हाम्रो धर्म र संस्कृतिको मूल आधार प्रकृति हो । प्रकृति र मानिस बीचको अन्तर्क्रिया नै मूलतः संस्कृतिको आधार हो । तर, यसको रूपान्तरण र विकास भने मानवीय क्रियाकलापबाट नै हुने गर्दछ । हाम्रा धर्म, संस्कृति, पर्व, उत्सव आदि सबै परम्पराबाट चलिआएको छ । त्यसैले यसलाई सनातन धर्म, सनातन संस्कृति भनिन्छ ।

संस्कृति निर्धारणको अर्को महत्त्वपूर्ण पक्ष प्रकृतिको अर्को विशाल क्षेत्र खगोलको अध्ययन गर्ने शास्त्र ज्योतिष हो । ज्योतिषले पृथ्वीको गति, सूर्यादि नक्षत्रहरूको अवस्थितिका आधारमा दिनमानको गणना गर्दछ । यद्यपि, ज्योतिष विशुद्ध ग्रह गणनाको विषय हो, तथापि यो पूर्वीय षट्दर्शनमध्येको एउटा दर्शन भएको हुनाले यसलाई हिन्दु शास्त्रका रूपमा पनि बुझ्ने गरेको पाइन्छ । ज्योतिष शास्त्रमा समयको विभाजन ठुलोबाट अति सूक्ष्मसम्म गरिएको पाइन्छ । वर्ष, ऋतु, महिना, पक्ष, सप्ताह, दिन, घडी, पला आदि त प्रायः सबैले सुने—जानेकै विषय हो । यहाँ समयको ठुलो विभाजन मन्वन्तर, कल्प र युगमा समेत गरिएको हुन्छ ।

शस्त्रानुसार ब्रह्माको एक वर्षलाई कल्प मानिन्छ । कल्पको ३० खण्ड हुन्छ । अहिलेको कल्पलाई श्वेत वाराह कल्प भनिएको छ । एक कल्पमा चौध मन्वन्तर हुन्छ । मन्वन्तर भनेको एउटा मनुको कार्यकाल हो । मनु १४ वटा हुने बताइएको छ । युग सत्य, त्रेता, द्वापर र कलि गरी चार वटा हुन्छ । हरेक युगमा भगवान् विष्णुको अवतार फेरिन्छ भन्ने मान्यता पुराणहरूमा पढ्न पाइन्छ । यस मान्यता अनुसार सत्ययुगमा मत्स्य, कूर्म, वराह, नृसिंह, वामन अवतार भएको थियो । यी अवतारहरूको अन्तर्वस्तु विज्ञानसम्मत र मननीय छ ।

यस सनातन संस्कृतिमा हरेक स्थान, दिन, तिथि, बार, पक्ष आदिलाई शुभ नै मानिन्छ । त्यसैले ती दिन, स्थान र समयमा गरिने कृत्यका सङ्कल्पहरूमा ‘शुभ स्थाने, शुभ दिवसे, शुभ वासरे, शुभ पुण्य तिथि’ आदि भन्ने गरिन्छ । यो मान्यताको विषय हो । मान्यताका आधार र तर्क नै हुँदैनन् भन्ने त नहोला, तर मान्यता तर्कगम्य मात्र नहुन सक्दछ, बोधगम्य मात्र पनि हुन सक्दछ । जस्तै, माया—प्रेम, सद्भाव होस् वा भोक—त्यसको स्वरूप वा आयतन, मात्रा देखाउन सकिँदैन । यस्ता अन्य विषय पनि हुन्छन् । त्यसमध्ये अध्यात्म पनि देखाउन नमिल्ने सत्य हो ।

अहिले केही मानिसहरूमा धर्म, अध्यात्म, संस्कृतिबारेको बुझाइ अवैज्ञानिक छ । अवैज्ञानिक दृष्टिकोणकै कारण धर्म, अध्यात्म र संस्कृतिलाई सोझै अन्धविश्वास भन्ने गरेको पाइन्छ, तर धर्म, अध्यात्म र संस्कृति भनेको कुनै अन्धविश्वास होइन । यो शोषण र विभेदका स्रोत वा माध्यम पनि होइन । मानिस प्रकृतिले बनाएको  हो । धर्म र संस्कृति मानिसले र उसको समाजले बनाएको हो । आम रूपमा प्रकृतिले बनाएको फेर्न मिल्दैन, तर मानिसले बनाएको फेर्न हुन्छ, मिल्छ र त्यस्तो हुँदै आएको छ । धर्म बहुआयामिक विषय हो । धर्ममा जीवनदर्शन छ । धर्मको सम्बन्ध कर्तव्य, निष्ठा, विश्वास, दैनिकीसँग छ । संस्कृति निरन्तर व्यवहार (संस्कार)को स्वीकृत परिणति हो । यी दुवै पुराना र त्याज्य हुँदैनन् । यिनको सार त निरन्तर प्रयोग, प्रयोजन र परिमार्जनमा हुन्छ । तर, नवीनता बोकिहिँड्ने भए पनि धर्म र संस्कृतिका आधार या स्रोत भने पुराना छन् । जम्मा जम्मीमा भन्नुपर्दा जस्तो दृष्टि, त्यस्तो सृष्टि भने जस्तो हो । जानेर, बुझेर गरे धर्म विज्ञान हुन्छ भने नजानी, नबुझी गरे त्यो अन्धविश्वास हुन्छ । त्यसैले कुन कुरा अन्धविश्वास हो, कुन कुरा विज्ञान हो भन्ने प्रश्न गर्नुअघि त्यसको यथार्थबारे थाहा पाउनुपर्ने हुन्छ । कुनै पनि कुरा नयाँ हुँदैमा वैज्ञानिक र पुरानो हुँदैमा अवैज्ञानिक वा अन्धविश्वास हुन सक्दैन ।

गहिरिएर, ध्यान दिएर हेर्ने—बुझ्ने हो भने हाम्रो पूर्वीय मान्यताका धेरै विषयले अन्तर्राष्ट्रिय जगतमा राम्रो प्रभाव पारिरहेको छ । खास गरी अमेरिका र युरोपका विद्वान्हरू, अध्येताहरू पूर्वीय विषयबाट बढी प्रभावित भइरहेको देखिन्छ । सहकारी दिवस मनाउने विषय, वातावरण दिवस मनाउने विषय, आमा दिवस मनाउने विषय, पिता दिवस मनाउने विषय, योग दिवस मनाउने विषय, सरसफाइ दिवस मनाउने विषय, गुरु दिवस मनाउने विषय आदि सबै विषय अहिले अन्तर्राष्ट्रिय विषय बनेको छ र यी विषयका दिवस मनाइनु हाम्रा पूर्वीय मान्यताले महत्त्व पाउनु नै हो । तर यी काम हाम्रो संज्ञान, हाम्रो प्रस्ताव, हाम्रो जोड बल र दाबीमा काम भएका होइनन् । त्यसैले यी सबै विषय अन्त कतैबाट सुरु भएको हो कि भन्ने संशय या भ्रम रहेको पाइन्छ ।

हामी अहिले कस्ता भएका छौँ भने हाम्रै सिन्की—गुन्द्रुक, सुकाइएको कर्कलो, अमिलो पारिएको मूला, काँक्राको अचार पनि अन्यत्रबाट—टल्किने कागजमा बाँधिएर विदेशबाट आयो भने हामीलाई रुच्ने र पच्ने भएको छ । हाम्रा कान बम बम भोले, हरे राम हरे कृष्ण, जय शिव शम्भो, कर्पूरगौरं करुणावतारम् आदि मन्त्र तथा भजनहरू पनि उताकाले लय मिलाएर गाएकोलाई मौलिक ठान्नेमा अभ्यस्त भइरहेका छन् । आमा अन्धविश्वास, मम्मी विज्ञान, बाबा—बुवा—बा—पिता अन्धविश्वास र फादर—ड्याडी विज्ञान ठानिएको छ । जन्म दिनमा उज्यालो पार्नु र उज्यालो जीवनको कामना गर्नु अन्धविश्वास र झलल्ल बलेको बत्ती ध्यापध्याप पारेर निभाउनुलाई विज्ञान मानिँदै छ । के बत्ती निभाउनु, अँध्यारोको स्वागत गर्नु विज्ञान हो ? स्वादिलो खाने वस्तु(केक)मा नाम लेखेर त्यसलाई धारिलो चक्कुले छियाछिया पारेर रस चुहाउँदै खानुलाई विज्ञान ठान्न थालिएको छ । के यसो गर्नु विज्ञान हो ?

यसो विचार गरौँ त, माथि भनिएका तमाम विषय हाम्रो दैनिकीमा—जीवन व्यवहारसम्मत कुन छन् ? हरेक वार, हरेक तिथि, हरेक सङ्क्रान्ति विषयगत छन् । विषयसँग नजोडिएको हाम्रो कुनै दिन छैन । हरेक दिन पर्वमय छ । यी दिनहरूलाई हरेक दिन उत्सवमय मनाउन नसकिने व्यावहारिक कठिनाइकै कारण खास खास दिनलाई विशेष ढङ्गले मनाउने गरिँदै आएको छ ।

हामीले—हाम्रो संस्कृतिले श्रमलाई उच्च महत्त्व दिएको छ । श्रमलाई भाग्यभन्दा माथि राखेको छ । भाग्यलाई श्रम साध्य मानेको छ । भनिएको छ, ‘दैवेनदेयमिति कापुरुषाः वदन्ति अर्थात् दैवले भाग्यले दिन्छ भन्ने कुरा कायर मानिसले गर्दछन् ।’ अन्यत्र भनिएको छ, ‘न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः अर्थात् सुतेको सिंहका मुखमा आफै गएर मृग पस्दैनन् ।’ यस्ता अनेकौँ प्रसङ्ग पूर्वीय साहित्यमा पढ्न पाइन्छ । स्वयं वेदमा श्रमका अनेकौँ उदाहरणीय प्रसङ्ग छन् । पुराणहरूमा सबै देवीदेवताहरूलाई काम विभाजन गरिएको छ । सरस्वती, लक्ष्मी, दुर्गा, नारद, यम, वरुण, कुबेर, चित्रगुप्त आदि मात्र होइन; ब्रह्मा, विष्णु, महेश्वरका पनि कार्य विभाजन छ । तोकिएको गर्नु मात्र होइन, अरूको कार्यक्षेत्र उल्लङ्घन गर्न नहुने विषय पनि मनग्गे पढ्न र सुन्न पाइन्छ । हरेक ग्रह, नक्षत्रका पनि दायरा छन् । दुःखको कुरा, हामीले यस्ता विषयहरू सामान्य कर्मकाण्डमा सीमित पार्‍यौँ, वास्तवमा विशिष्ट कर्मका काण्डहरू हुन् ।

हामीले विगत १३३ वर्षदेखि अन्तर्राष्ट्रिय रूपमा श्रमिक दिवस मनाउँदै आइरहेका छौँ । अमेरिकाको हे मार्केट(सहर)मा भएको मजदुर आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको खुसीमा यो दिवस मनाउन सुरु गरिएको हो । धर्तीको कुनै खण्डमा मानिसले न्याय पाउनु, न्यायिक आन्दोलन सफल हुनु सबैतिरका न्याय प्रेमीहरूका लागि खुसीको विषय हो । यसमा खुसी मनाउनु, यसरी प्राप्त भएको अधिकार नखोसियोस् भनेर खबरदारी स्वरूप यो दिवस मनाउनु राम्रो विषय हो । यस्तो अधिकार नपाएकाहरूले यस्तो अधिकार पाउनका लागि आन्दोलन गर्नु र त्यसप्रति ऐक्यबद्धता जनाउनु गतिलो विषय हो । तर, त्यो खास प्रकारको श्रमको क्षेत्र भएको ठाउँका लागि उपयुक्त होला । अर्को ठाउँका लागि यो आन्दोलन गर्न नपर्ने विषय पनि हुन सक्दछ, यसलाई फरक ढङ्गले व्यवस्थापन गरिएको पनि हुन सक्दछ भन्ने विषयमा पनि ध्यान दिन जरुरी हुन्छ ।

उस्तै भए पनि केही दिन विशेष हुन्छ, फरक हुन्छ । जसरी उस्तै भए पनि केही व्यक्ति विशिष्ट हुन्छन् । त्यस्तै प्रसङ्गमा ‘हरिशयनी’ एकादशीलाई विशेष एकादशीका रूपमा मान्ने गरिएको छ । यो एकादशी भगवान् विष्णु सुत्ने दिन मानिन्छ । सनातन धर्ममा विष्णुको स्थान सर्वोपरि मानिएको छ । स्थान, काल र विशेष परिस्थितिमा ब्रह्मा, शिव, देवी, गणपति, सूर्यको महत्त्व प्रमुख देवताका रूपमा रहेको भए तापनि विष्णुको महत्त्व र स्वीकार्यता सर्वोपरि स्वीकार गरिएको छ । विष्णु पुराणमा भनिएको छ: सर्वे सर्वभूतस्य विष्णोरंशा द्विजोत्तम अर्थात् ती पहिले भएका सबै र जो यसपछि हुनेछन् ती सबै विष्णुकै अंश हुनेछन् । हिन्दु धर्मशास्त्रहरूमा लेखिएअनुसार हरिशयनी एकादशी (विष्णु शयन गर्ने) दिन हो ।

यस दिनलाई चलनचल्तीमा ‘असारे ठुली एकादशी’ पनि भन्ने गरिन्छ । मान्यता अनुसार यस दिनदेखि चार महिना अर्थात् ‘कात्तिके ठुली एकादशी’ भनिने हरिबोधिनी एकादशीसम्म विष्णु भगवान्को सुत्ने अवधि हो । यो चार महिनाको अवधिमा व्रत गर्न भनिएको छ । यस व्रतका धेरै महत्त्व र प्रभाव वर्णन गरिएको छ । यसमध्ये गरुणपुराणमा लेखिएको एउटा प्रसङ्ग यस्तो छ: ‘स्नात्वा यश्चतुरो मासानेकभक्तेन पूजयेत् । विष्णुं स याति विष्णोर्वैलोकं मलविविर्जितम् । अर्थात् जसले नुहाएर एक भक्त भई चतुर्मास पूजा गर्दछ त्यो व्यक्ति पापहीन भएर विष्णुलोकमा विष्णुसँग पुग्दछ ।’ यहाँ नुहाउने विषयमा मुख्य जोड दिइएको छ । यसको तात्पर्य पूजा व्रतादिको विषय सफा—सुग्घर हुन ध्यान दिने विषय हो । ‘मद्यमांससुरात्यागी वेदविद्धरिपूजनात् । तैलवर्जी विष्णुलोकं विष्णुभाक्कृच्छ«पादकृत् । अर्थात् मदिरा, मांस, सुरा त्याग गर्ने, तेल त्याग गर्ने, कृच्छ्रपाद व्रत गर्ने ज्ञानी व्यक्ति विष्णुको भक्त विष्णुलोकमा पुग्दछ ।’ यहाँ खानपानका विषयमा ध्यानाकर्षण गरेको देखिन्छ । अहिले सामान्य लागे पनि मानव सभ्यता विकासमा यी विषय महत्त्वपूर्ण हुन् । के खाने, के नखाने भन्ने विषय मानव चेतनाका दृष्टिले ठुलो महत्त्वको विषय हो ।

यस दिनमा स्वस्थ मानिसहरू नदीमा नुहाउने र अन्न नखाई उपवास बस्ने गर्दछन् । शरीरको बाहिरी स्वच्छताका लागि नुहाउनु र भित्री स्वच्छताका लागि आहार त्याग गर्नु राम्रो हुने मानिन्छ । सरसफाइका दृष्टिले पनि यो दिन महत्त्वपूर्ण छ । वृद्ध वृद्धा, बालबालिका, अस्वस्थ, शारीरिक श्रममा संलग्नहरूलाई यसो गर्न भनिएको छैन । यो एउटा प्रसङ्ग हो ।

यस दिन तुलसीको बिरुवा सारिन्छ । यो एकादशीभन्दा एक महिना अघिको जेठ शुक्ल पक्षमा पर्ने निर्जला एकादशीमा छरिएको तुलसीको बिरुवा नै यस दिन सार्ने प्रचलन छ । तुलसीको औषधीय महत्त्वका बारेमा आयुर्वेदका जानकारहरूबाट धेरै कुरा स्पष्ट पारिँदै आएको छ । सनातन धर्मशास्त्रमा तुलसीका नाम यस प्रकार लेखिएको छ: वृन्दा, वृन्दावनी विश्वपूजिता विश्वपावनी । पुष्पसारा नन्दिनी च तुलसी कृष्णजीवनी ।। (वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी यी आठ नाम तुलसीका नाम हुन् ।) अन्यत्र अन्य नामहरूको पनि चर्चा गरिएको पाइन्छ । यी हरेक नाम अर्थपूर्ण छन् र नाममा नै तुलसीका गुणविशेषता व्यक्त भएको छ । गरुणपुराणमा औषधिको रूपमा ‘विडङ्गत्रिफलाकृष्णाचूर्ण लीढं ….’ आदि तुलसीलाई ‘कृष्णा’ उल्लेख गरिएको पाइन्छ । यस दिनले जीवनोपयोगी वनस्पतिहरूको पहिचान एवं सम्मानपूर्वक संरक्षण गर्नुपर्छ भन्ने स्मरण गराउँछ ।

अन्य प्रसङ्गमा तुलसीलाई विष्णुको रूप मानिएको पाइन्छ । स्वस्थानी व्रत कथाअनुसार महादेव र जालन्धरको बीचमा युद्ध भइरहेको समयमा विष्णुले वृन्दाको सतीत्व नष्ट गरिदिएको अर्थात् भेष बदली जालन्धरजस्तै बनेर, छल गरेर यौन शोषण गरेका थिए । यो कुरा थाहा पाएपछि जालन्धरकी पत्नी वृन्दाले विष्णुलाई श्राप दिएकी थिइन् । ‘हे पापिष्ठ विष्णु ! तिमीले छल गरी मेरो पतिव्रता धर्म नष्ट गराइदिँदा मेरा स्वामीको यो अवस्था भयो (अर्थात् मृत्यु भयो) । अब म तिमीलाई श्राप दिन्छु— झार हुनुपरोस्, घाँस हुनुपरोस्, रुख हुनुपरोस्, ढुङ्गा भइरहन परोस् ।’

राज्य र सङ्गठित समाज नभएको समयमा श्राप दिनु भनेको दण्डित गर्नु हो । आफूसँग भएको शक्ति प्रयोग गर्नु हो । जन—जनमा रहेको वैयक्तिक शक्तिको प्रयोगको मान्यता हो । अहिले ‘जनता सार्वभौम छन्, यसको प्रयोग कानुनबमोजिम हुनेछ’ भनेजस्तो त्यति बेला यस्तो संविधान थिएन । शक्तिशालीले अन्य शक्ति प्रयोग गरेर र त्यस्तो नहुनेले आफूमा निहित सार्वभौम शक्तिको प्रयोग यसरी नै गर्ने गरिएको बुझिन्छ ।

यसका अन्य धेरै गूढार्थ र व्यवहारिक अर्थ खोज्न सकिएला । यस कथाबाट कति स्पष्ट हुन सकिन्छ भने गल्ती गर्ने व्यक्ति जे जस्तोसुकै होस्, उसले उचित दण्ड भोग्नै पर्छ । यस्तो दण्ड दिने शक्ति महिलामा हुन्छ । शक्तिशालीले जे गरे पनि दण्डित हुन नपर्ने, ‘महिलाले के नै गर्न सक्छन् र ?’ भन्ने मनोविज्ञानलाई यसले भङ्ग गरिदिएको छ ।

अर्को महत्त्वपूर्ण पक्ष, संसारमा प्रचलित अन्य धर्ममा सम्बन्धित धर्मग्रन्थमा आफ्ना सर्वोच्च आराध्यको अपराधका विषयमा यसरी लेखिएको पाइँदैन । सनातन धर्मग्रन्थमा सबैका कमीकमजोरी र अपराधका बारेमा खुलस्त लेखिएको पाइन्छ । ब्रह्मा, विष्णु, महादेव, राम, कृष्ण आदि सबैका कमजोरी र अपराधबारे थाहा पाइने स्रोत हिन्दु धर्मशास्त्रहरू नै हुन् । तर, हामीकहाँ छलछामको उदाहरण दिनुपरे शास्त्रलाई प्रमाण मान्ने र अरू विषय आए ‘सबै काल्पनिक हुन्, यस्तो पनि हुन्छ र ?’ भन्ने अवसरवादी र पाखण्डी प्रवृत्ति देखिन्छ । यसभित्रका असल वा खराब दुवैलाई सापेक्ष रूपमा हेरिनुपर्दछ ।

हरिशयनी र चतुर्मासको मूल विषयमा फर्कौँ । शास्त्रवर्णित चतुर्मास भनेको चार महिनाको समूह हो । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशी सम्मको अवधि चतुर्मास हो । यो चार महिना भनेको वर्षको एक तिहाइ अवधि हो । एक तिहाइ अवधि हिसाब गर्दा वर्षमा चार महिना हुन्छ । यति समय आरामका लागि हो । दिनको एक तिहाइ समय आठ घण्टा हुन्छ ।

अहिले, हामी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँछौँ, केका लागि ? सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग राखेर सुरु गरिएको आन्दोलनको सम्झनामा हामी इसवीय पात्रोको मे महिनाको एक तारिखमा यो दिवस मनाउँछौँ । यो दिवस मनाउन सुरु गरिएको १३३ वर्ष भएको छ । तर, हाम्रो संस्कृतिले यस विषयको सङ्केत गरेकोतर्फ हामीले ध्यान दिन सकेनौँ । चतुर्मासको अवधि भगवान् विष्णुले आराम गर्ने वर्षको एक तिहाइ समय हो । यसको अन्तर्वस्तु बुझ्न प्रयास नै नगरी अन्धविश्वास मान्नु स्वयं अन्धविश्वास हो । हाम्रो संस्कृतिको यो पाटो नजानेर या बिर्सेर चतुर्मासमा विष्णु सुत्ने विषयलाई अन्धविश्वास भन्न भ्याउँछौँ, यसको सार—सङ्केतलाई  पर पन्छाएर सन् १८८९ को इतिहासप्रति गर्व गर्दछौँ । हाम्रो संस्कृतिका अन्तर्वस्तुलाई वैज्ञानिक दृष्टिकोण राखेर हेरौँ, विज्ञान पाउने छौँ, अन्धविश्वासग्रस्त दृष्टिले हेर्‍यौँ भने अन्धविश्वास नै पाउने छौँ ।

संस्कृतिको समर्थन वा विरोध, ठुलो कुरा होइन; यसका आधारहरूको विश्लेषण र संश्लेषण गरेर आफ्नो संस्कृति विकास गर्न सक्नु महत्त्वको विषय हो । हरिशयनी एकादशीले दिएका सन्देशहरू संकेतात्मक छन् । पुरानो भएपछि कुनै पनि विषय जस्ताको तस्तै, समय सुहाउँदो खेखिदैन । तर, इतिहास आफैमा मार्गदर्शक हुन्छ भन्ने सच्चाइ बोध गर्न सक्नुपर्दछ ।

हामीले धर्म, धर्मशास्त्रमा लेखिएका विषयलाई आजैका लागि लेखिएका हुन् भन्ने ढङ्गले बुझ्नु आवश्यक छैन, बरु यी कथाहरू हाम्रो जीवन व्यवस्थापनका लागि महत्त्वपूर्ण आधार हुन् भन्ने कुरा बिर्सनुहुँदैन ।