कालीगण्डकीमा पाइन छाडे शालिग्राम

ठाकुर आचार्य/अमृत पौडेल/ नवीनशिशिर विक/अर्जुन काफ्ले
‘माछापुच्छ्रे  गिरिशिखरको पारमा मुक्ति क्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम
काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’
राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता 
‘कालीगण्डकी’मा शालिग्रामको उत्पत्तिको सन्दर्भलाई लिएर कालीगण्डकीसँग प्रश्न गरिएको प्रस्तुत सन्दर्भले शालिग्रामको पवित्रता र महिमागानलाई झनै बढाएको छ । हिन्दु धर्मशास्त्रहरूमा शालिग्रामलाई भगवान् विष्णुको शिला स्वरूपका रूपमा वर्णन गरिएकाले यसको धार्मिक महत्वका साथै अनौठो बनोटका कारण पनि शालिग्राम सबैको चासोको विषय बन्दै आएको छ ।
श्रीस्वस्थानी व्रतकथामा विष्णु भगवान्ले जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेर महादेवले जालन्धरको वध गरेपछि विष्णुलाई वृन्दाले दिएका चार श्रापमध्ये एक शिला हुनुपरोस् भनी श्राप दिएकीले शालिग्राम स्वरूपमा रहनुपरेको उल्लेख छ । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महìव भएकाले यसकोे खोजी गर्नेहरू बर्सेनि बढ्दै गएका पाइन्छन् ।


मुस्ताङको कागबेनीदेखि देवघाट (तनहुँ, नवलपरासी र चितवनको सङ्गम)सम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रूपमा लिने गरिन्छ । मुस्ताङ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले अवैध रूपमा शालिग्राम सङ्कलन गरेर लैजाने गरेका कारण पछिल्लो समय कालीगण्डकीमा शालिग्राम पाइन छाडेको बताइन्छ । ६० वर्षअघि कालीगण्डकी नदी किनारमा फेला पारेको शालिग्रामलाई बेनीका अङ्गद श्रेष्ठले दैनिक रूपमा पूजा गर्दै आउनुभएको छ । “म सानै छँदा कालीगण्डकी स्नान गर्न गएको थिएँ, नदी किनारमै ठूलो अनौठो शिला देखँे र उठाएर घरमा ल्याएँ । अहिलेसम्म पूजा गरिराखेको छु,” ८१ वर्षीय श्रेष्ठले भन्नुभयो ।  
श्रेष्ठले घरमा पूजा गरेर राखेको शालिग्राम निकै वजनदार छ । “यो सक्कली शालिग्राम हो, म यो शालिग्राममा सुदर्शन चक्रको आकार देख्छु,” उहाँले भन्नुभयो, “ढुङ्गामा चक्र हुनुपर्छ, चक्र नभएको शालिग्राम सक्कली शालिग्राम मानिँदैन ।” पहिलाजस्तो अचेल नदी किनारामा शालिग्राम फेला पार्न सकिँदैन । अहिले माथि मुस्ताङतिरै चोरी उत्खनन हुन्छ । तलसम्म नदीले बगाएर ल्याउनै पाउँदैन । शालिग्राम कालो, चिल्लो र चक्रसहित तर रेसारहित हुने श्रेष्ठले बताउनुभयो । 
शालिग्रामको उद्गमस्थल मुस्ताङको दामोदर कुण्ड हो । दामोदर कुण्डको आसपासका पहाडबाट बगेका कालाढुङ्गाले लामो दूरी तय गर्दै खिएर र घोटिएर हजारौँ वर्षपछि शालिग्रामको रूप लिन्छन् । कालीगण्डकी नदी विश्वमै एक मात्र शालिग्राम पाइने नदीमा पर्दछ । हिन्दु धर्मावलम्बीले भगवान् विष्णुको स्वरूप मानेर शालिग्राम पुज्ने गरेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका अङ्गद श्रेष्ठले बताउनुभयो ।


विश्वमा दुर्लभ मानिएको र कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामको उचित संरक्षण हुन नसक्दा लोप हुने खतरा बढेको छ । शिला शालिग्राम संरक्षणमा राज्यले ध्यान नदिँदा यसको चोरी निकासी हुन थालेको स्थानीयले गुनासो गरेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको दामोदरकुण्ड हुँदै बग्ने कालीगण्डकी नदीको बहाव क्षेत्रमा मात्रै पाइने शालिग्रामको उचित संरक्षणका लागि मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्रयास थालेको अध्यक्ष लोप्साङ छोम्पेल विष्टले बताउनुभयो । 
सङ्कलन गर्न प्रतिबन्ध
अध्यक्ष विष्टका अनुसार चालू आर्थिक वर्षको बजेटबाट योजना नै तयार गरेर संरक्षणका लागि कदम चालिने भएको छ । सामान्य तरिकाले होइन, चालू आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरिएको उहाँले बताउनुभयो । मुस्ताङको लोमान्थाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले शालिग्राम सङ्कलनमा प्रतिबन्ध लगाएको अध्यक्ष लोप्साङ छोम्पेल विष्टले जानकारी दिनुभयो । 
मुस्ताङको बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीस्थित सेल्फी डाँडामा गाउँपालिकाले नै शालिग्रामको आकृति बनाइएको छ । शालिग्राम संरक्षणका लागि आगामी आर्थिक वर्षको बजेटबाट सङ्ग्रहालय निर्माण गर्ने योजना तयार पारिएको छ । सङ्ग्रहालयमा एक लाख शालिग्राम सङ्कलन गरेर राख्ने गाउँपालिका अध्यक्ष रिङ्जिन नाम्गेल गुरुङले बताउनुभयो । “अहिले शालिग्राम लोपोन्मुख अवस्थामा पुगेको जस्तो अनुभव हुन थालेको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “कागबेनीमा श्राद्धस्थल निर्माण गर्ने र सबै प्रकारको शालिग्राम सङ्कलन गरेर सङ्ग्रहालय बनाउने हाम्रो तयारी छ ।” हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा रहेको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनद्वारा सञ्चालित मुक्तिनाथ अन्नदान क्षेत्रद्वारा सञ्चालित पूजास्थलका पुजारी प्रताप आचार्य कालीगण्डकी क्षेत्रमा पाइने शालिग्राम बजारमा बिक्रीमा राखिँदा यसको अस्तित्वमै सङ्कट बढेको बताउनुहुन्छ । पहिलाजस्तो अहिले शालिग्राम भेट्नै सकिँदैन, त्यसमाथि पनि बिक्री हुने हुँदा शालिग्राम पनि सकिँदै जाने जोखिम बढेको पुजारी आचार्यको भनाइ छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित कर्मचारी मिलन केन्द्र मुस्ताङको अगुवाइमा २०७३ सालमा शालिग्राम पार्क निर्माण भएको छ । कर्मचारी मिलन केन्द्र मुस्ताङका अध्यक्ष रुक्माङ्गत सुवेदीका अनुसार शालिग्राम उद्यान निर्माणका लागि छ लाख ७३ हजार ५९७ रुपियाँ खर्च भएको छ । 



भूमिगत सङ्ग्रहालय
कालीगण्डकी नदीमा हुने अवैध सङ्कलनले पवित्र शालिग्राम लोपोन्मुख अवस्थामा पुगेपछि संरक्षणका लागि बागलुङमा सङ्ग्रहालय निर्माण गरिएको छ । विष्णु स्वरूप शिला संरक्षणका लागि बागलुङ नगरपालिका–४, कुँडुलेस्थित भूमिगत सङ्ग्रहालय निर्माण गरी लाखौँ शालिग्राम शिला राखिएर यसलाई तिरुपति बालाजीधाम सङ्ग्रहालय नामकरण गरिएको छ । भू–गर्भभित्र त्रिशूल आकारमा ७६ मिटर लामो सुरुङ निर्माण गरी शालिग्राम सङ्ग्रहालय, त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठ–मन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण गरिएको छ । 
मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकीमा मात्रै पाइने सानादेखि तीन सय किलोग्रामसम्मका शालिग्राम संरक्षण गरेर राखिएको छ । स्वामी श्रीधराचार्यको योजनाअनुसार सङ्ग्रहालय तयार गरेको श्रीधराचार्य शालिग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । सङ्ग्रहालयको आन्तरिक आम्दानीबाट १५ लाख रुपियाँको लागतमा संरचना तयार गरिएको हो । 
नेपाली र भारतीय कालिगडद्वारा १० फिट अग्लो र पाँच फिट चौडा रहेको प्रवेशद्वारमा बाघको मुखाकृति तयार गरिएको छ । बागलुङ जिल्लाको नाम बाघसँग सम्बन्धित भएको हुँदा जिल्लाको पहिचानलाई आधार मानेर प्रवेशद्वारमा बाघको आकृति तयार गरेको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । तीन वर्षअघि तयार भएको सङ्ग्रहालयमा एक दशकअघिदेखि सङ्कलित शालिग्राम राखिएको छ । सङ्ग्रहालयको नामकरण गरिएको स्वामी श्रीधराचार्य शालिग्रामको महìवबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षण अभियन्ता हुनुहुन्थ्यो । उहाँको २०५६ सालमा ३९ वर्षको उमेरमा निधन भइसकेको छ ।
ठूलो शालिग्राम सेतीवेणीमा 
स्याङ्जाको गल्याङ नगरपालिका–५, सेतीवेणीमा विश्वकै सबैभन्दा ठूलो शालिग्राम रहेको छ । यो शालिग्राम दर्शन गर्न धार्मिक पर्यटकको भीड लाग्ने गरेको गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । 
कालीगण्डकीमा दबेर रहेको उक्त शालिग्राम कुन आकारको छ भन्ने यकिन नभए पनि विश्वकै ठूलो र अन्य ठाउँमा उक्त आकारको नदेखिएको भट्टराईले बताउनुभयो । सेतीवेणीमा रहेको शालिग्रामलाई चारैतर्फबाट संरक्षण गरेर सुरक्षित रूपमा दर्शन गर्न सकिने बनाइएको छ । प्रदेशको केन्द्रबाट नजिकैको गन्तव्यमा रहेको शालिग्रामलाई स्याङ्जा र पर्वत दुवैले आफ्नो जिल्लामा पर्ने दाबी गर्दै आएका छन् । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीमा नदीको बहाव क्षेत्रमै रहेको र कुन जिल्लातर्फबाट संरक्षण गर्ने भन्ने विवादका कारण यसको उचित संरक्षण हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।    गोरखापत्र अनलाइनबाट

मङ्लबार, भदौ २८, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...