औषधि उपचारको जोहो गर्न ह्वीलचियरमा बसेर फलफूल बिक्री

-अमृत बास्कुने

बिहान जब उज्यालो हुन्छ अनि केही बेरपछि अम्मरबहादुर दमैलाई उनकी पत्नी जुनाले ह्वीलचियरमा बसाएर बेनी बजारको न्यूरोडमा पुर्याउँछिन् । बिहानै उठेर थोक बजारबाट मौसमी फलफूल ल्याएर डोकोमा मिलाएर राखिदिएपछि पति अम्मरलाई पनि डोकोको छेउमै ह्वीलचियरमा राखिदिने जुनाको नित्यकर्म हो । ह्वीलचियरमा बसेर दिनभर फलफूल बेच्ने अम्मरलाई साँझ परेपछि पुनः श्रीमतीले नै बेनी बजारको भाडाको कोठामा पर्याउँछिन् ।

२०३४ सालमा बेनी नगरपालिका–३ भकिम्लीमा जन्मिएका अम्मरका तीन छोरी र एक छोरा छन् । जेठी छोरीको विवाह भइसकेको छ भने १९ वर्षीया माइली छोरीले भकिम्लीमा रहेको घर कुर्ने गरेकी छन् । कक्षा ५ सम्म अध्ययन गरेका १६ वर्षको छोरो अहिले बेनीकै एउटा फ्रेस हाउसमा काम गर्छन् । १२ वर्षकी कान्छी छोरी बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।

वैदेशिक रोजगारीमा छँदा आउजाउ गरेका अम्बर २०७२ सालमा पक्षघात भएपछि ह्वील चियरको सहारा बिना हिँड्न नसक्ने अवस्थामा पुगे । त्यसपछि थला परेका अम्मरले स्वास्थ्य केही ठीक भएपछि २०७७ देखि फलफूल बेच्न थालेका हुन् ।

हुर्केकी एउटी छोरीको बिहे भइसके पनि अरु साना छोराछोरी र बिरामी श्रीमानको उपचार तथा औषधि खर्च जुटाउन जुनालाई निकै कठीन भयो । श्रीमतीको त्यहि पीडामा सकेको राहत पुर्याउन पछिल्लो दुई वर्षदेखि फलफूल बेच्न थालेको अम्मर बताउँछन् ।

‘सबै औषधि खान पाउनु भएको छैन, अलिकति स्वास्थ्य बिमाबाट आउँछ । थप पाँच हजार मुल्य बराबरको औषधि बाहिर किन्ने गरेकी छु,’ श्रीमतीले अगाडि भनिन्, ‘डोकोमा बोकेर घर घरमा डुलाएर बेच्न सके व्यापार राम्रो हुन सक्थ्यो । तर एकै ठाउँमा बसेर बेच्दा खासै बिक्दैन । तर पनि महिनामा पाँचदेखि सात हजार जति नाफा हुन्छ । त्यसैबाट औषधि किन्ने गरेको छु ।’

दैनिक औसत तीन सय जत्ति फाइदा हुने गरेको अम्मरको भनाइ छ । पक्षघात भएपछि बोलीमासमेत असर परेका उनी भन्छन्, ‘व्यापार भएको अवस्थामा चार पाँच सय पनि नाफा हुन्थ्यो । एकै ठाउँमा बसेर बेच्दा खासै धेरै व्यापार नहुँदा नाफा पनि थोरै हुन्छ ।’

अहिले बेनीमा मुस्ताङको स्याउको सिजन छ । अम्मरले मौसमअनुसारको फलफूल बेच्ने गरेका छन् । उपभोक्ताको आवश्यकताअनुसार आफूले केरा, अंगुरलगायत फलफूल नियमित बिक्री गर्ने गरेको अम्मर बताउँछन् ।

डेढ दशकअघि छोराछोरी पढाउनैको निम्ति बेनी बजार झरेकी जुनाले म्याग्दी उद्योग वाणिज्य संघले सुरु गरेको फोहोर व्यवस्थापन अन्तर्गत ट्याक्टरमा फोहोर उठाउने काम गरिन् । पछि संघले साविकको अर्थुङ्गे गाविसलाई ट्याक्टरसहित कामको जिम्मा लगाएपछि जुना पनि गाविसमा करार कर्मचारीमा भर्ना भइन् ।

सदरमुकाम वरपरका आठ वटा गाविस समेटेर बेनी नगरपालिका बनेपछि त्यतै सरुवा भएकी जुनाको करारको जागिर नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिएपछि खोसिएको हो । अहिले नगरपालिकामा बिहान ६ देखि १० बजेसम्मको समयभित्र सरसफाइ गर्ने जिम्मेवारीमा दैनिक हाजिरीमा काम गर्छिन् । त्यसवापत मासिक १० हजार रुपैयाँ पाउने गरेको बताउँछिन् ।

अहिले जुनाले बिहान नगरपालिकामा, दिउँसो बेनी बजारकै एउटा मार्ट र अन्य खाली समयमा भाँडावर्तन र कपडा सफा गर्ने काम गरेर आफ्नो परिवार चलाउने काम गर्दै आएकी छन् ।

शुक्रबार, अशोज २१, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...