स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीलाई समस्या

जिल्ला कारागार कार्यालय म्याग्दीमा स्वास्थ्यकर्मीको दरबन्दी रहेको भए पनि पछिल्लो दुई वर्षदेखि रिक्त हुँदा कैदी बन्दीहरुलाई सास्ती भएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको २५ पुरुष र ७ महिला गरी ३२ जनाको क्षमताको कारागारमा अहिले १९ बन्दीसहित ८३ पुरुष र २ महिला गरी ८५ जना कैदी बन्दी रहेका छन् ।
कारागार कार्यालय म्याग्दीका प्रमुख जेलर धीरेन्द्रराज पन्तका अनुसार कार्यालय प्रमुख अधिकृतस्तर एकजना, नायब सुब्बा एक, खरिदार एक, सह–लेखापाल एक, सहायक कम्प्युटर अपरेटर एक, अहेब एक र चारजना कार्यालय सहयोगीको दरबन्दी रहेको भए पनि साढे दुई वर्षदेखि अहेब रिक्त हुँदा कैदी बन्दीलाई समस्या भएको छ ।
पन्तले भन्नुभयो– ‘म आएको डेढ वर्ष भयो म आउनुभन्दा पहिला एक वर्षदेखि नै अहेब नरहेको अघिल्ला जेलर राजेन्द्र शर्माले भन्नुभएको थियो ।’ कारागारमा अहेब नहुँदा कारागारमा रहेका कैदीबन्दीको उपचारमा निकै समस्या भएको कारागारका चौकीदार बसन्त रोकाले बताउनुभयो । मालिका गाउँपालिका–६, दरबङ घर भई कैद भुक्तानी गरिरहेका चौकीदार रोकाले भन्नुभयो, ‘नियमित औषधी खानुपर्ने सुगरका दुईजना, प्रेसरका छ जना बिरामी हुनुहुन्छ । उहाँहरुको स्वास्थ्यको निगरानी गरिरहनुपर्ने भए पनि लामो समयदेखि कारागार कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।’
सामान्य समस्या भयो भने पनि कैदीबन्दी बेनी अस्पतालमा पुग्नुपर्छ, कैदी बन्दीहरुको समस्या समाधानका लागि भए पनि राज्यले उचित ध्यान दिनुपर्ने रोकाको भनाइ थियो । कैदी बन्दी बिरामी पर्दा पनि बन्दी जीवन बिताएका व्यक्तिहरुलाई बाहिर जानका लागि प्रक्रिया पु¥याएर जानुपर्ने भएकाले पनि जटिल समस्या हुन सक्नेतर्फ राज्यको ध्यान पुग्नुपर्ने रोकाले बताउनुभयो ।
२०७९ असोज ८ गते कारागारको निरीक्षणमा आउनुभएका गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला लगायतको टोलीलाई जेलर पन्तले दरबन्दीको स्वास्थ्यकर्मी उपलब्ध गराइदिन माग गर्नुभएको छ । मुख्य न्यायाधिवक्तासहितको निरीक्षण टोलीमा न्यायाधिवक्ता गोविन्द गिरी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक तिलक भारती, इन्सेक प्रतिनिधि अमृत बास्कुने, मानवअधिकार तथा शान्ति समाजका सभापति सन्तोष गौतमलगायत मानव अधिकारसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
जिल्ला कारागार कार्यालय म्याग्दीमा ७० वर्षभन्दा माथिका एकजना थुनुवा र ६० देखि ७० वर्षसम्मका तीन जना कैदी रहेका छन् । कारागारको निरीक्षणपश्चात् मुख्य न्यायाधिवक्ता बास्तोलाले दरबन्दीका स्वास्थ्यकर्मीको पदपूर्तिको लागि पहल गर्ने बताउँदै एक हप्ताभित्रै स्वास्थ्यकर्मी कारागारमा उपलब्ध हुने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । कारागार निरीक्षणपछि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै बास्तोलाले अहिले प्रदेश भित्रका कार्यालयमा निरीक्षणपश्चात् समस्या समाधानका लागि तत्काल एक्सनमा गएर कार्यान्वयनको पाटोलाई अगाडि बढाएको बताउनुभयो । उहाँले तनहुँ र गोर्खामा पनि आफ्नो अनुगमनपश्चात् स्वास्थ्यकर्मी रिक्ततासम्बन्धी समस्या समाधान भएकाले म्याग्दीमा पनि समाधान हुनेमा ढुक्क हुन आश्वासन दिनुभएको छ ।
मुख्य न्यायाधिवक्ता नेतृत्वको टोलीले यसअघि गोर्खा, तनहुँ, बागलुङ र कास्कीको कारागार तथा हिरासत कक्षको निरीक्षण गरिसकेको र यसपटक म्याग्दीको निरीक्षणपश्चात् मुस्ताङतर्फ लागेको गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवं निरीक्षण टोलीका सदस्य शान्तिदेवी शर्माले बताउनुभयो ।

आइतवार, अशोज ९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...