आत्महत्या गर्नेमा पुरुष झण्डै दोब्बर

-अमृत बास्कुने

हिमाली जिल्ला म्याग्दीमा पछिल्ला वर्षमा आत्महत्या गर्नेमध्ये पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार पछिल्ला तीन वटा आर्थिक वर्षको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेमा पुरुषको संख्या बढ्दै गएको हो । आर्थिक वर्ष ०७६/७७ देखि ०७८/०७९ सम्ममा आत्महत्या गर्ने कुल ८२ मध्ये पुरुषको संख्या बढी छ ।

विष सेवन गरेर चार जना, पानीमा हामफालेर पाँच जना र झुण्डिएर ७३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । मृत्यु हुनेमध्ये पछिल्लो तीन आर्थिक वर्षमा २९ जना महिला र ५४ जना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा महिला र पुरुष ११/११ जनाले आत्महत्या गरेका थिए । आ.व ७७/७८ मा नौ महिला २१ पुरुष र गत आर्थिक वर्षमा नौ महिला र २२ पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी ढकालले बताउनुभयो ।

गत आर्थिक वर्षमा भएका ३१ आत्महत्या घटनामध्ये २२ जना पुरुष एवम् नौ महिला रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । उक्त संख्यामा एक एक जना बालक र बालिका छन् ।

गत आर्थिक वर्षमा १४ जना मानसिक विचलन, छ जना मानसिक सन्तुलन, एक जना प्रेममा असफल, सात जना दीर्घ रोगी र तीन जनाले गरिबीको कारण देखाउँदै आत्महत्या गरेको प्रहरी अनुमान छ । त्यस्तै जातिगत विश्लेषणमा १४ जना दलित, आठ जना जनजाति, ६ जना क्षेत्री र तीन जना ब्राह्मण हुन् ।

गत आर्थिक वर्षमा आत्महत्या गर्नेमध्ये बिहान ६ देखि दिउँसो १२ बजेसम्मको अवधिमा १३ जना, दिउँसो १२ देखि साँझ ६ बजेको अवधिमा ११ जनाले आत्महत्या गरेको देखिन्छ । त्यस्तै बिहान ६ बजेभन्दा पहिले रातको १२ बजे पछिको अवधिमा पाँच जना र बेलुकी ६ बजेपछि राति १२ बजेभन्दा पहिले आत्महत्या गरेका दुई जना छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ढकालका अनुसार घरपरिवारका सदस्य, छिमेकीहरुले निगरानी मात्रै बढाएको खण्डमा पनि आत्महत्या कम हुन्छ । कसैले पनि गिज्याउने, हेप्ने जस्ता कार्य रोक्ने, शैक्षिक तथा जागरण अभियान थालेको खण्डमा आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।

बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...