परमादेशी सरकारको विस्थापन अहिलेको मुल लक्ष्यः श्रेष्ठ

अहिलको मुल लक्ष्य परमादेशी सरकारलाई विस्थापन गर्नु हुनु पर्ने नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले बताउनुभएको छ ।
स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन भन्ने मुल नाराका साथ बेनीमा आयोजना भएको पेशागत महासंघ जिल्ला समिति म्याग्दी अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । अदालतबाट आदेश लिएर गठन भएको सरकारलाई जनादेशबाट बिस्थापित गर्नु पर्ने सचिवालय सदस्य श्रेष्ठले बताउनुभयो । अब हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले एकल बहुमतको सरकार बनाएर अदालतको आदेशबाट आएको सरकारलाई हटाउनु पर्ने उहाँको भनाई थियो ।
मुलुक अप्ठेरी अवस्थामा आएको समयमा सँधै नेकपा एमाले र पेशागत महासंघले नेतृत्वदायी भूमिका खेलेको बताउँदै श्रेष्ठले अहिलेको परमादेशी सरकारले मुलुकलाइ अप्ठेरो पार्न थालेकोले एमाले नेतृत्व आवश्यक परेको र यसमा पेशागत महासंघको भूमिका रहने बताउनुभएको थियो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर के.सी.ले केही स्थानीयतहमा गठबन्धनको बहुमत भएको ठाउँहरुमा पुराना करारका कर्मचारीलाई बहुमतको दम्ब देखाउँदै करार थप नगरेको तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । अध्यक्ष के.सी.ले रघुगंगा गाउँपालिकामै १३ वर्ष भन्दा धेरै समय काम गरेका कर्मचारीलाई कार्यपालिकाको बैठकको नाउँमा करार नगरेको पाइएको छ यदी उहाँलाई पुन करार नगरे अदालत सम्मै पनि पुग्न सकिने बताउनुभयो ।
एमाले उपाध्यक्ष बालकृष्ण सुवेदीले पनि नेपाली कांग्रेसले रघुगंगामा बहुमतको दम्भ देखाउँदै कर्मचारी निकालेको तर्फ मुकदर्शक मात्रै भएर बस्न नसकिने बताउनुभयो । उहाँले रघुगंगा उदाहरण मात्रै हो अन्यत्र पनि यस्तो देखिएको छ सबैको हिसाब जनमतले पक्कै गर्नेछ ।
नेकपा एमाले म्याग्दीकी उपसचिव एवम् जनवर्गीय संगठन इन्चार्ज थमसरा पुनले विगतलाई भुलेर संगठनलाई राम्रो बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो । पुनले नेकपा एमालेको केन्द्रमा रहेका २२ मोर्चा मध्ये म्याग्दीमा १६ सक्रिय रहेको र अहिले सम्म १३ वटा संगठनहरुको अपडेट भएको बताउँदै सबै मोर्चा अर्थात् संगठनलाई सक्रिय बनाउने तर्फ आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभयो । एक व्यक्ति एक मोर्चा वा संगठनमा मात्रै समितिमा रहनेगरी सबै संगठनको पुनःगठन गरेर सक्रिय बनाउन पार्टी लागेको पुनको भनाई थियो ।
पेशागत महासंघ म्याग्दीका कार्यवाहक अध्यक्ष नारायणप्रसाद सुवेदीको अध्यक्षता, पूर्व उपाध्यक्ष भोलानाथ घिमिरेको स्वागत, भगवान कार्कीको सञ्चालनमा भएको कार्यक्रममा आधिकारीक ट्रेड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणी सापकोटा, पेशागत महासंघ म्याग्दीका इन्चार्ज जयाराम सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनले नारायाणप्रसाद सुवेदीको अध्यक्षतामा पेशागत महासंघ जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षमा राजेन्द्र आचार्य, महिला उपाध्यक्षमा विष्णु रोका, सचिव भगवानबहादुर कार्की, कोषाध्यक्षमा रमेशबहादुर बानियाँ, सहसचिव तेजकुमारी थापा, सदस्यमा रुपा पुर्जा, चिना बानियाँ, तीलु राना, विशाल रोकाया, एकादन्त शर्मा, बिष्णु पौडेल, सन्तोष सुवेदी, नगेन्द्र सापकोटा रहनुभएको छ ।

शनिबार, साउन १४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...