अवैध रकमको चलखेल : हुन्डीसम्बन्धी कानुन नै छैन

दिपा चौधरी

नेपाली वा विदेशी नागरिकले विदेशी मुद्रा वा अमेरिकी डलर पाँच हजारभन्दा बढी आफ्नो साथमा बोकेर ल्याउँदा भन्सारमा प्रमाणित गर्नुपर्ने ऐनमा व्यवस्था छ ।

प्रहरीले बरामद गरेको नेपाली रुपियाँको धेरै मात्रा छ भने सम्पत्ति शुद्धिकरण विभाग र थोरै मात्राको राजस्व अनुसन्धान विभागमा आउने गरेको विभागका उपन्यायाधीश अर्जुन कोइरालाले बताउनुभयो । उहाँकाअनुसार हुण्डीसम्बन्धी कुनै कानूनी व्यवस्था छैन ।

राजश्व अनुसन्धानले राजस्व चुहावट हेर्ने भएकाले राजश्व चुहावटको पैसा हो कि भनेर अनुसन्धान गर्ने काम हुन्छ । यदि अनुसन्धानमा राजश्व चुहावट देखियो भने त्यहीअनुसार कारबाही हुन्छ । यस्तै, विदेशी मुद्रामा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रकम बरामद भएमा वा राष्ट्र बैंकले निषेध गरेको विदेशी मुद्रा बोकेर हिँड्नेलाई अनुसन्धान गरी सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने काम हुने कोइरालाको भनाइ छ ।

“राजश्व अनुसन्धान विभागको विदेशी मुद्रा हेर्ने शाखामा यो आर्थिक वर्षमा जम्मा १६ वटा मुद्दा विदेशी विनिमय ऐन अन्तर्गत दर्ता छ,” कोइरालाले भन्नुभयो, “विदेश जाँदा कति रकम लैजान पाउने र विदेशबाट नेपाल फर्किँदा कति रकम ल्याउन पाउने भन्ने अज्ञानताका कारण मानिसहरु फस्ने गरेका छन् ।”

नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य विदेशी मुद्राभन्दा बढी साथमा ल्याएको बखत भन्सार घोषणा गरी प्रमाणित गर्नुपर्ने कोइरालाको भनाइ छ ।

नेपाली नागरिकले विदेश जाँदा पासपोर्ट सटही सुविधासहित अमेरिकी डलर पाँच हजारसम्मको नगद विदेशी मुद्रा लिएर जानु पर्दा सो विदेशी मुद्रा राहदानीमा दरपिठ गरेको हुनुपर्छ, कोइरालाले थप्नुभयो, “सीमासम्म नगद विदेशी मुद्रा लैजाँदा नियमानुसार अघिल्लो पटक सटही गरी बचेको रकम लैजान पाउने सीमा समेतलाई गणना गर्दा अमेरिकी डलर पाँच हजार वा सो बराबरको विदेशी मुद्रा नाघ्नु हुँदैन ।”

औषधि उपचार वा अन्य विशेष प्रयोजनका लागि विदेशी मुद्रा सटही प्राप्त गरेको प्रमाण पेश गरेमा भने त्यस्तो रकमसमेत लैजान बाधा नपर्ने कानूनी व्यवस्था छ । विदेशी नागरिकले नेपालबाट अन्य मुलुकमा जाँदा प्रतिव्यक्ति अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य विदेशी मुद्राभन्दा बढी नगदै साथमा लैजान भने नियमअनुसार पाउँदैनन् ।

“भित्रको रकम स्वघोषणा गरी लैजान बाधा पर्ने छैन, सो व्यवस्था कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा सम्बन्धित पक्षले नेपाल राष्ट्र बैंकमा जानकारी दिई त्यस्तो बाधा अड्चन फुकाउन सकिनेछ,” कोइरालाले भन्नुभयो ।

विदेशी विनिमय व्यवस्थापन विभागको परिपत्र २०७४ अनुसार भारत सरकार तथा भारतीय रिजर्व बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका पाँच सय र एक हजार दरका नोटहरु हटाएकाे छ । त्यस्ता नोटको कारोबार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका नयाँ भारतीय रुपियाँ दुई सय, पाँच सय र दुई हजार दरका नोट साथमा राख्न, ओसार–पसार गर्न र कारोबार गर्न पाइँदैन ।

भारतीय रुपियाँ १०० र सो भन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटही गर्न सकिने व्यवस्था छ । यसका लागि नेपाली नागरिकले भारतीय रुपियाँ भारत बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन नपाइने नियम छ ।

नेपालमा गैरकानूनी तरिकाले विदेशी मुद्रा भित्र्याउने थाइल्याण्डका एक महिलासहित भारत, अमेरिका, बेलायतलगायत देशका नागरिकको १६ वटा मुद्दा हाल राजस्व अनुसन्धान विभागमा छ । सो अनुसन्धानमा मुद्दा दर्ता भएपछि मुद्दा लागेको व्यक्ति दोषी ठहर भएमा रकम जफत हुन्छ । जफत भएको रकम नेपाल सरकारको राजस्व खातामा जान्छ भने मुद्दा लागेको व्यक्ति निर्दोष ठहर भएमा रकम फिर्ता पाउने कानुनी व्यवस्था रहेको कोइरालाले बताउनुभयो ।

अवैध रकमको अनुसन्धान विदेशी विनिमय अनुसन्धानको मुद्दा राजस्व अनुसन्धान विभागले हेर्नेगरेको विभागका सूचना अधिकारी दीपेश लेखकले बताउनुभयो । उहाँकाअनुसार उपन्यायाधिवक्ताको नेतृत्वमा मुद्दा तथा अनुसन्धान समिति छ । विभागका महानिर्देशकको नेतृत्वमा समग्र अध्ययन गर्ने अनुसन्धान समिति छ । यसले अनुसन्धान गरेर सरकारी वकिलको रायसहित सम्बन्धित जिल्ला अदालतमा मुद्दा अभियोजन गर्ने काम गर्छ ।

गत जेठ २४ गते मङ्गलबारका दिन नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको तीन करोड ८९ लाख १३ हजार नगदसहित पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले अनुसन्धान गरिरहेको बताएको छ । विभागका सूचना अधिकारी ऋषीराम पोखरेलका अनुसार उहाँहरु अवैध रकमसहित नागढुङ्गाबाट पक्राउ पर्नुभएको थियो ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फूलबहादुर गुरुङसहित चार जना चिनियाँ नागरिक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सम्पत्ति कुन स्रोतबाट आएको हो भन्ने विषयले महत्व राख्छ । “जस्तो विदेशी मुद्रासम्बन्धी अपचलन रहेको छ भने राजस्व अनुसन्धान विभागले हेर्छ, यदि स्थानीय मुद्रा हो भने सम्पत्ति शुद्धीकरण विभागले हेर्छ,” पोखरेलले भन्नुभयो, “त्यस्तो मुद्दामा अनुसन्धानका लागि म्याद लिएर सबै प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।”

अनुसन्धानमा कुन अपराध गरेको हो, सम्बन्धित निकायमा पठाउनुपर्ने हुन्छ । पोखरेलका अनुसार कसैले ठगी गरेर आएको छ भने त्यसका लागि फेरि प्रहरीलाई नै अनुसन्धानका लागि पठाउने गरिन्छ । सम्पत्ति मुद्दामा भने सम्पत्ति शुद्धिकरण विभागले नै अनुसन्धान गरी कारबाही गर्छ । रकम सम्बन्धित निकायलाई बुझाउँदै प्रहरीले पक्राउ गरेको स्रोत नखुलेको रकम सम्बन्धित निकायमा बुझाउने गरेको छ ।

पक्राउ गरेको सबै चिजवस्तुमा प्रहरीलाई अनुसन्धान गर्ने अधिकार नरहेकाले सम्बन्धित निकायमा बुझाउने गरेको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार यस्तो घटना दैनिक हुन्छ । प्रहरीले एक न एक ठाउँमा दैनिक रुपमा यस्तो घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको छ ।

प्रहरीले यस्ता घटनामा संलग्नलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने गरेको छ । सम्बन्धित निकायले अनुसन्धानको क्रममा प्रहरीको आवश्यकता परेमा सघाउने र अनुसन्धान गर्न सहज वातावरण मिलाई दिने काम गर्दै आएको प्रवक्ता मैनालीले बताउनुभयो । गोरखापत्र अनलाइनबाट साभार

मङ्लबार, असार १४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...