सामाजिक सद्भावनाको साझा पर्व दसैँ

केही अपवादबाहेक सबै नेपालीले विजया दशमी मनाउँछन्। त्यसैले दशैं नेपालीकै चाड हो। दशैंमा धेरैले रातो टीका लगाउँछन्। केहीले सेतो टीका लगाउँछन्। उनीहरूले पनि मनाएकै छन्। केहीले निधारमा सामान्य टीका मात्रै लगाउँछन्। एउटा समूह जमरा लगाउँछन् अर्को समूहले जमरा नलगाई मनाउँछन्। दशैं मनाउँदा कसैले पशुबलि दिने भन्छन्। कसैले होइन हामी बिना पशुबलि दिएर मनाउँछौ भनेर लागेका छन्। त्यसैले दशैंमा विविधता छ। एउटै परिवेशमा एउटै जातजाति, एउटै वर्ण मात्रैको दशैं हो भन्न खोज्यौँ भने दशमीको महानतामा असर पर्छ र सामाजिक सद्भाव खलबलिन पुग्छ।

राज्यले दशैंमा बिदा दिन्छ। तर, हैन हामी दशैं मान्दैनौँ बिदा अस्वीकार गरेका छैनन्। बिदा लिनेहरू आफ्नो हिसाबले मनाएका छन्। दशमीले समग्र नेपालीलाई एकसूत्रमा बाँध्न र अनेकताभित्रको एकता नेपालीको अनुपम विशेषतालाई दर्साउँछ। अब यो विशेषता भनेको कहिले जातजाति त कहिले जनजाति त कहिले राजनीतिको नामबाट टुक्राउन, फुटाउन र बन्देज लगाउने काम कहिलेकाहीँ देखिन्छ। तर, समग्रमा भन्दा यत्रा भाषाभाषी, रीतिरिवाज, परम्पराको विविधता छन्। त्यत्रो जातजाति भएको स्थानमा समेत हामी एकताको भावनाले बसेका छौँ। त्यसलाई यस्तै दशैं, तिहार जस्ता पर्वले जोडेका छन्। पर्व भनेकै जोड्ने हो। बाँसलाई आँख्लाले जोडेजस्तै पर्व भनेको आँख्ला हो, समाजलाई जोडेका छन्।

हरेक पर्व मौसम अनुसार हुन्छ। असोजमा मनाइने दशमीलाई हामी शारदे दशैं भन्छौँ। पर्वलाई वातावरणसँग पनि जोड्छौँ। यसले गर्दा दशैंलाई निश्चित समुदायको भन्दा पनि नेपालीलाई एकसूत्रमा बाँध्ने पर्व भन्छौँ।

दशैंमा लाहुर/परदेश गएका पनि आफ्ना घरमा फर्किन्छन्। आफ्ना अग्रज, दाजु, आफन्तलाई भेट्न आउँछन्। जसले आजको आधुनिकीकरणको जमानामा पनि सामाजिकीकरण बनाउन सहयोग पुर्‍याएको छ। अमेरिका, युरोपतिर सामाजिकीकरण बिरलै पाइन्छ। अग्रज कहाँ आर्सीवाद लिने, सानालाई स्नेह दिने परम्परा कुन जातिलाई चाहिन्न ? त्यसो हुनाले दशमीको उपादेयता घटेको छैन, अझै बढेकै छ।

सनातन हिन्दु धर्मावलम्बी देवी शक्तिको आराधना गरेर मनाउँछन्। दशैंमा जमरा स्थापना गर्छन्। कलश, गणेश र बत्तीको पूजा गर्दै सत्यको आराधना गर्छन्। एक/एक दिन एक/एक देवीको आराधना गरिन्छ। प्रथम दिन शैलपुत्रीको पूजा गरेर सुरुवात गरिन्छ। पर्वते, खस समुदायमा यस प्रकारले दशमी मनाइन्छ।

पर्वते समुदायको नजिक र छिमेकमा बस्नेले पनि सो परम्परा अङ्गालेका छन्। अलग भएकामध्ये कसैले जमरा थाप्छन् कसैले थाप्दैनन्। कसैले कुनै मठमन्दिरमा जमरा थाप्न पठाउँछन्। त्यो हिन्दुमा पनि छन्। दश दिनसम्म मन्दिरमा जमरा राखेर अन्तिम दिन घरमा ल्याएर लगाउने छन्। ब्राह्मण, क्षेत्री, राई, मगर, गुरुङ, लिम्बूमा पनि यो परम्परा छ। पछिल्लो कालमा झन् बढेको छ। किनभने कतिपय व्यक्ति डेरामा बसेका हुन्छन्। डेराको एउटै कोठामा जमरा थाप्ने की सुत्ने ? त्यसो भएको हुनाले मन्दिरमै जमरा राख्छन्।

कतिपयले जमरामा जौ मात्रै राख्छन् भने कसैले अरू अन्न पनि राख्छन्। कतैकतै  मकै पनि राख्छन्। खासगरी नेवार समुदायमा जौसँगै मकै पनि राखेको पाइन्छ। त्यो आफ्नो श्रद्धाको कुरा हो। अन्नले गर्नुपर्छ भन्ने मान्यता राखेर त्यसो गरिएको हो। शारदे नवरात्रमा हामी साधना गर्छौँ। देवी दुर्गाको साधना गर्ने हो। नवमीको दिनमा कालरात्रि मनाइन्छ। कालरात्रिलाई कतिपयले अध्यारोपको सङ्केत मानेर पशुबलि दिन्छन्। तर, साधनाको पक्षबाट हेर्दा त्यो साधना गर्दागर्दी ऊर्जा प्राप्त गर्ने उत्कर्षको बेला हो। त्यो हरेक वर्ष उसले नवीकरण गरेको हो। दशैंको बेलामा पूजा आराधना र साधना गरेर आफैँले आफूलाई ऊर्जा प्रदान गर्ने हो। असल कर्मका लागि ऊर्जा प्राप्त गर्ने हो।

मुसलमानले पनि टीका लगाउँछन्। पोखराका एक जना मुसलमान कवि छन्। उनले दशैंमा टीका लगाएको देखेको छु। तर, समाजमा जो जुन रूपमा छन्, दशमीमा आफ्नो स्तरबाट योगदान गरेका छन्। बाजा हुनेले बाजा बजाउँछन्। पहिलादेखि बस्दै आएका पाल्पा, अर्घाखाँची, गुल्मीका मुस्लिम समुदायले आफ्नै रूपबाट मनाउँछन्। थारुदेखि दनुवारसम्मले आआफ्नै हिसाबले दशैं मनाउँछन्।

किराँत समुदायमा सेता जमरा लगाइन्छ। पूर्वतर्फका राई, लिम्बूहरूले जसले दशैं मनाउँछन्, उनीहरू सेतो टीका लगाउँछन्। किनभने रातो भनेको नकारात्मकको प्रतीकको रूपमा लिन्छन्। रातो हिंसा दर्साउँछ, रगतको रङ्ग रातो भएको भनेर उनीहरूले सेतो टीका थाप्छन्। एकल महिलाले पहेँलो टीका लगाउँछन्। तर, समयमा बदलावसँगै एकल महिलाले पनि अब रातो टीका लगाउन थालेका छन्। त्यसलाई पनि सकारात्मक नै लिनुपर्छ। समयको बदलाव अनुसार हिँड्नुपर्छ।

हामीकहाँ राम र रावणको युद्धको प्रसङ्ग दशैंसँग जोडिन्छ। त्यसो हुनाले सत्यले असत्यमाथि विजय पाएको भन्छौँ। नवरात्रमा देवीको मूर्ति बनाएर दश दिनसम्म पूजा आराधना गरी नदी वा पोखरीमा सेलाउने परम्परा छ। त्यो बङ्गालबाट आएको हो।

तराई मधेशमा उक्त परम्परा पहिलेदेखि नै थियो। तर, काठमाडौं उपत्यकामा ३५/४० वर्ष अघिदेखि मात्रै सुरु भएको देखिन्छ। गुह्येश्वरी नजिक प्रणवानन्द आश्रममा मूर्ति बनाएर देवीको आराधना गरिन्छ। खुला ठाउँमा बङ्गाली समुदायले दुर्गाको आकर्षक मूर्ति बनाएर पुज्ने चलन छ।

भारतमा दशहरा भन्छ। जहाँ रावणमाथि रामको जितको रूपमा दशैंलाई अर्थ्याइएको  पाइन्छ। तर, हामी कहाँ विशुद्ध रूपमा दुर्गाकै आराधना गरिन्छ। कतैकतै रावणको पुतला पनि दहन गरिन्छ। तर, व्यापकता पाउन सकेको छैन।

हामी कहाँ धेरैजसो समुदायमा प्रतिपदादेखि सुरु भएर दशमीको दिन टीका लगाएर पूर्णिमासम्म चल्छ। त्रिशूली पश्चिमपट्टि पाल्पा, अर्घाखाँची, गुल्मीतिर एकदिन मात्रै हो। दशमीको दिन एकदिनमा जति भ्याइयो सकियो। त्यसपछि सकियो।

किनभने कृषिको कारणले पनि होला। घरमा सबै काम बितिरहेको हुन्छ। पहाडमा त अर्को ठाउँमा टीका लगाउन जाँदा दुई/तीन दिन बित्छ। त्यसो हुनाले त्यो बाध्यताले उनीहरूले समय सापेक्ष बनाउन खोजिएको हो। पश्चिम नेपालमा धेरै छ।

काठमाडौँमा नेवार समुदायले बिहानै झिसमिसेमै देवीको मन्दिरमा परिक्रमा गर्ने निकै अगाडिदेखि चलनमा छ। पश्चिम नेपालको वादी समुदायले प्रतिपदाको दिनदेखि मन्दिर वा पूजा आराधना गर्ने सम्भ्रान्त कहाँ बाजा बजाउने गर्छन्। र दशमीको दिन त्यहाँबाट अन्न, नगद सङ्कलन गर्छन्। यसले जीविकोपार्जनको माध्यम पनि बनेको छ।

लिच्छवी, किराँत, महिषपाल, गोपाल वंशावलीमा पनि हामीकहाँ दशमीको प्रसङ्ग त्यसरी आउँदैन। यो मध्यकालदेखि मात्रै सुरु भएको हो। सामान्यरुपमा कुनै शिलालेखमा पाइन्छ। नभएदेखि अगाडि हामीकहाँ चलन थिएन। तर, अहिले आएर दुर्गा सप्तशतीको प्रचारप्रसार र तन्त्रको प्रवेशपछि दुर्गा भवानीको पूजा आराधना सुरु गरियो। ११ औँ, १२ औँ शताब्दीपछिको कुरा हो यो। त्यसपछि तन्त्रको नामबाट पशुबलि पनि प्रवेश पायो। तन्त्र पनि तीन प्रकारका छन्। सात्त्विक, राजषी र तामसी। तर, अहिले तामसीको प्रभाव र बाहुल्यता बढी देखिन्छ। किनभने त्यहाँ काटमार हुन्छ।

वैष्णवले सात्विकरुपमा दशैं मनाउँछन्। उनीहरूले मद्दमाशं लगायतका कुरालाई प्रोत्साहन दिँदैनन्। वैष्णवमा पनि श्रीवैष्णव, माध्ववैष्णव, रामानन्दी, कृष्णप्रणामी, ओम शान्ति समुदायले दशैं मनाउँछन्। तर, काटमार चल्दैन।

अहिले बिस्तारै आचार्य र गुरुहरूले पनि काटमार रोक्न अभियान नै चलाएका छन्। रामदेव, रविशंकर जस्ता दार्शनिक तथा चिन्तकले पनि पशुबलि निषेध हुनुपर्ने मान्यता लिएर प्रवचन दिन्छन्। काटमार ठीक छैन भनेर हामीकहाँ पनि अभियान चलिरहेका छन्। रक्तरञ्जित बनाउने होइन। ईश्वर र देवीप्रतिको साधना गरेर आफूले आफूलाई एक प्रकारले साँच्चै नै मानव रहेको जागृत गर्ने पर्वको रूपमा मनाउनुपर्ने हो।

काठमाडौंमै पनि पशुबलि दिइन्छ। दक्षिणकाली, भगवती बहाल, कालिकास्थान, शोभा भगवती, कालिन्चोक भगवतीमा बलि दिइन्छ। काटमारले पहिला पहिला बाटोमा हिंड्नसक्ने अवस्था थिएन। अहिले देवीको प्रतिमा भएको स्थानमा काटमारभन्दा नरिवल अपर्ण गरिएको देखिन्छ। उक्त सङ्ख्या बढ्दै गएका छन्।

अब काटमार होइन, शान्ति खोजिएको छ। काटमारले क्रूरता, निर्दयीता देखाउँछ। तर, मानव भनेको सर्वोत्कृष्ट प्राणी। तर, सर्वोत्कृष्ट प्राणीले गरिरहेको कर्म चाहिँ २१ औँ शताब्दी सुहाउँदो नभएको ठानेर पशुबलितर्फ आकर्षण घट्दै गएको हो। आजको परिस्थितिमा भने शान्तिबाटै विकास, उन्नति, प्रगति सम्भव छ बुझिएको छ। शान्तिको लागि मन्दिरमा जाने परम्परा छ। तर, मन्दिरमा रक्तरञ्जित भएपछि वधशाला हो या मन्दिर ठम्याउने सकिएन भने त भगवती, ईश्वरबाट उसले के प्रेरणा पाउने प्रश्न गर्ने जमात बढ्दै गएको छ।

पशुबलि निषेधको अर्को पनि वैज्ञानिक तर्क छ। संसारमा अहिले देखापर्दै आएका जति पनि महामारी छन्, पशुबाटै सरेका छन्। कोभिड पनि पशुबाटै आएको हो। उभिएन इन्फ्लुएन्जा, सार्स जस्ता रोगहरू मासुबाटै भएका छन्। त्यसले गर्दा धर्म/संस्कृतिको रूपबाट मात्रै हेर्नुभन्दा पनि अब चाहिँ वैज्ञानिक रूपबाट पनि खसी, बोका पाल्न खानलाई अन्न दिनुपर्‍यो। एक किलो मासु उत्पादन गर्न १६ किलो अन्न खपत हुन्छ। पाँचदेखि पाँच हजार लिटरसम्म पानी खपत हुन्छ। त्यही चिज यदि भोकमरी भएको ठाउँमा प्रयोग भयो भने मानव सेवा हुन्छ। मानवलाई बचाउन सकिन्छ। अर्कोतिर जङ्गलको विनाश हुन्छ। किनभने पशु पाल्न जङ्गल, वनस्पति विनाश गर्नुपर्छ। त्यसैले कतिपय परम्परामा देखिएका विकृतिलाई सुसंस्कृत बनाउने समय आएको छ। (संस्कृतिविद् डा. गोविन्द टण्डनसँग इश्वरचन्द्र झाले गाेरखापत्र अनलाइनका लागि  गर्नुभएको कुराकानीमा आधारित)

मङ्लबार, अशोज १८, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...