मुक्तीनाथमा हुने यार्तुङको लागि तयारी शुरु

हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथमा हुने यार्तुङ मेलाको तयारी शुरु गरीएको छ । पछिल्लो २ वर्ष कोरोनाका कारणले गर्दा रोकिएको यार्तुङ मेला यस वर्ष यही साउन २३ देखि २७ गते सम्म मुक्तिनाथको रानिपौवामा आयोजना हुने भएको छ ।
हरेक वर्षको जनैपूर्णिमामा स्थानीय संस्कृति सँग जोडिएको यार्तुङको विशेष कार्यक्रम हुने गर्दछ । त्यसैले जनैपूर्णिमाको दिनमा सकिने गरी विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर यस वर्ष पुराङ जनप्रिय युथ कलबले यार्तुङ मनाउन लागेको हो ।
बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–१ का वडा सदस्य पेम्बा छिरिङ गुरुङका अनुसार यही साउन २३ गतेदेखि खेलकुद, साँस्कृतिक कार्यक्रम शुरु हुने छ भने २७ गते जनैपूर्णिमाको दिनमा विशेष समारोहका साथ समापन हुनेछ । उक्त अवसरमा फुटबल, अर्चरी (तारो हान्ने), लाठो तान्ने, घोडा दौड प्रतियोगिता आयोजना गरिएको छ । साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रिय स्तरकै चर्चीत कलाकार तथा डिजे साँझको समेत व्यवस्था गरिएको आयोजक क्लबले जनाएको छ ।
सबै प्रतियोगिताहरु खुल्ला रुपमा सञ्चालन हुने गुरुङले बताउनुभयो । पछिल्ला दुई वर्ष नेपाल सरकारले २५ जना भन्दा बढी मान्छे जम्मा हुने गरी कुने पनि कार्यक्रम गर्नका लागि रोक लगाएको कारणले गर्दा आफूहरुले यार्तुङ गर्न नसकेको गुरुङले बताउनुभयो ।
यार्तुङ मेला कहिले देखि शुरु भयो भन्ने एकिन नभए पनि परापूर्व काल देखिनै मनाउँदै आएको स्थानियको भनाई छ । मुक्तीनाथ क्षेत्रका झारकोट, पुराङ, खिङ्गा, झोङ, छोङ्गोर, पुटागाउँका गाउँलेहरुले मनाउँदै आएको यार्तुङ मध्ये पुराङ गाउँले रानीपौवामा आयोजना गर्ने यार्तुङलाई त्यस क्षेत्रको विशेष पर्वको रुपमा लिइने गरिन्छ ।
मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१, रानीपौवामा हुने यार्तुङ मेला भर्नका लागि देश विदेशबाट पर्यटकहरु आउने जनप्रिय युथ कलबका अध्यक्ष उर्गेन गुरुङको भनाई छ ।
बर्खायामको खेतीपाती सकेर यार्तुङअघि गाउँका सबै स्थानीयले अन्नबाली थन्क्याइसकेका हुन्छन् । यार्तुङ सकिएलगत्तै बर्खा सकिएर हिउँदयामको झल्को दिन्छ । १६ औं सताब्दीबाट भएको भन्ने आफूहरुले सुनेको भए पनि यार्तुङ मेला निकै पुरानो मध्येको संस्कार रहेको गुरुङको भनाई छ ।
हिमालपारीको जिल्ला मुस्ताङका बासिन्दाहरु वर्षा सकिए पछि हिउँदको चिसो छल्नका लागि बेँसी झर्ने परम्परा नै रहेको छ । यही परम्परा सँगै यार्तुङ पनि जोडिएको स्थानीयको भनाइ छ । जाडो छल्नका लागि बेँसी झर्नु पहिला तीन दिन सम्म रमाइलो गर्ने समय पनि हो यार्तुङ । यार अनि तुङ शब्दको समिश्रण हो यार्तुङ । मुस्ताङको त्यस क्षेत्रमा यार भनेको बर्खा र तुङको अर्थ बर्खाको बिदाई भन्ने बुझीने बताइन्छ ।

मङ्लबार, साउन १०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...