एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ सर्वसम्मत

नेकपा एमाले म्याग्दी जिल्लाको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्य पदको लागि हरिकृष्ण श्रेष्ठ सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । हिँजो (सोमबार) बसेको जिल्ला कमिटी तथा सचिवालयको बैठकले निवर्तमान पार्टी जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीमा दुई कार्यकाल जिल्ला अध्यक्षसहित एक दशकभन्दा बढी समय नेतृत्व गरेका श्रेष्ठलाई जिल्ला कमिटी, प्रदेश कमिटीका पदाधिकारी तथा केन्द्र कमिटीका सदस्यसहितको बैठकले आगामी निर्वाचनमा एमालेबाट सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले म्याग्दीले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको तर्फदेखि श्रेष्ठको एकल उम्मेदवारी परेकाले सर्वसम्मतिबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारीका लागि प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको एमाले म्याग्दीका सचिव सुरत केसीले जानकारी दिए ।
एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका श्रेष्ठ राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय छन् । श्रेष्ठ नेपाल रेडक्रस सोसाईटीका पूर्व अध्यक्ष समेत हुन् । नेकपा एमालेको प्रदेश सभा सदस्यका लागि आंकाक्षीको लर्को लागेको अवस्थामा प्रतिनिधि सभा सदस्यमा भने एमालेले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । यसअघि भएका निर्वाचनमा भने आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिएको थियो । एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार सिफारिस भएका श्रेष्ठ जिल्लामा भद्र, शालिन र सरल व्यक्तित्व भएका नेताको रुपमा चिनिन्छन् । २०५४ सालमा तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्ष बनेका श्रेष्ठ त्यो बाहेक अन्य लाभको पदमा पुगेका छै्रनन् ।
यसैगरी वैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ समानुपातिक उम्मेदवारका लागि नरदेवी पुन र केपी अधिकारीको नाम सिफारिस गरेको बेनी नगरपालिकाको नगर प्रमुख समेत रहेका एमाले जिल्ला सचिव केसीले बताए । उनका अनुसार वैठकबाट प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (क)मा प्रत्यक्षतर्फ खुमबहादुर बानियाँ, देवेन्द्रबहादुर केसी, नारायण जिसी, प्रकाश पौडेल, बालकृष्ण सुवेदी, बेलबहादुर चोखाल, रामप्रसाद सुवेदी, लोक भण्डारी, शिवकुमार बरुवाल, सन्तोष रावल र हेमकुमारी गर्बुजालाई प्रदेश कमिटीमा उम्मेदवारका लागि नामावली सिफारिस गरिएको छ । प्रदेश सभा (क)मा समानुपातिकतर्फ खड्ग गिरी, गणेशबहादुर बानियाँ, जाफर हुसेन, जीवनकुमार विश्वकर्मा, प्रमोदकुमार श्रेष्ठ, विष्णु गुरुङ, लक्ष्मण बानियाँ र सिवानीसिंह ल्वागुनको नाम सिफारिस भएको छ ।
त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (ख)मा प्रत्यक्षतर्फ धनबहादुर गुरुङ, नवराज शर्मा, पदमलाल सापकोटा, याम गर्बुजा, यशुदा रोका र रामचन्द्र गौतमको नाम सिफारिस भएको छ भने प्रदेश सभा (ख)मा समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी र सीता गुरुङको नाम सिफारिस भएको एमाले म्याग्दीका उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले बताए । यसअघि प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिसका लागि प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले प्रदेश सभा (क) र (ख)मा उम्मेदवारका आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सिफारिस गरेको आकांक्षी उम्मेदवार नामावली सोमबारको जिल्ला कमिटीको वैठकले जस्ताको तस्तै पार्टीको गण्डकी प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको उपसचिव थापाले जानकारी दिए ।

मङ्लबार, भदौ २१, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...