पूर्वमन्त्री पुनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, सिबाङको हेम माध्यमिक विद्यालयमा आवासीय रुपमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण भएको छ । गण्डकी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सभा सदस्य नरदेवी पुनले व्यक्तिगत रुपमा विद्यार्थीलाई कपडा वितरण गरेकी हुन् ।
पूर्वमन्त्री पुनले हेम माविको आधारभूत तहदेखि माविसम्म आवासीय रुपमा बसेर अध्ययन गर्दै आइरहेका २६ जना विद्यार्थीहरुलाई दुईदुई जोर मोजा, एकएक वटा टोपी र एकएक सेट न्यानो कपडा वितरण गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छन् । उनले हेम माविको आवासीय विद्यालयमा अध्ययनरत अनाथ, बाढीपहिरो विस्थापित र मर्जिङ विद्यालयका विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको बताइन् ।
यसैगरी एकजना विद्यार्थीलाई म्याग्दी सदरमुकाम बेनीस्थित ईन्द्रणीटोलमा सञ्चालित सफल फेन्सी पसलबाट झोलासहित एक सेट जाडोको न्यानो कपडा सहयोग भएको छ । उक्त आवासीय विद्यालयमा अहिले ३३ प्रतिशत अनाथ, ३३ प्रतिशत बाढीपहिरो विस्थापित परिवारका विद्यार्थी र ३३ प्रतिशत मर्ज भएका विद्यालयका विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । पूर्वमन्त्री पुनले उपलब्ध गराएको कपडाहरु गाउँपालिकाका अध्यक्ष पुनसहित विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसी लगायतले विद्यार्थीहरुलाई वितरण गरेका थिए ।
यसअघि गण्डकी प्रदेश सरकारको बहालवाला मन्त्री हुँदाखेरी प्रदेश सभा सदस्य पुनले पश्चिम म्याग्दीको हेम मावि सिबाङ र उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखको शिख माध्यमिक विद्यालयलाई नमुना आवासीय विद्यालय स्थापना गरी सञ्चालन गर्ने उद्देश्यले आवश्यक बजेट विनियोजन गरी सञ्चालन गरिएको थियो । तर अहिलेको गठबन्धनसहित कांग्रेस नेतृत्वको सरकारले बजेट काटिदिएपछि विद्यालय सञ्चालनमा समस्या भएको छ ।

बुधबार, माघ १२, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...