नेपाली सेनाको अगुवाईमा मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचर सहित)

तीलक वि.क.
मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा नेपाली सेनाको अगुवाईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
नेपाली सेनाको बज्रदल गणजोमसोमको पहलमा थासाङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय मुस्ताङ, स्वास्थ्य कार्यालय मुस्ताङ, जिल्ला अस्पताल मुस्ताङ, सामुदायिक आँखा केन्द्र मुस्ताङ समेतको सहभागीतामा लेते प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर सञ्चालन भएको थियो ।
हिमपात र चिसो मौसम हुने समयमा मुस्ताङका जनता आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले नेपाली सेनाले थासाङ गाउँपालिकाका बासिन्दालाइ लक्षित गरी विशेषज्ञ सहितको स्वास्थ्य टोलीले निःशुल्क उपचार शिविर सञ्चालन गरेको हो । २३ नम्बर बाहिनी जोमसोमका बाहिनीपति कृष्णराज आचार्य भन्नुहुन्छ– नेपाली सेना देशको रक्षक हो र नागरिकको सुरक्षा सेनाको दायित्व हो, त्यसैले नागरिकले राज्यबाट पाउन पर्ने आधारभूत सुविधा भित्र पर्ने स्वास्थ्य सुविधा प्राप्त गरुन भन्ने हेतुले यो शिविर सञ्चालन गरिएको हो ।
शिविरमा विशेषज्ञ डाक्टर एवम् प्राविधिक टिममा एमडिजिपि तथा बालरोग विशेषज्ञ, मेडिकल अफिसर, सिनियर अप्थाल्मिक असिष्टेन्ट, डेण्टल असिष्टेन्टलगायतका स्वास्थ्य टोली सहभागी थिए । शिविरमा निःशुल्क परीक्षणका साथै औषधि वितरण, भिडियो एक्सरे, प्रयोगशाला जाँच, महिलामा हुने पाठेघरको क्यान्सरको जाँच तथा उपचार गरिएको थियो । शिविरमा कोभिड सस्पेक्टेडको (आरडीटी)परिक्षण समेत गरिएको बज्रदल गण मुस्ताङका गणपति श्याम आत्रेय पौडेले जानकारी दिनुभयो ।
उक्त एक दिने स्वास्थ्य शिविरमा तीन सय ३८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । ३२ जनाको दाँत परीक्षण, एक सय १० जनाको आँखाको परीक्षण, ३७ जना बालबालिकाको उपचार भएको थियो । त्यस्तै उक्त शिविरबाट ८४ जनाले भिडियो एक्सरे, ३० जनाले ल्याब्रोटोरी सेवा, ३० जनाले भिआइए प्रशुति सेवा, १५ जनाको कोभिड–१९ एण्टीजेन परीक्षण गरिएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीले बताउनुभयो ।
शिविरमा परीक्षण पछि एक सय ४९ जना महिला, ६७ जना पुरुष र ३७ जना बालबालिका गरी दुई सय ५३ जनालाई निःशुल्क औषधि वितरण गरिएको जिल्ला अस्पताल जोमसोमका डाक्टर कुन्दन कर्णले जानकारी दिनुभयो ।
एक दिने स्वास्थ्य शिविरमा जिल्ला अस्पताल जोमसोमबाट प्राविधिक चिकित्सकिय सेवा, जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाबाट औषधि उपलब्द गराइएको जिल्ला अस्पताल मुस्ताङका निमित्त प्रमुख एकराज बस्नेतले जानकारी दिनुभयो । थासाङ गाउँपालिाका क्षेत्रका बासिन्दालाइ घरदैलोमै पुगेर नेपाली सेनाको अगुवाइमा स्वास्थ्य लिन पाएकोमा स्थानिय वासिन्दा सन्तुष्ट भएको थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष नरप्रसाद हिराचनले बताउनुभयो ।
स्वास्थ्य शिविरमा थासाङ गाउँपालिकाको ५ वटै वडाका टुकुचे, खन्ती, कोवाङ, नाउरीकोट, लार्जुङ, कोखेठाँटी, धम्पु, लेते, ताक्लुङ, कुञ्जो, झिप्रादेउराली, छयो, घाँसा, पैह्राथाप्लालगायत जनाताले सुविधा लिएका थिए ।

शनिबार, माघ १, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...