समस्याको चक्रब्युहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट

निर्माण व्यवसायीको लापरबाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ।

नेपाल विद्युत प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना भने अनेक आरोह–अवरोह पार गर्दै बल्ल गति लिने अवस्थामा पुगेको हो।

कूल ४० मेगावाट क्षमताको सो आयोजना निर्माणले गति लिएको जनाइएको छ।

लगानी बोर्डको सोमबार बसेको बैठकले सो आयोजनाको लगानीसमेत स्वीकृत गरेको छ।

बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार राहुघाट जलविद्युत आयोजनाका लागि नौ अर्ब ४७ करोड ३० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको हो।

पाँच अर्ब रुपैयाँ माथिको लगानी बोर्डले स्वीकृत गर्नुपर्ने बन्दोबस्तीअनुसार राहुघाटको हकमा पनि निर्णय भएको हो।

सुरूमा प्राधिकरण आफैंले निर्माण गरेको सो आयोजना पछिल्लो पटक भने कम्पनी मोडलमा अगाडि बढाइएको छ।

आयोजनाको क्षमतासमेत बढाएर ४० मेगावाट पुर्‍याइएको हो।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यो आयोजना म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा बाँध, सुरूङ र विद्युत गृह लगायतका संरचना धमाधम निर्माण भइरहेका छन्।

रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा पछिल्लो पटक बाँध निर्माण सुरू गरिएको छ।

आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार ‘राइट ब्याङ्क एक्साभेसन’ निर्माण भएको, ‘लेफ्ट ब्याङ्क एक्साभेसन’सँगै बाँधको निर्माण थालिएको छ।

‘बाँधको फाउण्डेसन बनाएर पिसिसी ढलान थालिएको छ’, उनले भने, ‘अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माण गर्न लागिएको हो।’

त्यसबाट बढी बिजुली आवश्यक पर्ने साँझ बिहानको समयमा पूर्ण क्षमतामा नै आयोजना चलाउन सकिन्छ।

बाँधको बायाँतर्फ एक्साभेसन बनाएर दायाँतर्फ एक्साभेसन गर्न थालिएको आयोजना प्रमुख विष्टले बताए।

उनका अनुसार हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ।

कूल छ किलोमिटर २७० मिटरमध्ये तीन किलोमिटर सुरूङ निर्माण सकिएको छ।

बाँध निर्माण स्थलमा अडिट १, अधेरीखोलामा अडिट २, पिप्लेमा अडिट ३ र तिल्केनी चौरमा अडिट नं ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटबाट सुरूङ खन्ने कार्य अगाडि बढेको छ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ। कूल एक हजार ५० मिटर मध्य ६४० मिटर पेनस्टक निर्माण सम्पन्न भएको छ।

सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले बाँध, सुरूङ र विद्युत गृह निर्माण कार्यलाई एकैसाथ तीव्रता दिएको छ।

प्राधिकरणको शत प्रतिशत सेयर लगानीमा वि.सं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेर राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा  प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो।

कूल ४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि हालै साढे दुई वर्ष म्याद थप भएको आयोजना प्रमुख विष्टले जानकारी दिए।

इलेक्ट्रोमेकानिकलतर्फ २०७६ कात्तिकमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग ठेक्का सम्झौता भएको थियो।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदारसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत आयोजना निर्माण अघि बढाइएको थियो।

सिभिल ठेकेदारले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगङ्गा गाउँपालिका–३ को तिल्केनीचौरमा फाउण्डेसन खनेर विद्युत गृहको टर्वाइन रहने तहसम्म ढलान गरेको छ।

पावर हाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको छ।

स्थानीय बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण सम्पन्न भई विद्युत गृह र बाँधलाई सिधा सडक मार्गले जोडेको छ।

यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ।

सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँच मार्ग र २०७६ असारमा सुरूङ खन्न सुरू गरेको थियो।

कूल एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि गत पुस महिनादेखि काम सुरू गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

राहुघाटबाट उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा जोडिने छ। त्यसका लागि चार वटा टावर र प्रसारण लाइन निर्माण सम्पन्न भइसकेका छन्।

राहुघाट जलविद्युत आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुविधा पुगेको छ।

म्याग्दीमा अन्य एक दर्जन जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । त्यसले त्यहाँको ग्रामीण जनजीवनमा सुधारका अलावा स्थानीयस्तरमै रोजगारीसमेत प्रदान गरेको छ। सेतोपाटीबाट

बिहिबार, जेष्ठ २६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...