लोकप्रिय मतको सुकेलुतो

भरतराज पोखरेल

अहिले राजनीतिक बजारमा ‘लोकप्रिय मत’को व्यापार खुब चम्केको छ । स्थानीय निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख र वडा प्रमुख जितेर दोस्रोबाट पहिलो पार्टी बनेको नेपाली कांग्रेसले आफूलाई स्वभाविक रूपमा लोकप्रिय पार्टी दावी गर्ने नै भयो ।

अघिल्लो चुनावको तुलनामा सयभन्दा कम पालिका जितेको नेकपा एमालेले पनि ‘पराजित मत’ एउटा डालोमा थुपारेर त्यसैमा लोकप्रियताको खेजी गरेपछि यसको चर्चा चुलिएको हो । क्षणिक नै किन नहोस् आपतको बेला त्यान्द्रोको साहरा भने झैं एमालेका लागि यो ‘लोकप्रिय मत’ को फण्डा पाराजयको पीडामा दल्ने झण्डुबाम सावित भएको छ ।

सामान्य प्रचलनमा एक रुपैयाँलाई बुझ्न सय पैसा भनिरहनु पर्दैन । तर, राजनीतिमा त्यतिले पुग्दोरहेनछ । चुनावी सिटको पाथी भरिएको छ भने त एक रुपैयाँ भने पनि पुग्छ र पाथी आधा भयो र पराजय भए पनि ‘खुट्टा माथि नै छ’ भनेर देखाउन पर्यो भने रुपैयाँले पुग्दैन, पैसामै हिसाब देखाउनुपर्छ । अहिले एमालेले रुपैयाँ खोज्न छाडेर पैसा गन्न थालेको छ । आफ्नो गल्ती ढाकछोप गर्न पाँँच पैसे पनि होइन एक पैसे सिल्टेका सिक्काको रास तयार गर्दैछ उसले ।

राजनीतिक अर्थशास्त्र त सुनेकै विषय हो तर राजनीतिमा यति धेरै टिडिक लगाउन थालियो कि अब राजनीतिक अंकगणित थप्नुपर्ने अवस्था आएको छ । खास गरी स्थानीय तह निर्वाचनपछि आएका नौरंगी हिसाबकिताबलाई राजनीतिक अर्थशास्त्रले मात्रै सम्हाल्न नसकिने अवस्था छ ।

भरतराज पोखरेल

यथार्थ त के हो भने ०७४ सालको निर्वाचनमा एमालेले २ सय ९४, कांग्रेसले २ सय ६६ र माओवादीले १ सय ६ पालिका प्रमुख जितेका हुन् । गत स्थानीय निवार्चनमा स्थानीय तहका ७ सय ५३ पालिका प्रमुखमध्ये काग्रेसले ३ सय २९ र एमालेले २ सय ६ जितेका छन् । त्यसैगरी वडाप्रमुखतर्फ २०७४ को स्थानीय निर्वाचनमा एमालेले २ हजार ५ सय ६०, नेपाली कांग्रेसले २ हजार २ सय ८६ र माओवादी केन्द्रले १ हजार १ सय २ सिट जितेका हुन् । तर यसपटक ६ हजार ७ सय ४३ वडा मध्ये कांग्रेसले २ हजार ६ सय ६८ र एमालेले २ हजार १ सय ३७ वडा प्रमुख जितेको हो । समानुपातिकमा हिसाब नजोडिने स्थानीय निर्वाचनको यो स्पष्ट परिणाममा पनि लोकप्रियताको माथापच्ची गर्नु फुर्सदमा सुकेलुतो कन्याउनुभन्दा बढी केही होइन ।

जितेका सिटको संख्या गन्दा नपुग्ने भएपछि एमालेले हारेका पालिका प्रमुख/उपप्रमुख र वडाप्रमुखको मत बटुलेको छ । जित्नका लागि एक मत बढी भए पुग्ने अहिलेको निर्वाचन प्रणालीमा हारेका मत थुपारेर रमाउनु केबल आत्मरति मात्रै हो । हारेकै मत बटुल्ने हो भने अब खोज्न बाँकी वडा सदस्यको मत छ, तिनका मत पनि खोजौँ । तिनले पाएको मत मत होइन र ? के वडासदस्यले ल्याएको मत खोटा सिक्का हुन् ? फुर्सद भए तिनका मत पनि गनौँ र लोकप्रिय मतको सुके लुतो अरू चम्काउँ ।

पार्टीले पाएको भन्ने लोकप्रिय मतको आधार के हो ? उदाहरणका लागि काठमाडौं महानगरपालिकाको मतको कुरा गरौँ । पराजित मेयरका पाका उम्मेदवार केशव स्थापितले पाएको मत एमालेको हो कि विजेता सुन्दरी उपमेयर सुनिता डंगोलले पाएको मत एमालेको हो ?

अघिल्लो स्थानीय निर्वाचनमा मेयर जितेर पनि यसपटक गुमाएको काठमाडौं महानगरमा मेयरका उम्मेदवार स्थापितले ३८ हजार १ सय १७ मत ल्याएर पराजय भोगेको बेला उपमेयर डंगोलले स्थापितको भन्दा ३० हजारभन्दा बढी ६८ हजार ६ सय १२ मत ल्याएर जितिन् ।

त्यसमा लोकप्रिय मतको रौंचिरा कसरी गर्ने हो ? स्थापितले पाएको मत एमालेको हो कि डंगोलले पाएको मत एमालेको हो ? एमालेले केही विधि बनाएको छ कि छैन ? यसलाई जोख्ने तुलो कुन कम्पनीको हो ? निर्वाचन आयोगसँग यसको हिसाबकिताव गर्ने कुनै विधि पो छ कि ? अनि ‘लोकप्रिय मत’को छिर्के हालेर पहिलो पार्टी देखिन खोज्ने एमालेका सर्वाधिक शक्तिशाली अध्यक्ष तथा कोटरीबाट राजनेताको समेत पगरी गुथाइएका केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर राप्रपाले हात पार्यो । देशभरी २० सिट मात्रै पालिकाप्रमुख जितेर पनि गृह जिल्लाका धेरैजसो पालिका प्रमुख हात पार्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ‘लोकप्रिय मत’लाई के भन्ने ?

केही समयअघि राष्ट्रिय सभाको निर्वाचन भयो । त्यसमा जनप्रतिनिधिले भोट हाले, जित्नेले जिते हार्नेले हारे । त्यहाँ कहीँ कतै ‘लोकप्रिय मत’को लेघ्रो तानिएन । २० सिटमा भएको निर्वाचनमा अरू पार्टीले आआफ्ना पुराना सिट आफू आफूले मिलाए, बाँकी रहेका एमालेका सिट ‘भेडाको मासु’ बनाए ।

एमालेले पहिला जितेको आठ सिट मध्ये चिप्लिएर एउटा सिट उसको खोकिलामा पस्यो, बाँकी सबै दामासाहीमा परे । कसैकसैका लागि यो बिर्सनलायक अत्यन्तै विद्रुप सपना भएर होला कथित लोकप्रिय मतको फण्डा आएन । अघिल्लो स्थानीय निर्वाचनमा जितेका सिट मध्ये करिब एक सय पालिका प्रमुखबाट हात धोएपछि एमालेले निकालेको हारेपछि धुलो टक्टक्याउँदै ल्याइएको ‘लोकप्रिय मत’ फण्डा मन बहलाउने मेसो मात्रै हो ।

यथार्थ त के हो भने ०७४ सालको निर्वाचनमा एमालेले २ सय ९४, कांग्रेसले २ सय ६६ र माओवादीले १ सय ६ पालिका प्रमुख जितेका हुन् । गत स्थानीय निवार्चनमा स्थानीय तहका ७ सय ५३ पालिका प्रमुखमध्ये काग्रेसले ३ सय २९ र एमालेले २ सय ६ जितेका छन् । त्यसैगरी वडाप्रमुखतर्फ ०७४ को स्थानीय निर्वाचनमा एमालेले २ हजार ५ सय ६०, नेपाली कांग्रेसले २ हजार २ सय ८६ र माओवादी केन्द्रले १ हजार १ सय २ सिट जितेका हुन् । तर, यसपटक ६ हजार ७ सय ४३ वडा मध्ये कांग्रेसले २ हजार ६ सय ६८ र एमालेले २ हजार १ सय ३७ वडा प्रमुख जितेको हो । महानगरपालिका प्रमुखको हकमा भन्ने हो भने ०७४ सालमा काठमाडौं, पोखराजस्ता महत्वपूर्ण ठाउँमा चुनाव जितेको एमालेले यसपटक पूरै हात धुनु परेको अवस्था छ । इतिहासमै कहिल्यै नहारेको हेटौँडा उपमहानगरपालिका यसपटक एमालेको हातबाट एकीकृत समाजवादीको हातमा पुगेको छ ।

समानुपातिकमा हिसाब नजोडिने स्थानीय निर्वाचनको यो स्पष्ट परिणाममा पनि लोकप्रियताको माथापच्ची गर्नु फुर्सदमा सुकेलुतो कन्याउनुभन्दा बढी केही होइन । सुर्यअनलाइनबाट साभार

बिहिबार, साउन १२, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...