दशै

मायामितु न्याैपाने

माथि आकाशमा
बादलका सेता झुण्डहरू
नानीहरू सँगसँगै दौडिएझैँ लाग्छ
धमिलो मन बोकेर
ओरालो झर्ने नदी र खोल्सीहरू
प्रेम गीत गाउँदै सङ्लिएर बगेझैँ लाग्छ
झरीले निथ्रुक्कै भिजेर
गिजोलिएका खेतका गह्राहरू
धानका बाला झुलेर बेहुलीझैँ लाग्छन्
गजधम्म परेर बस्ने गोधुली
शारदॆ उमङ्ग ओढेर
जिन्दगीका सारा खुसीहरू मुस्कुराएझैँ लाग्छ !

यतिखेर
श्रमले गलेका मनहरू
पाकेका अनाजको सुगन्ध लिएर
जमरा टुसाउन आतुर छन
र वर्षौँवर्षदेखि टाडिएका प्रियजनहरू
हार्दिकता साँटासाँट गर्न
लामो यात्राको तैयारिमा जुटिरहेका छन्
लिङ्गेपिङमा झुलिरहेका नानीहरू
आफूमात्र झुल्दैनन्
आफू सँगसँगै सहकाल डाकिरहेका हुन्छन्
कमेरोले पोतेका घरहरू देख्दा
यस्तो लाग्छ कि :
आकाशमा होइन बस्तीमा इन्द्रेणी लागिरहेछ !

दशैं त एक पुनर्मिलन हो
प्रियजनको सम्झना
आफन्तको याद
ठुलाबढाको हातबाट टीका र जमरा
केही मिठो खानु
केही आशिर्वचनहरू पाउनु
विछोडिएकाहरू भेटिनु
सम्बन्धको ताजकीकरण हुनु
आखिर केही त बहाना चाहिन्छ
सायद,
दशैं त्यही एक बहाना हो !

टीका थापेर जमरा सिउरिनु
रोटेपिङमा फनफनी घुम्नु
लटरम्मै झुलेका खेतमा टहलिनु
गोजीमा चिउरा बोकेर
दौडिरहेका केटाकेटीहरू देखिनु
मेला बजारमा गएर
फूर्के धागो र टिकीहरू किन्नु
दौंतरीहरू मिलेर
रातभरि चोकमा चुड्किला मार्दै बस्नु
ओहो ! दशैं सम्झिँदै
यो मन फुरूङ्ङ भएर आउँछ
यस्तो लाग्छ
त्यो बालापन पुन: फर्कियोस्
र म पनि केटाकेटी बनेर
चच..हुई.. चच..हुई भन्दै पिङ खेल्न सकुँ !

बुधबार, अशोज १९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...