पर्यटकको चाप बढेपछि कुश्माका होटल व्यवसायी उत्साहित

केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । केही वर्ष यता बनेका अग्ला र लामा पुलका कारण केही आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको होटल व्यवसायीको भनाइ छ । पछिल्लो समय साहसिक पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेको हो ।

पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घ संस्थाबाट अवलोकन भ्रमणका लागि गन्तव्यस्थल बन्दैगएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, जिपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ भित्रिने गरेका छन् ।

पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन् । होटल सञ्चालकका अनुसार एक साता अघिदेखि नै होटल बुकिङ हुने गरेका छन् । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधा सम्पन्न होटल पनि थपिन थालेका छन् ।

एक दुईवटा मात्रै सुबिधा सम्पन्न होटल रहेको कुश्मामा अहिले करिब दर्जन बढी स्तरीय होटलहरु बनेका छन् । त्यस्तै, बन्जी वरपर दर्जनौं सङ्ख्यामा होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आएका छन् । यसले गर्दा सयौंलाई रोजगारी तथा व्यवसाय गर्ने अवसर मिलेको छ ।

सडक सञ्जाल बिस्तार भएसँगै हिमालपारिको जिल्ला मुस्ताङ पुगेर फर्किनेहरु समेत बास बस्न र घुम्नका लागि कुश्माका कारण होटलमा समेत व्यापार व्यावसाय बढेकोे होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँकाअनुसार चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तु लगायत क्षेत्रबाट शैक्षिक संघ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घ संस्थाबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउनेक्रम बढेको छ ।

पहिल्ला केही महिना यता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेन्डली, ओरियन्ट लगायत होटलहरु भरिभराउ रहनेगरेको सञ्चालकहरूको भनाइ छ । बञ्जीजम्प र जिपलाइनमा समेत एक हप्ता अघिदेखि नै टिकट बुक हुनेगरेको छ ।

आइतवार, असार ५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...