भान्सेकै नियन्त्रणमा छैन भान्सा

भान्साको सर्वेसर्वा बुहारी हुन्। तर, उनको इच्छाको खाना पाक्दैन। घरमूलीलाई जे मनपर्छ, त्यही पकाउनुपर्ने बाध्यता हुनु अदृश्य पितृसत्ताको प्रभाव त होइन?

औसत नेपाली महिलाको दैनिकी के हुन्छ भन्ने देखिरहेकै छौं। एउटी गृहिणी बिहान सबेरै उठेर भान्सामा पस्छिन्। चिया, खाजा तयार पार्छिन्। खाना बनाएर परिवारका सबै सदस्यलाई दिन्छिन्। छोराछोरीका लागि खाजा तयार पारेर स्कूल पठाउँछिन्। अनि बल्ल उनको खाना खाने पालो आउँछ।

यही प्रक्रिया बेलुका पनि दोहोरिन्छ। उनले खाना खाएर घरधन्दा सक्दा परिवारका अन्य सदस्यले एक निद्रा पूरा गरिसकेका हुन्छन्। दुःखद कुरा त के भने, न उनको कामको मूल्याङ्कन हुन्छ न गणना।

कामकाजी महिलाको पनि अवस्था फरक छैन। बिहान उठेर घर सफा गर्दै भान्सा छिरेर चिया, खाजा, खाना र घरै बस्नेका लागि दिउँसोको खाजा बनाएर कार्यालय जानुपर्ने अवस्था छ। फेरि कार्यालय पुग्न ढिला हुँदा हाकिमबाट खानुपर्ने खप्की बेग्लै छ।

कामैकामले थिचिएकी महिलालाई लाग्दो हो, घरका अन्य सदस्यले सघाइदिए हुन्थ्यो नि। काममा सहयोग मागे ‘कसले काम गर्नु भन्या छ र? बसीबसी खान पुग्ने सम्पत्ति हुँदाहुँदै घरै बसेर परिवार नचलाएर…’ भन्ने ओठे जवाफ आउँछ।

महिलाको कार्यबोझको प्रसङ्गमा भनाइ र गराइ फरक छ। ‘पकाइ-तुल्याइ गर्न के गाह्रो छ र!’ भनिन्छ। तर, यथार्थ भोग्नेलाई मात्र थाहा हुन्छ। सघाउने कुरा त परको भयो, भान्सा सम्हाल्ने महिलाले आफ्नो रुचिअनुसार पकाउन समेत पाउँदिनन्। पकाउने मात्रै होइन, एकल वा जागीरे महिला बाहेक घरका सबै सदस्यले खाइसकेपछि मात्रै बुहारीको खाना खाने पालो आउँछ।

कहिलेकाहीँ खाना सकिएर चिउरा, चाउचाउको भर पर्नुपर्ने अवस्था हुन्छ। कहिलेकाहीं भोकै पनि बस्नुपर्ने पनि हुन्छ। खाना फाल्नु हुन्न, बासी खानु हुन्न भन्ने मान्यताले गर्दा पनि अड्कलेर पकाउनुपर्ने बाध्यता छ। फेरि मीठो-मसिनो पाकेका वेला थपेर खाइदिनाले अन्तिममा खाने व्यक्ति भोकै बस्नुपर्छ।

बिहान उठेर घर सफा गर्दै भान्सा छिरेर चिया, खाजा, खाना र घरै बस्नेका लागि दिउँसोको खाजा बनाएर कार्यालय जानुपर्ने अवस्था छ।
यस्ता अनेकौं बाध्यताका कारण महिलामा शारीरिक कमजोरी देखा पर्छ। गर्भवती छिन् भने त गर्भको बच्चामा कुपोषण हुने खतरा हुन्छ। मैले पनि आमाले धेरै पटक भोकै बस्नुपरेको देखेकी छु।

आमा वेलावेला भन्नुहुन्थ्यो, “तेरा बुबा कतै बस्ने गरी गइदिए पनि हुन्थ्यो।” मैले आमालाई किन त्यसो भन्नुभएको भनी सोधें। उहाँले भन्नुभयो, “मलाई खान मन लागेको कुरा तेरा बालाई मन पर्दैन। त्यसैले तेरा बुबा कतै गइदिएको हुन्थ्यो भन्या नि!”

हाम्रो घरमा छोरा र छोरीमा विभेद थिएन। बुबाले छोरा र छोरीलाई फरक फरक व्यवहार गर्नुभएको पनि थाहा छैन। आमाले आफूलाई मन लागेका कुरा खाँदा बुबाले केही भन्नुहुन्नथ्यो होला। तर, आमामा किन त्यो डर? आत्मविश्वास किन धरमराएको? पितृसत्तात्मक शासनका कारण आमा डराउनुभएको त होइन? म सोचमग्न हुन्छु।

महिलाले अन्तिममा खानुपर्ने मात्रै होइन, पकाउने कुरामा पनि निर्णय गर्न नपाउने परिपाटी पितृसत्तात्मक सोचको उपज हो। भान्साको सर्वेसर्वा बुहारी हुन्। तर, उनको इच्छाको खाना पाक्दैन। घरमूलीलाई जे मन पर्छ, त्यही पकाउनुपर्ने बाध्यता हुनु अदृश्य पितृसत्ताको प्रभाव त होइन?

घरका पुरुष सदस्यलाई खाना मन नपर्दा छोडेर हिंडेको, पकाउनेले खप्की खानुपर्ने जस्ता समस्याहरू महिलाले भोग्दै आएका छन्। पुरुषको रुचि अनुसार भान्सा व्यवस्थापन गर्नुपर्ने दबाब पनि छ। जसका कारण महिलाले आफ्ना रुचि छाडेका छन्।

भान्सा सम्हालेकी महिलाले पिरो रुचाउँदिनन् भने पनि पिरो खानुपर्ने बाध्यता हुन्छ। उनलाई ट्वाक्क नुन मन पर्छ, तर घरकाले कम खान्छन् भने उनले त्यसमै बानी पार्नुपर्छ। भान्छा सम्हाल्ने छोरी-बुहारीलाई ‘तिमीलाई जे मनपर्छ त्यही पकाउ’ भनिंदैन।

यी कुराहरू सामान्य लाग्छन्। तर, यहीभित्र रहेका असामान्य आयामबारे सोचिएको छैन। केही घरमा पुरुषले घरपरिवार सम्हालेर महिलाले बाहिरी काम गर्न थालेका छन्, तर त्यो सङ्ख्या नगण्य छ।

कहिलेकाहीं खाना सकिएर चिउरा, चाउचाउको भर पर्नुपर्ने अवस्था हुन्छ। कहिलेकाहीं भोकै पनि बस्नुपर्ने पनि हुन्छ।
महिला आवश्यक पौष्टिक खानेकुराबाट वञ्चित हुनुपरेको छ। जबकि, भान्छाको कमान उनकै काँधमा छ। कमाउने मान्छे पुरुष हुने र महिला घरमा बस्ने हुँदा यस्तो भएको कतिपयको जिकिर छ। ‘पुरुषले बलको काम गर्नुपर्ने भएकाले पौष्टिक र मिठो मसिनो चाहिन्छ’ भन्ने पनि छन्। त्यसो हो भने महिलाको काम चाहिं ‘बत्ती कात्ने’ जस्तै बसीबसी गर्ने मात्र छ?

भाँडा माझ्दा, लुगा धुँदा, भुइँ पुछ्दा, तरकारी केलाउँदा, चामल केलाउँदा, आगोमा बसेर खाना पकाउँदाको श्रमको गणना खोइ? झिसमिसेमा उठेदेखि राति नसुतुन्जेल कति घण्टा खट्छिन्? त्यसको लेखाजोखा खोइ?

व्यवहार टार्नुपर्ने बाध्यतामा पोषिलो खानाको अभावमा महिलाहरू शारीरिक र मानसिक दबाबमा परेका हुन्छन् भन्ने हामीले सोचेकै छैनौं। किनभने, उनको आवाज परिवारको प्रेम, परिवारको खुशीमा दबिएको छ। दबिएको स्वर सुनियोस् कसरी!

यस विषयमा मैले केही महिलासँग छलफल गरें। एक जना पत्रकार महिला मित्रले भनिन्, “म बिहे भएर आउँदा ससुराबालाई दूध चिया बनाउनुपर्थ्यो। मैले कहिल्यै उहाँको स्वाद अनुसारको चिया बनाउन जानिनँ। उहाँले दूध चिया छाड्नुभयो, घरमा दूध चिया पाक्न छाड्यो। अनि लेमन टी शुरू भयो, सबैले लेमन टी खान थाले। केही समयपछि उहाँलाई ग्रीन टी चाहियो, सबै जनाले ग्रीन टी शुरू गरे। पछि त उहाँले चिया नै छाड्नुभयो। अनि त घरमा चिया पाक्नै छाड्यो।”

अहिले पनि हामी पुरुषकै रुचि अनुसार खाना बनाउँछौं। हाम्रा हजुरआमा, आमाहरूले आफ्नो रुचिका खाना जीवनभरमा कति पटक खाए होलान्!

महिला र पुरुषबीच जैविक भिन्नता मात्र हो। भिन्नता हुनु भनेको असमान हुनु होइन। महिला र पुरुषलाई एकै रथका दुई पाङ्ग्रा त्यतिकै भनिएको होइन होला।

बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...