दन्त सडन: बेवास्ताले जोखिम

कमला गुरुङ
वीर अस्पतालको डेन्टल विभागमा पालो पर्खिरहेकी थिइन्, मनमैजुकी २० वर्षीया एक युवती। गिजा र गाला सुन्निएकोले उनी बोल्दा पनि गालामा हात राखेर बोलिरहेकी थिइन्। उनको समस्या थियो– दन्त सडन अर्थात् दाँतमा किरा लाग्ने। दाँत पहिले नै कुहिसकेको थियो। तर दुखाइ नहुँदासम्म उनले वास्ता गरिनन्।
‘दाँतमा किरा पहिले नै लागेको थियो, तर म अस्पताल गइनँ। अहिले २÷३ हप्ता भयो, असाध्यै दुख्न थालेको छ,’ उनले भनिन्। अहिले उनको दाँतमा फिलिङ अर्थात् सिमेन्ट भर्नुपर्ने भएको छ।
धादिङकी एक महिलाको अवस्था पनि यस्तै छ। उनको त डेढ वर्षअघि नै किराले खाएर दाँत झरिसकेको थियो। तर दुखाइ भने हुन्थेन। त्यसैले उनी अस्पताल गइनन्। तर अहिले श्रीमान्लाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले मात्र दाँतको परीक्षण गर्न उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगिन्। उनले भनिन्, ‘दाँतमा किरा लागेर झरेको त डेढ वर्षअघि नै हो। तर अहिले श्रीमान्लाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले मात्र परीक्षण गर्न आएकी हुँ।’ किराले खाएर दाँत झरेको ठाउँमा खानेकुरा अड्किने, चिसो या तातो खाँदा झन्झनाहट हुने भए पनि उनले खासै ध्यान भने नदिएको बताइन्।
उनीहरु उदाहरण मात्र हुन्। दाँत कुहिएर जटिल नहुन्जेलसम्म अधिकांशले समस्यालाई यसरी नै नजरअन्दाज गर्छन्। दाँतमा किरा लाग्ने समस्या नेपालमा बढ्दो छ। वीर, त्रिवि शिक्षण जस्ता अस्पताल अनि निजी क्लिनिकमा दैनिकजसो पुग्ने बिरामीमध्ये अधिकांशमा दाँतमा किरा लाग्ने समस्या पाइएको छ। वीर अस्पतालको दन्त विभागमा दैनिक करिब एक सय जना बिरामी पुग्छन्। जसमध्ये ७० प्रतिशत बढी बिरामी दाँत किराले खाने समस्याबाट ग्रसित छन्।
त्रिवि शिक्षण अस्पतालमा पनि अवस्था उस्तै छ। दन्त विभागको तथ्यांकअनुसार दैनिक डेढ सयको हाराहारीमा बिरामी पुग्छन्। त्यहाँ पनि अधिकांशलाई दाँतमा किरा लाग्ने समस्या देखिएको विभागले जनाएको छ। पुतलीसडकमा रहेको द अर्थोडेन्टिक सेन्टर क्लिनिकमा पुग्ने अधिकांशमा दाँतमा किरा लाग्ने समस्या पाइएको छ।
के हो दन्त सडन ?
दाँत सफा नगर्ने सायदै होलान्। तर अधिकांश मानिस दाँत सफा गर्ने सही तरिकाबारे जानकार छैनन्। सही तरिकाले दाँत सफा गर्न नजान्दा ८० प्रतिशत नेपालीलाई दाँतमा किरा लाग्ने समस्याले सताउने गरेको चिकित्सक बताउँछन्। दाँतमा किरा लाग्ने समस्या, जसलाई चिकित्सकीय भाषामा दन्त सडन वा दाँत कुहिने समस्या भनिन्छ। घरमै बनाएको भन्दा बाहिर उपलब्ध तयारी खानाप्रति हामी बढी आकर्षित हुन्छौं। बदलिँदो खानपानले दन्त सडनको समस्यालाई बढाएको वीर अस्पतालका सिनियर कन्सल्टेन्ट डेन्टल सर्जन डा प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार खानेकुरा दाँतमा सजिलै टाँसिन्छन् वा अड्किन्छन्। दाँतमा अड्किएका ती खानेकुरा सफा गरिएन भने केही घन्टापछि अम्लीय पदार्थ निस्कन्छ। यसले दाँतको बाहिरी सतह अर्थात् इनामेललाई खियाउँछ र खाल्डो पार्न थाल्छ, जसलाई दाँतमा किरा लाग्ने भनिन्छ।
‘मुख शरीरको प्रवेशद्वार हो। प्रवेशद्वार नै फोहोर र रोगी छ भने खाएको खानेकुराले पनि शरीरलाई फाइदा गर्दैन,’ डा बुढाथोकीले भने, ‘हाम्रो मुखमा ३ सय ६५ बढी सूक्ष्म जीव हुन्छन्। जसले शरीरलाई फाइदा गर्छ तर हामीले सही तरिकाले दाँतको सफाइ गरेनौं भने बेफाइदा गर्न थाल्छ।’ उनका अनुसार मुख स्वास्थ्यमा देखिने समस्यामध्ये दाँतमा किरा लाग्ने र गिजा सुन्निने समस्या सबैभन्दा धेरै छ।
दिनमा कति पटक ब्रस गर्छौं, कुन समयमा र कसरी गर्छौं, कुन ब्रस र मन्जन प्रयोग गर्छौं ? यी कुराले पनि दाँतमा किरा लाग्ने समस्या बढ्नेमा भरपर्छ। राति सुत्नुभन्दा अघि दाँत माझ्नै पर्नेमा त्रिवि शिक्षण अस्पतालको दन्त विभागका चिकित्सक डा मन्जीव गुरागाईं जोड दिन्छन्। उनका अनुसार कम्तीमा ३ देखि ५ मिनेटसम्म ब्रस गर्नुपर्छ। तलमाथि, दाँयाबाँया गरेर दाँत माझ्नुपर्छ। कडा ब्रसको साटो नरम ब्रस अनि फ्लोराइड युक्त मन्जन मात्र प्रयोग गर्नुपर्ने उनले बताए। खानेकुरा खाएपछि कुल्ला गर्ने बानी बसाल्न उनको सुझाव छ। उनले भने, ‘रेसादार खानेकुरा, दूधजन्य पदार्थ, हरिया सागसब्जी तथा फलफूलको बढी सेवन गर्नुपर्छ तर सूर्तिजन्य पदार्थको प्रयोग गर्नुहुँदैन’। साथै ६/६ महिनामा दाँतको परीक्षण गराउन आवश्यक छ।’
दन्त सडनले निम्त्याउने जटिलता
सुरुमै सावधानी अपनाउने हो भने दन्त सडनले निम्त्याउने जटिलताबाट बच्न सकिन्छ। समयमै उपचार नहुँदा यसले पीडा त दिन्छ नै सुन्दरतामा पनि कमी ल्याउँछ। चिकित्सकीय भाषा सापटी लिएर भन्ने हो भने यसले थोते अर्थात् दन्त अपांगता हुनुपर्ने समस्या आउँछ। दाँत नहुँदा मुख खोल्न र बन्द गर्ने जोर्नीमा असर पर्ने र टाउको दुख्छ। यति मात्र नभई गिजा सुन्निएर पिप जम्ने, जमेको पिपले श्वासनली थुन्निने, संक्रमण भए त्यसले रक्तनलीमार्फत विशेषगरी मुटु, मिर्गौलामा समस्या सिर्जना गर्ने डा बुढाथोकीले जानकारी दिए।
डा गुरागाईका अनुसार संक्रमण शरीरको अन्य भागमा फैलिने सम्भावना धेरै हुन्छ। रगतबाट पनि संक्रमण फैलिन सक्छ। उनले भने, ‘घाँटी र हड्डीमा अनि पाचन प्रणालीमा समेत असर गर्न सक्छ।’
दन्त सडनको समस्याले बालबालिकालाई बढी दुःख दिन्छ। बालबालिकाको इनामेल वयस्क व्यक्तिको भन्दा नरम हुन्छ। बालबालिकाले बढी गुलिया खानेकुरा खाने अनि राम्रोसंग दाँत सफा नगर्ने भएकाले समस्या बढी देखिने डा गुरागार्इंले बताए।
अन्तिम अवस्थामा मात्र अस्पताल
नेपालीहरु मुख स्वास्थ्यबारे खासै सचेत नभएको चिकित्सक बताउँछन्। सहरी क्षेत्रका केही मानिस सचेत भए पनि ग्रामीण तथा दुर्गम जिल्लाका मानिस समस्या जटिल भएपछि मात्र अस्पताल पुग्छन्। डा बुढाथोकीले भने, ‘गिजा र गाला सुन्निएर, जरामा पिप जमेर दुख्न थालेपछि मात्र बिरामीहरु अस्पताल आउँछन्। कोही त दाँत पूरै ठुटो भएर आउने पनि हुन्छन्।’
लक्षणहरु
दाँतको विशेषगरी तीन तह हुन्छ– बाहिरी, मध्य र भित्रि भाग। बाहिरी तहमा किरा लाग्दा खैरो वा कालो मात्र देखिन्छ। यो समस्या भित्री भागमा पुगेपछि ब्रस गर्दा, चिसो खाँदा सिरिङ्ग हुने र खानेकुरा अड्किन्छ। तर भित्री तहमा किरा लाग्दा बिरामीले दुखाइ महसुस गर्न थाल्छ। यति हुँदा पनि हेलचेक्र्यार्इं गरे गिजा सुन्निने, दाँत हल्लिने जस्ता समस्या निम्तिन्छ।
उपचार
दन्त सडनको उपचार विभिन्न चरणमा हुने गर्छ। दाँतको इनामेल अर्थात् बाहिरी सतहमा मात्र किराले खाएको हो भने फ्लोराइडयुक्त मन्जन अथवा माउथ वासको प्रयोग गरेर रोक्न सकिन्छ। दाँतमा खाल्डो परेको छ भने सिमेन्ट भर्ने वा फिलिङ गरिन्छ। भित्री भागको जरासम्म पुगेको अवस्थामा आरसिटी अर्थात् रुट क्यानल ट्रिटमेन्ट गर्न सकिन्छ। जसमा नक्कली जरा भरिन्छ।
अर्को उपचार पद्धति भनेको दाँत किराले खाएर जरा मात्र बाँकी छ भने आरसिटी गरी त्यसमा पिन हालेर दाँत हाल्ने पनि गरिन्छ। तर दाँत निकालेर फाल्ने सुझाव भने दिने नगरेको चिकित्सकहरुले बताएका छन्। चिकित्सकका अनुसार बिहान बेलुकी राम्रोसँग दाँत सफा गर्ने बानी बसाल्न सके दाँतमा किरा लाग्ने समस्या ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिन्छ। स्वास्थ्यखबरबाट

शनिबार, असार ४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...