तपाईंकी श्रीमती हुँ, मैले हेर्न नमिल्ने के छ त्यो मोबाइलमा!

मोबाइलको डाटा कहिल्यै अफ नगरेर बस्ने मान्छे हुँ म। जसका कारण कैयौं पटक श्रीमतीको कडा चेतावनीको सामना गर्दै आएको छु। ममाथि निगरानी पनि उस्तै हुन थालेको छ आजभोलि, हरेक पटक छड्के चेकिङ!

फेसबुकको आइडी र पासवर्ड मागेर थाकेकी मेरी श्रीमतीले आजभोलि छोरोमार्फत् ब्ल्याक–मेलिङ गराउँछिन् मलाई।

‘बाबा! तपाईंको फेसबुक आइडी र पासवर्ड दिनुस्, म आफ्नै ट्याबमा खोल्छु।’ छोराले जहिल्यै यस्तै भनेर माग्छ।

त्यो श्रीमतीको आइडिया हो। छोरालाई ट्याबमा गेम खेल्नु सिवाय अरू वास्तै छैन।

मसँग सजिलो उत्तर छ ‘मैले फेसबुकको पासवर्ड भुले बेटा!’

ऊ पत्याउँछ, तर श्रीमती पत्याउँदिनन्। मेरो अनुहारमा पुलुक्क हेर्दै भन्छिन्, ‘छोराले बाहरवालीको म्यासेज पढ्छ भनेर डराउनु भयो हैन त?’

ममाथि आमा–छोरा मिलेरै शंका गर्छन्, म बेवास्ता गरिदिन्छु। खिस्स हाँस्दिनुबाहेक अरू उपाय पनि त छैन मसँग।

यी त शंकाका मात्र कुरा भए, कैयौं पटक गल्ती नगर्दा पनि फसेको छु म।

हामी काम गर्ने साथीहरूको  म्यासेन्जरमा एउटा ग्रुप छ। ग्रुपको नाम सुरेश भाञ्जाले ‘मुटु’ राखिदिए। अनि इमोजीमा लभको सिग्नल फेर्दिए।

एकदिन छोराले ‘मुटु’ बाट आएको म्यासेज देखेछ। उसले आफ्नी मम्मीलाई भनेछ ‘बाबाको लभ परेछ मामु, मुटुले म्यासेज गरेको मैले देखेको हुँ।’

बाँकी बहाना के चाहियो र श्रीमती जीलाई मन दुखाउन!

ठुस्केर अनुहारै कालो, ठुस्किनुको कारण रिसाउँदै भनिन्, ‘को हो मुटु भन्ने?’

मैले म्यासेन्जर खोलेर देखाउँदै भने, ‘ल हेर यार! भाञ्जाहरू,  सुसन दाइ, अनि सोल्टीहरूको ग्रुप हो।’

उनले पूरै म्यासेज पढेर अलि हँसिलो चेहरा बनाउँदै भनिन्, ‘अरू केही नाम पाइएन है? मुटु लेख्नुपर्ने?’

मैले खाएको गाली भाञ्जालाई फिर्ता गर्दै भने ‘तिम्रो ग्रुपमा जिस्कने बानीले लास्टै तनाव भो, ग्रुपको नाम आजै फेर।’

आज भोलि हाम्रो ग्रुपको नाम ‘३०२’ छ। मलाई अलि ढुक्क छ अब।

एकदिन मोबाइल चार्जमा छाडेर खाना खाँदै थिएँ, इन्स्योरेन्स वाला बहिनीले म्यासेन्जरमा कल गरिन्।

बीमाको वार्षिक किस्ता हाल्नुपर्ने थियो। समयभन्दा लगभग एक साता ढिला भैसकेको थियो।

उता चार्जमा छाडेको मोबाइलमा अनवरत घण्टी बज्न थालेपछि श्रीमती उठेर गइन्।

अनि चिच्याउँदै भनिन्, ‘फलानी नामको फोन छ, को हो?’

‘इन्स्योरेन्सवाला बैनी हो, नउठाऊ।’ मैले सामान्य उत्तर दिएँ।

आफूसँग पैसा थिएन। तलब बुझेपछि फोन उठाउने अनि पैसा पठाउने सोचले फोन नउठाऊ भनियो। तर श्रीमतीको मनमा चिसो पस्यो।

‘त्यो केटीको फोन किन उठाउनु भएन? पक्कै पनि केही न केही छ।’ उनले शंका गर्न सुरू गरिन्, म हुक्क परेर कामतिर निस्किएँ।

यी माथिकी बहिनी कामकी बहिनी थिइन्, त्यसैले काम परेर कल गरिन्। शंकाको घेरामा परियो तर त्यति धेरै डर भएन।

किनकि हामी श्रीमान श्रीमतीबीच तिनै बहिनीको विषयमा झगडा नै भएको भए ती बहिनीलाई फोन लगाइदिन सक्थें।

तर कामै नपर्दा पनि हेल्लो भन्दै म्यासेन्जरमा आउनेहरूको डर अत्यधिक हुन्छ।

धेरै समय पहिले सँगै काम गरेकी एक जना केटी साथीले बेतुकको गफ लगाउन दिनहुँ म्यासेन्जरमा हेल्लो भन्थिन्।

मैले फुर्सदमा हुँदा पनि बहाना गरिदिन्थें। एकदम बिजी छु भन्दै पन्छिन्थें।

उनले धेरै पटक बोलाउँदा पनि म नबोलेपछि रिसले आगो भैछन क्यारे। म्यासेन्जरको इमोजीमा बुढी औलाको लाइक हटाएर नमस्कार सेट गरिछन्।

मेरी श्रीमतीले कतिबेला इमोजिमा नमस्कार सेट गरेको देखिछन्। उनलाई त्यही बहाना पुग्यो, झगडा गर्ने।

‘इमोजी सेट गरेर माया पिरती साटिँदो रहेछ त है ?’ उनले झर्किंदै भनिन्।

‘पागल! माया पिरती भए त पानको पातवाला इमोजी सेट गर्थें, किन गर्थें नमस्कार ?’ म पनि रिसाइदिएँ।

वास्तवमा त्यो इमोजी मैले सेट गरेको थिइनँ, म नबोल्दा घमण्डी ठानेर नमस्कार गर्न उनले आफैं सेट गरेकी थिइन्। शंकाको घेरामा म परें।

फेसबुकमा साथी भएका तर व्यक्तिगत रूपमा अपरिचितहरूबाट आएका म्यासेज मैले सकेसम्म इग्नोर नै गर्छु।

काम परेकाहरू सिधै कामको मेलो कोर्छन्, बाँकी हेल्लो, हाई गर्नेलाई म्यासेज सीन गरेर छाडिदिन्छु। तर म्यासेज डिलेट गर्दिनँ।
यस्तै म्यासेज डिलेट नगर्ने बानीले झन् खतरा निम्त्याइदियो एकपटक।

बाबु स्कुल गएको थियो, दिउँसो श्रीमती र म बजार गयौं। सामान्य किनमेल सकेर घर फर्कियौं। किनमेलमा मोबाइल पनि पर्‍यो।

घर आएर मोबाइलमा सीम फेर्न थाल्यौं। सिम फेर्दा एक्कासि श्रीमतीले मोबाइल मागिन्।

म अक्क न वक्क परें! दिऊँ त म्यासेन्जरमा नचाहिने म्यासेज पनि छन्। उसै त शंकाको घेरामा बारम्बार पर्ने म।

नदिऊँ त शत–प्रतिशत म गलत।

जुरूक्क उठेर कोठाको पल्लो कुनामा जाँदै भने, ‘अर्काको मोबाइल किन हेर्ने?’

श्रीमतीले झन् रिसाउँदै भनिन्, ‘म तपाईंकी श्रीमती हुँ, मैले हेर्न नमिल्ने के छ त्यो मोबाइलमा?’

मैले सम्झाउने, उनले नमान्ने। आधा घन्टा दे र दिन्नँमा समय सकियो।

अन्तमा मैले जितें, म कामतिर निस्किएँ।

काममा पुगेर श्रीमतीलाई फोन गरेँ, उनी ठुस्केर बोल्नै मानिनन्।

मैले कारण सोधें, उनले रून्चे स्वरमा भनिन्, ‘मलाई तपाईंमाथि किन बारम्बार शंका लाग्छ के?’

मैले फेरि सम्झाउन थालें। म गलत छैन भनेर धेरै कसम खाए। तर उनी मान्न तयार भइनन्।

अनि अन्तमा ‘हेर! यस्ता म्यासेज आएका हुन्छन्, त्यसैले डराउँछु बूढी!’भनेर दुई चार जना केटीका एकतर्फी म्यासेजहरू स्क्रिन सट गरेर पठाइदिएँ।

ती म्यासेजमै प्रष्ट थियो कि म तिनीहरूसँग बोलेको छैन।

नबोलेकै कारण मलाई घमण्डी, छुचो भन्दै रिस पोखेका थिए।

बारम्बार हेल्लो हाई गर्दा पनि म नबोलेपछि रिस देखाउँदै लेखेका म्यासेजका स्क्रिन सटहरू श्रीमतीलाई पठाएपछि घर झगडा मिल्छ कि भनेको झन् बल्झियो।

दुई दिनसम्म श्रीमतीले ममाथि शंका गर्न छाडिनन्।

मैले मोबाइल दिने, फेसबुकको आइडी पासवर्ड दिने सर्तमा झगडा सुल्झियो।

अनि अनाहकमा एकतर्फी आएका म्यासेजको कुरामा श्रीमती रिसाउन नपाइने सर्त बन्यो हाम्रो आजभोलि म उनको शंकाको घेराबाट अलि टाढै छु।

मैले ममात्र यो समस्याको पीडित हुँ कि भनेर साथीभाइसँग आफ्ना ब्यथा सेयर गरें।

त्यसपछि निस्किए एक से एक महान हस्तिहरू। जो शंकाको घेरा तोड्न नसकेपछि फेसबुकबाट टाढै बस्न बाध्य भएछन्।

‘बारम्बार श्रीमतीले यो म्यासेज गर्ने को हो?  भन्दै टोक्न थालेपछि मैले म्यासेन्जर नै डिलेट गर्दिएँ।’एक जना म्यासेन्जर पीडितले ब्यथा सुनाए।

आफू नबोल्दा पनि श्रीमतीले शंका गर्न छाडिनन्।

‘आफूले लेखेको म्यासेज डिलेट गरिस् होला भन्दै बूढी दैनिक कराउन थालिन् अनि मैले आफ्नो फेसबुक डिलेट गरेर बूढीको फेसबुक चलाउन थालेँ।’ अर्का मेरा प्यारा पीडित साथीले कथा सुनाए।

हामी केटाहरूलाई त म्यासेन्जरले यस्तो तनाव दिएको छ भने केटीहरूलाई कति गाह्रो होला? प्रोफाइलमा अलि राम्री केटी देख्नै हुँदैन ‘हेल्लो!’ भन्दै पछि लाग्ने केटाहरूको ठूलै जमात छ सामाजिक सञ्जालतिर।

त्यसैले काम पर्दा मात्र म्यासेन्जरमा हेल्लो भनौं, नत्र केटा होस, या केटी! घरमा शंकालु नजरले हेर्न छाड्दैनन्।

दिपक घिमिरेले सेतोपाटी डटकमका लागि तयार गरेको सामग्री साभार गरिएको छ । संपादक

शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...