म्याग्दीको मंगलामा एमालेका उम्मेदवार विजयी

म्याग्दी, जेठ २ गते । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सोमबार बिहान सम्पन्न मतगणनाको घोषित अन्तिम मत परिणामअनुसार पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । यसअघि आइतबार घोषणा भएको परिणामअनुसार मालिका गाउँपालिकामा पनि एमालेले अध्यक्ष उपाध्यक्ष जितेको थियो ।

मंगला गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार सतप्रसाद रोकाले ३ हजार ९ सय ६८ मत ल्याएर बिजयी हुँदै गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ मत पाउनुभएको छ । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टेकबहादुर विकले १ हजार ५ सय २१ मत पाउनुभयो । अध्यक्षमा निर्वाचित एमाले उम्मेदवार रोका मंगला गाउँपालिकाको दोस्रो कार्यकालका लागि बिजयी हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै उम्मेदवार प्रेमकुमारी क्षत्रीले ४ हजार २ सय ६१ मतसहित विजयी हुनुभएको मंगला गाउँपालिका निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । उपाध्यक्षमा विजयी क्षत्रीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मिला थापाले २ हजार ५ सय ९५ र माओवादी केन्द्रकी सुकमाया रोकाले १ हजार ३ सय ७३ मत पाएको सहायक निर्वाचन अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

कुल १३ हजार ४ सय १६ मतदाता रहेको मंगलामा ८ हजार ८ सय १७ अर्थात् ६५ दशमलव ७२ प्रतिशत मत खसेको थियो । ५ वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

मंगला गाउँपालिकाको पाँचवटा वडामध्ये तीनवटा वडामा एमाले र एक एक वडामा माओवादी र कांग्रेसको प्यानलसहित विजयी भएका छन् । मंगला १ कुहुँमा एमाले, २ बाबियाचौरमा एमाले, ३ बराङ्जामा माओवादी, ४ बराङ्जामा कांग्रेस र ५ अर्मनमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सोमबार बिहानै प्रकाशित निर्वाचनको अन्तिम मत परिणामअनुसार रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र प्रेमकुमारी पुन विजयी हुनुभएको छ । आइतबार प्रकाशित मतपरिणाम अनुसार पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा भने एमालेका वेगप्रसाद गर्बुजा र लक्ष्मीदेवी घर्तीमगर पुन विजयी बन्नुभएको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिकासहित कुल ४५ वटा वडा रहेको म्याग्दीमा हालसम्म ३३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार एमाले १६ वडा, कांग्रेस १२ र माओवादी ५ वटा वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

म्याग्दीमा अब १२ वटा वडा एवम् धौलागिरी गाउँपालिका, अन्नपुर्ण गाउँपालिका र बेनी नगरपालिकाको प्रमुख उपप्रमुखको मतपरिणाम आउन बाँकी छ ।

सोमवार, जेष्ठ २, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...