु आवश्यक छ ।  अनलाइनखबरबाट

बिहिबार, पुस १५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...