गाउँ सभाबाट तीन करोड बजेट विनियोजन

अमृत सुवेदी
हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले थप साढे तीन करोड बजेट पारित गर्दै निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको अन्तिम गाउँसभा सकेका छन् । शनिबार थासाङ गाउँपालिकाको केन्द्र कोबाङमा भएको नवौं गाउँ सभाले गाउँपालिकाका लागि थप तीन करोड ५५ लाख रुपैयाँ बजेट पारित गरेको हो ।
गतवर्ष असारमा सम्पन्न भएको गाउँ सभाले ३० करोड ९६ लाख ३० हजार रुपैयाँको बजेट पारित गरेकोमा सङ्घीय सरकारबाट सशर्त बजेट ४१ लाख थपिएको थियो । शनिबारको गाउँसभाले थप बजेट तीन करोड ५५ लाख ९९ हजार छ सय २६ रुपैयाँ बजेट पारित गरेको थासाङ गाउँपालिकाका लेखा अधिकृत सकुन्तला अधिकारीले जानकारी दिएकी छन् ।
पारित गरिएको उक्त बजेट गत आवको खर्च हुन बाँकी बैंक मौज्दातका साथै समपुरक कोषको एक करोड ३० लाख रुपैयाँबाट तीनवटा आयोजना र भैपरी आउने पुँजीगत शीर्षकबाट ६५ लाख ५३ हजार बजेटको अर्को तीनवटा आयोजनामा रकमान्तर गरिएको लेखा अधिकृत अधिकारीले बताइन् । रकमान्तर गरिएको शीर्षकको बजेट पर्यटन पूर्वाधार, सडक स्तरोन्नति र झोलुङ्गे पुल निर्माण लगायतको क्षेत्रमा विनियोजन गरिएको छ ।
गाउँ सभालाई सम्बोधन गर्र्दै अध्यक्ष बुद्धिप्रसाद शेरचनले कमी, कमजोरीहरु भएमा त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । अध्यक्ष शेरचनले निर्वाचनमा राजनीतिक झण्डा लिएर आएको भए पनि जितेपछि सबै जनताको नेता भएकोले सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष शेरचनले सबै वडा, टोललाई समेट्दै निष्पक्ष रुपमा अहिलेसम्म काम गरिएको र आगामी दिनमा पनि सोही अनुरुप हुने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमारी शेरचनले गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको उचित प्रचारप्रसार हुन नसकेको भन्दै त्यसलाई उचित तवरले प्रचारप्रसार गरिनुपर्ने बताइन् । उपाध्यक्ष शेरचनले अहिलेको प्रचारको युगमा पनि आफ्नो पालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न नसक्नु हाम्रो लागि मात्रै नभएर पर्यटकहरुका लागि पनि समस्या भएको बताइन् ।
गाउँ सभामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले दरबन्दी अनुसारका कार्मचारी नहुँदा काम गर्न समस्या हुने गरेको गुनासो गरेका छन् । सुवेदीले भने, ‘हिमाली जिल्ला त्यसैमा पनि असहज छ तैपनि पर्याप्त कर्मचारीहरु समेत नभएको अवस्थामा न्युन मात्रामा रहेका कर्मचारीले जनतालाई हरसम्भव बढी सेवा दिने प्रयास गरेका छौं ।’ अहिलेसम्म गाउँपालिकाका जनताहरुले पालिकाबाट प्रवाह हुने सेवा, सुविधा पाउनबाट बञ्चित हुन नपरेको उनको भनाइ छ ।
कार्यक्रममा बजेट पारित गरिनुका साथै पर्यटकीय स्थलहरुको उचित प्रचारप्रसारतर्फ पनि ध्यानकेन्द्रीत गर्नुपर्ने, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापनका लागि उचित कदम चालिनुपर्ने लगायतका विषयमा निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँसभा गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीको स्वागत र लेखा अधिकृत अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सोमवार, फाल्गुन २, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...