मुस्ताङ्गको स्याउलाई विश्वमाझ चिनाउनु छ

-पद्मनाथ आत्रेय
पृष्ठभूमि
मुस्ताङ्गको स्याउको स्वाद थाहा नपाउने कमै नेपाली होलान् । हेर्दा आकर्षक रातो धर्सा परेको, वासना आउने, खाँदा एक प्रकारको छुट्टै आवाज आउने यी स्याउका विशेषता हुन् । पहिले यातायातको सुविधा नहुँदा घोडा, खच्चर र मान्छेले बोकेर मुस्ताङ्गका स्याउलाई पोखरासम्म पुर्याउन पनि गाह्रो थियो । त्यो समयमा कति स्याउ बोटमै कुहिन्थ्यो ।
अहिले सडक सञ्जालसँगै जिल्लामा आवश्यक पर्ने सामानको आपूर्ति तथा उत्पादित वस्तुको ढुवानी हवाईजहाज, हेलिकप्टर, बस, ट्रक, जीप, ट्रयाक्टरसँगै घोडा र खच्चरबाट पनि गरिन्छ ।
देशका विभिन्न शहरमध्ये पोखरा, काठमाडौं र भैरहवामा जोमसोमबाट यात्रुवाहक बस सेवा सञ्चालनमा आइसकेका छन् । यसले मुस्ताङ्ग जिल्लालाई आन्तरिक तथा वाह्य पर्यटकको निम्ति एउटा नयाँ गन्तव्य बनाइदिएको छ ।
विश्वमा स्याउ उत्पादन हुने युरोप र एसियाका कतिपय राष्ट्रहरु घुमेको बेलामा त्यहाँ उत्पादित स्याउको स्वाद लिने अवसर प्राप्त भयो । तर पूर्ण र परिपक्व भएपछि टिप्ने हो भने मुस्ताङ्गको स्याउको स्वाद अग्र स्थानमा नै रहने मेरो ठम्याई छ । नेपालको मध्य पहाडदेखि उच्च पहाडसम्म यसको व्यावसायिक खेती गर्न सकिन्छ । तर पानि हाल उच्च पहाडी क्षेत्रमा मात्रै यसको व्यावसायिक खेती हुँदै आएको छ । नेपाल वि.सं. २०६० सालदेखि नै विश्व व्यापार संगठनको सदस्य भइसकेको छ । तर आशातित रुपमा नेपालले यसबाट फाईदा उठाउन सकेको देखिँदैन ।
वर्तमान विश्वव्यापीकरणमा हामीले चाहेर वा नचाहेर पनि विश्वमा उत्पादित वस्तुको आयात वा निर्यातलाई रोक्न सकिँदैन । न्यून गुणस्तरीय उत्पादन विश्वमा मात्रै होइन, नेपालकै आन्तरिक बजारमा पनि बिक्री गर्न सहज छैन । यहाँ गुणस्तरीय भन्नाले स्याउमा हुनुपर्ने प्रजातीय विशेषताहरु (रङ्ग, आकार, गुलियो, अमिलोपन र अन्य पौष्टिक तत्वहरु) भएको, हेर्दा राम्रो, आकर्षक र विषादीको अवशेष नरहेको भन्ने हो । जसले मानव स्वास्थमा नकारात्मक असर नगर्ने सम्बन्धमा प्रष्ट र प्रमाणित हुनुपर्छ । विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने स्याउको उत्पादन गर्ने हो भने दिगो, गुणस्तरीय र ठूलो परिमाणमा उत्पादन गर्नेतर्फ ध्यान दिनु पर्दछ ।
वर्तमान अवस्था
नेपाल सरकारका विभिन्न योजना र नीतिहरूले स्याउ खेतीलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । दीर्घकालीन कृषि योजना (आ.व.२०५२–५३ देखि २०७२–७३), स्याउ आत्मनिर्भर कार्यक्रम (आ.व.२०६८–६९देखि २०७३–७४), बीस वर्षे कृषि विकास रणनीति (आ.व.२०७२–७३ देखि शुरुवात) फलफूल दशक (आ.व.२०७५–७६ देखी शुरुवात), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आ.व.२०७३÷७४ देखि शुरुआत) आदी हुन् । तर, योजना जति बनाइए पनि आशातित विकास भने हुन सकेको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०७७–७८ को तथ्याङ्कअनुसार नेपालमा स्याउ खेती गरिएको कुल क्षेत्रफल, उत्पादनशील क्षेत्रफल, उत्पादन र उत्पादकत्व क्रमशः १३,४६३ हेक्टर, ५,७०१ हेक्टर, ४८, ६११ मेट्रिक टन र ८.५३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । मुस्ताङ्ग जिल्लामा स्याउको कुल क्षेत्रफल, उत्पादनशील क्षेत्रफल, उत्पादन र उत्पादकत्व क्रमशः १,४४० हेक्टर, ५५० हेक्टर, ६,८४५ मेट्रिक टन र १२.४५ मेट्रिक टन–हेक्टर रहेको छ ।
नेपालमा स्याउको व्यापार निकै असन्तुलित र ऋणात्मक देखिन्छ । आर्थिक वर्ष २०७७–७८ मा मात्रै झण्डै ७ अबै बराबरको ताजा स्याउ आयात भएको देखिन्छ । यसले पनि उत्पादन गर्न सकियो भने बजार खोज्न अन्त जान नपर्ने स्पष्ट हुन्छ । नेपालमा प्रचुर सम्भावना रहेको स्याउ खेतीको वर्षेनी ठूलो परिमाणमा आयात गर्नु परेको तीतो यथार्थ अर्कोतर्फ छ ।
परम्परागत तरिकाबाट स्याउ खेती गर्दा धेरै समस्या देखिन्छन् । यसले स्याउ उत्पादन र उत्पादकत्व कम भएको कारण राष्ट्रिय मागलाई धान्न कठिन भइरहेको स्पष्ट हुन्छ । तसर्थ प्रतिइकाइ क्षेत्रफल बढी उत्पादन दिने प्रजातीका स्याउको बेर्नालाई उच्च घनत्वमा लगाएर स्याउको उत्पादन र उत्पादकत्वलाई बढाउनु आजको आवश्यकता रहेको छ ।
उच्च घनत्वमा स्याउ खेती
हालसम्म चलन चल्तीमा सिफारिस गर्दै आइएको स्याउको बिरुवा रोप्ने दूरी ५ देखि ६ मिटर हो । जसअनुसार प्रति हेक्टरमा औसत तीन सय वटा स्याउका बिरुवा अटाउँछन् । तर प्रति इकाइ जमिनमा धेरै स्याउका बिरुवा रोपेर स्थापना गरेको बगैंचालाई स्याउको उच्च घनत्वको बगैंचा पनि भनिन्छ । यसको प्रकार अनुसार तीन सयदेखि चालिस हजार बोट प्रति हेक्टर रोप्न सकिन्छ । तर नेपालमा हाल अति उच्च घनत्वमा विरुवा रोपणमा पनि दुई हजारदेखि पाँच हजार वटा बोट÷हेक्टर लगाउने गरेको पाइन्छ । यो प्रविधि विकसित देशमा धेरै पुरानो भए पनि नेपालमा यसको प्रयोग त्यति धेरै भएको छैन ।
प्रयोग र अवलम्बनको दृष्टिकोणले नेपालको निम्ति यसलाई नयाँ प्रविधि मान्न सकिन्छ । स्याउमा उच्च घनत्व बगैंचा सबैभन्दा पहिले युरोपबाट सन् १९६० देखि शुरु भएको हो । शुरुमा बगैंचा स्थापना गर्दा बढी खर्चिलो हुने भए पनि यसबाट कृषकले छिटो उत्पादन लिन सक्छन् । यो प्रविधिमा शुरुका छ वर्षसम्म बोटबिरुवालाई बढी तालिम र कम काँटछाँट गर्नुपर्ने हुन्छ ।
नेपालको स्याउ खेतीको इतिहासलाई हेर्दा बागवानी अनुसन्धान केन्द्र, राजिकोट, जुम्लाले वि.सं. २०६८ देखि विभिन्न १० किसिमका स्पर प्रजातिका स्याउ संकलन गरि अनुसन्धान थालिएको पाइन्छ । जहाँ क्ष्ऋक्ष्ःइम् को आर्थिक सहयोगमा (ज्क्ष्ःब्ीक्ष् एब्च् एचयवभअत) क्षेत्रीय बागवानी अनुसन्धान केन्द्र, मशोब्रा, शिमला र बागवानी अनुसन्धान केन्द्र, कान्दाघाट, सोलनबाट क्रेब एप्पलमा कलमी गरिएका १० थरी स्पर टाइपका स्याउ संकलन गरेर पाँच मीटरको फरकमा रोप्दै (४०० बिरुवा–हेक्टर) स्याउको अनुसन्धान गरिएको थियो ।
शीतोष्ण वागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्गमा आ. व. २०७२–७३ देखि भारतको हिमाञ्चल प्रदेशबाट फलफूल विकास निर्देशनालय, कीर्तिपुर मार्फत् ल्याइएका पाँचथरी जात (रेड ग्रेभिन्स्टिन, हनि क्रिस्प, गाला, फुजी र स्टार स्फर गोल्ड) लगाइएका छन् । त्यसैगरी निजी क्षेत्रमा व्यावसायिक रुपमा स्याउको उच्च घनत्व खेतीको शुरुवात मनाङको पिसांग–१, भ्राताङमा रहेको एग्रो–मनाङ प्रा.लि. ले वि.सं. २०७२ देखि गरेको हो । उक्त फार्मले २०७५ सम्म गोल्डेन डेलिसियस, गाला र फुजी जातका पुड्के रुट स्टकमा ग्राफ्टिङ्ग गरिएका स्याउका बेर्नाहरु तीन गुणा एक मीटरको दुरीमा तीन हजार तीन सय तेत्तिस बोट प्रति हेक्टर) लगाइएको थियो । हाल उच्च घनत्वमा स्याउ खेती मुस्ताङ्गलगायत मनाङ्ग, जुम्ला, सोलुखुम्बु आदी जिल्लामा विस्तार भइरहेको छ ।
मुस्ताङ्ग जस्तो उत्पादनशील क्षेत्रफल थोरै भएको ठाउँमा उपलब्ध जग्गाको सदुपयोग गरी बढीभन्दा बढी उत्पादन लिन उच्च घनत्वमा स्याउ खेती प्रविधि वरदान हुन सक्छ । मुस्ताङ्गको तथ्याङ्कलाई हेर्दा परम्परागत तरिकाबाट स्याउ लगाउँदा यहाँको उत्पादकत्व १२.४५ मे. टन. प्रति हेक्टर छ जुन प्रति बोट ४१.५ केजी हुन आउँछ । उच्च घनत्वमा स्याउ खेती गर्दा प्रति बोट २० के. जी. उत्पादन भएमा पनि उत्पादकत्व ६६ मेट्रिक टन प्रति हेक्टर हुन आउँछ । जुन परम्परागत तरिकाको स्याउ खेतीभन्दा पाँच गुणा बढी हुन आउँछ ।
विकसित देशको तथ्याङ्क हेर्दा ४०–५० के.जी. प्रति बोट सजिलै फलाउन सकिन्छ । हामीले शीतोष्ण बागवानी विकास केन्द्रका ५ वर्षे बोटहरुमा गत वर्ष गरिएको अध्ययनमा सरदर १८ के. जी. प्रति बोटसम्म उत्पादन भएको थियो । जुन ५९.९९ मेट्रिक टन प्रति हेक्टर हुन्छ । यसको आधामात्र उत्पादन लिन सकिएमा पनि हाम्रो निम्ति ठूलो उपलब्धी हुनेछ ।
अध्ययन अनुसन्धानका नतिजालाई हेर्दा यो प्रविधिमा बोटको उत्पादन ५ वर्ष देखि १७–१८वर्ष सम्म बढ्दै जाने र त्यसपछि घट्न थाल्छ । यो प्रविधिबाट स्याउ उत्पादन गर्दा बोटको उत्पादनशील आयु करिब २५ वर्ष मात्रै हुन्छ । हाल नेपाल सरकारले उच्च घनत्वमा स्याउ खेती प्रवद्र्धन गर्न विदेशबाट बिरुवा झिकाई कृषकहरुलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा उपलब्ध गराइरहेको छ । यसरी उपलब्ध गराउँदा पनि कृषकले बिरुवाकै लागी ठूलो धनराशी खर्चनु परेको छ । उता नेपाल सरकारले पनि विदेशी मुद्रा खर्चनु परेको छ । सरकारले दिने अनुदानको समयसीमा बारे पनि सोच्नु पर्ने बेला आइसकेको छ । भोलिका दिनमा अनुदान दिन नसकेमा त्यसको विकल्प के ? भन्नेबारे बेलैमा सोच्नु वाञ्छनीय छ ।
मुस्ताङ्गको विशेषता र स्याउ खेतीको सम्भावना
पूर्व पश्चिम फैलिएका विशाल अन्नपूर्ण हिम श्रृंखलाभन्दा उत्तरतर्फ अवस्थित हिमाल पारीको रमणीय दुर्गम जिल्ला गण्डकी प्रदेशका एघारमध्ये एउटा जिल्ला हो । यो धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित हिन्दु र बौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको निकै मनमोहक एवम् सुन्दर पनि छ ।
मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, पिण्ड तर्पणस्थल कागवेनी जस्ता धार्मिक तीर्थस्थल यसै जिल्लामा छन् । विभिन्न हिम श्रृङ्खलाहरु धौलागिरी, तिलिचो पिक, निलगिरी हिमाल, याककावा हिमाल, धम्पुस पिक पनि त्यहिँ छन् । यी सबै हिमाली चुचुराले विदेशी र स्वदेशी सबैलाई आकर्षण गरिरहेका छन् ।
यहाँ न्यूनतम तापक्रम माइनस १० डि.से. र अधिकतम तापक्रम २८ डि.से. सम्म पुग्ने गर्दछ । उचाई समुन्द्री सतहबाट न्यूनतम दुई हजार मिटर (कुन्जो गाउँपालिकाको पैह्रो थाप्लादेखि अधिकतम आठ हजार १६७ मिटर अग्लो धौलागिरी हिमाल सम्म छ ।
मुस्ताङ्ग पोखरादेखि करिव १५० किलोमिटर उत्तरतर्फ रहेको धार्मिक तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, स्याउको प्रचुर सम्भावना रहेको जिल्ला हो । कृषि पर्यटनको मिठो स्वाद चखाउँदै पोखरामा भित्रिएका पर्यटकलाई थप केही समय अड्याउन सक्ने गन्तब्य पनि बन्न सक्ने देखिन्छ ।
मुस्ताङ्गमा झण्डै छ दशकदेखि स्याउ उत्पादन हुँदै आइरहेको छ । वि.सं. २०२३ सालमा नेपाल सरकार र भारतीय सहयोग नियोगको संयुक्त प्रयासमा अर्चाड कम नर्सरी थाक मार्फाको नाममा हालको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा स्थापना पश्चात् नै मुस्ताङ्गमा औपचारिक स्याउ खेती हुन थालेको हो । हाल सरकारी निकायमा नै संघीय सरकारअन्तर्गत रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फा, गण्डकी प्रदेशअन्तर्गतको कृषिज्ञान केन्द्र, मुस्ताङ्ग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यान्वयन इकाई, मुस्ताङ्ग जस्ता तीन वटा कार्यालयले स्याउ खेती विकास र विस्तारका कार्यहरु गर्दै आएका छन् । योसँगै नयाँ कृषि उद्योग तथा स्याउ फर्महरु स्थापना हुने क्रम पनि बढ्दो छ ।
सम्भावनालाई हेर्दा सामुन्द्रिक सतहदेखि दुई हजार ५८६ मीटरको टुकुचे, कोवाङ्ग, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ हुँदै तीन हजार ८०० मीटरको लोमान्थाङ्ग वरपरका क्षेत्रमा स्याउ खेती गर्न सकिन्छ । दुई हजार ५३५ मीटरको लेतेमा अत्यधिक पानी पर्ने हुनाले यहाँको स्याउ गुणस्तरीय नहुने स्याउ उत्पादक कृषकहरु नै बताउँछन् ।
जिल्लाको कुल क्षेत्रफलको करिब १ प्रतिशत भूमिमात्र खेतीयोग्य भएको तथ्याङ्कले देखाउँछ । हिमश्रृंखलाको काख तथा हिमालपारीको जिल्ला भएकाले थोरै वर्षा हुन्छ । यहाँ समशीतोष्ण चिसो हावापानी, चिसो लेकाली हावापानीदेखि उच्च हिमाली हावापानी पाइन्छ । हिउँ पर्ने चिसो मौसम, धेरै घाम लाग्ने र कम वर्षा हुने ठाउँ गुणस्तरीय स्याउ उत्पादनको दृष्टिले अत्यन्तै राम्रो मानिन्छ ।
यहाँको हावापानी स्याउका प्रजाती र भौगोलिक अवस्थालाई मात्र उपयोग गर्न सक्ने हो भने पनि झण्डै छ महिना ताजा स्याउ उत्पादन गर्न सकिन्छ । आधुनिक प्रविधिसहितको उच्च घनत्वमा स्याउ खेती प्रविधिप्रति युवाहरु निकै आकर्षित छन् । उच्च घनत्वमा स्याउ रोपणका लागि आवश्यक विभिन्न पुड्का प्रजातिका रुटस्टक तथा धेरै फल्ने खालका स्पर स्याउहरु वर्षेनी भित्रिइरहेका छन् । स्याउ ताजा फलको रुपमा मात्र नभएर यसबाट ब्राण्डी, जुस, जाम, जेली, सुकुटीजस्ता प्रशोधित उत्पादन पनि बनाउन सकिन्छ ।
स्याउ खेतीका चुनौती
सिँचाई सुविधा नभएका सीमान्त भूमिमा बगैंचा स्थापना गरिनु, तारबारको कमी, कमजोर बगैंचा व्यवस्थापन, कृषि सामग्रीको अभाव, वर्षेनी फल फल्ने स्पर प्रकारका स्याउकाको अभाव हुनु, विभिन्न खालका रोग र कीराको प्रकोपका साथै टिपेपछि नष्ट हुनु (४४ प्रतिशतसम्म) लगायत परम्परागत स्याउ खेतीका समस्या हुन् । यस्तो अवस्थामा प्रति इकाइ क्षेत्रफलबाट धेरै उत्पादन लिनु मुख्य चुनौतीका देखिन्छ ।
मुस्ताङ्गमा निजी जग्गाको अभाव छ । प्रायः सबै जग्गा सरकारी भएका कारण कृषकहरुले निजी स्तरमा ठूला फार्म खोल्न सकिरहेका छैनन् । उच्च घनत्वमा स्याउ खेती गर्न गुणस्तरीय फिडर बिरुवा उत्पादन प्रविधिको अभाव छ । पुड्के रुट स्टक तथा भुवादार लाही कीरा अवरोधक रुट स्टकका जातहरु उपलब्ध छैनन् ।
हाल विदेशवाट आयात गरिरहेका विरुवामा प्रायः एम श्रेणीका रुट स्टक छन् जसले भुवादार लाही कीरा र फायर ब्लाइट रोग सहन सक्दैनन् । यसकारण भविष्यमा विकराल स्थिति नआउला भन्न सकिँदैन । उच्च घनत्वमा स्याउ खेतीको लागित नर्सरी तथा बगैंचा व्यवस्थापन प्रविधि पर्याप्त छैन । सरकारी कार्यालयमा प्राविधिक जनशक्तिको कमी छ । व्यापक प्रचार प्रसार हुन सकिरहेको छैन । उच्च घनत्वमा स्याउ खेती विस्तारका लागि आयातित स्याउका विरुवाको बिक्री मूल्य अत्यधिक बढी अर्थात् एक हजार १५० प्रतिबोट छ । अधिकांश कृषकले यस्तो महँगो बिरुवा खरिद गर्न र ट्रेलीस् सपोर्ट प्रणाली, थोपा सिँचाई तथा फर्टिगेसन प्रणाली स्थापना गर्न सक्दैनन् । पुड्के रुटस्टकमा कलमी गरेका स्याउका बिरुवाहरु भिराला, सिँचाई सुविधा नभएका र उर्बरशक्ति कम भएका ठाउँहरु उपयुक्त हुँदैनन् । तसर्थ उच्च घनत्व स्याउ बगैंचाहरु सिँचाई सुविधा भएका समथर जमिनमा मात्र रोप्नु पर्दछ ।
मुस्ताङ्गको स्याउ विश्वमाझ चिनाउन के गर्ने ?
मुस्ताङ्ग भन्नेबित्तिकै मुस्ताङ्गको स्याउ भनेर चिनिने खालका कार्यक्रमहरु स्याउ उत्पादक कृषक तथा समूह र सहकारीहरुले गर्ने । जतिसक्दो धेरै पर्यटकलाई स्याउ फल्ने र पाक्ने बेलामा भित्र्याएर प्रचार प्रसारका कामहरु गर्ने ।
स्याउ पाक्ने बेलामा आएका पर्यटकलाई स्याउबारीमा अवलोकन गराउँदै स्याउको बोटबाटै स्याउ टिपेर खान सकिने व्यवस्था मिलाउने । यसरी देश विदेशबाट आउने पर्यटकले बोटबाटै टिपेर खाँदा स्वाद झन् थपिन्छ । प्रचारप्रसारमा सहयोग पुग्छ ।
मुस्ताङ्गका स्याउ नपाक्दै टिपेर काठमाण्डौ पोखरा जस्ता शहरमा पुर्याउँदा अमिलो र पूर्ण गुलियो नभइसकेका स्याउले उपभोक्तामाझ नकारात्मक असर पारिरहेको छ । त्यसैले यसतर्फ ध्यान दिने र नपाकेका स्याउहरु नटिप्ने ।
मुस्ताङ्ग स्याउलाई एउटा ब्राण्डकै रुपमा विकास गर्ने । टुकुचेदेखि माथिल्लो मुस्ताङ्गसम्म पुग्दा जुनसुकै ठाउँमा एउटै ब्राण्डका स्याउहरु पाइने व्यवस्था मिलाउने । अन्य शहरमा लैजाँदा पनि एउटै ब्राण्ड नाममा लैजाने व्यवस्था मिलाउने ।
स्याउको ग्रेडिङ्ग, क्लिनिङ्ग तथा प्याकेजिङ्गमा विशेष ध्यान दिने । २ केजी, ५ केजी, १० केजीसम्मका प्याकहरुमा प्याकेजिङ्गको व्यवस्था मिलाउने । प्याकेजिङ्ग गर्दा अनिवार्य रुपमा लेबलिङ्ग गर्ने र मुस्ताङ्ग स्याउको लोगो स्टिकर लगाएर मात्र बिक्री वितरण गर्ने ।
विश्वव्यापीकरण र सूचना प्रविधिको कारण मुस्ताङ्गमा फलेको स्याउका बारेमा विश्वका कुना काप्चाका मान्छेहरुले सजिलै थाहा पाउँछन् । अहिले कृषकहरुका हात हातमा स्मार्ट फोन छन् । सामाजिक सञ्जाल मार्फत पनि धेरै सूचना दिन सकिन्छ । सर्वसुलभ र सबैले चलाउन सक्ने साधारण आधारभूत सूचना राखेर मुस्ताङ्गको स्याउको मोबाईल एप बनाउन सकिन्छ ।
उत्पादन र गुणस्तरमा ध्यान दिने, प्रमाणीकरण गर्ने र विश्वका बजारमा नेपाली स्याउलाई पुर्याउन सबै सरोकारवाला निकायले सहयोग गर्ने ।
प्राय विकसित मुलुकका उपभोक्ताले फलफूल, तरकारी र अन्य उपभोग्य वस्तुहरु किन्नु अगाडि त्यसको आधारभूत उत्पादन प्रविधि र विवरण जान्न चाहन्छन् । स्मार्ट फोनमा भएको स्क्यानरको सहायताले हरेक प्याकेटमा भएका क्युआर कोड स्क्यान गरेर थाहा पाउन सकिने बनाउने । यो प्रविधि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गत आ. व. २०७८–७९ देखि शुरु गरिसकेको छ ।
स्याउ भण्डारणका लागि स साना कोल्डस्टोर धेरै ठाउँमा बनाउने । यसले टिपेको ३–४ महिनासम्म ताजा स्याउ बिक्री वितरण गर्न सकिन्छ ।
स्याउ ढुवानीको बेलामा कुलिङ्ग भ्यान तथा ट्रकहरु प्रयोग गर्ने । यसले ढुवानीको समयमा अत्याधिक तापक्रमबाट हुने क्षतिलाई कम गर्दछ । यसको निम्ति उत्पादित क्षेत्रबाट भण्डारण वा बिक्रीस्थलसम्म पुर्याउन सरकारले यस्ता ढुवानीका साधनमा अनुदान दिने अथवा ढुवानी व्यवस्था मिलाउन जरुरी छ ।
बेमौसममा मुस्ताङ्ग घुम्न आउने पर्यटकलाई स्याउबाट उत्पादित प्रशोधित वस्तुहरु जस्तै स्याउको सुकुटी, ब्राण्डी, जाम जस्ता वस्तुहरु चखाउने र बिक्री वितरण गर्ने ।
ताजा स्याउ होस वा प्रशोधित त्यसको गुणस्तरमा विशेष ध्यान दिने । नियमित परीक्षण गर्ने र बिक्री वितरणको व्यवस्था मिलाउने ।
भावी कार्यदिशा
स्याउ खेती प्रवद्र्धनको निम्ति अध्ययन, अनुसन्धान, प्रसारका निकायहरु, वागवानी विज्ञहरु, कृषक र सरोकारवालाहरुबीच व्यापक छलफलका साथै आवश्यक सहयोग र सहकार्य हुनु आवश्यक देखिन्छ । स्याउ खेती प्रवद्र्धनको निम्ति मुस्ताङ्गमा उच्च घनत्वमा स्याउ खेती प्रविधि सहायक सिद्ध बन्न सक्छ ।
जिल्लामा भएको सीमित जग्गामा उच्च घनत्वमा स्याउ रोपण गरेर प्रति इकाई क्षेत्रफलबाट धेरै उत्पादन लिन सकिन्छ । स्याउ उत्पादनका सम्भावित सरकारी स्वामित्वका जग्गाहरु स्याउ उत्पादक कृषक समूह तथा सहकारीहरुलाई निश्चित वर्षको सशर्त उपलब्ध गराउन सकिन्छ । यसको नेतृत्व कृषि ज्ञान केन्द्रका साथै स्थानीय गाँउपालिकाहरु मार्फत हुनु पर्दछ ।
उच्च घनत्वमा स्याउ खेती रोपण गर्न उपयुक्त गुणस्तरीय विरुवा उत्पादन गर्न आवश्यक पहल गर्नुपर्दछ । हामीले संघीय तथा प्रदेशस्तरका स्याउ खेती हुन सक्ने बागवानी फार्म वा केन्द्रमा विरुवा उत्पादनको कार्यलाई महत्व दिनुपर्छ । सरकारका साथै निजी क्षेत्रलाई पनि यसतर्फ आकर्षित गराउने । यसको निम्ति हामीसँग पर्याप्त रुटस्टक टिस्युकल्चर प्रविधिवाट उत्पादन गरी त्यसमा स्पर जातका स्याउहरु ग्राफ्टिङ्ग गर्न सकिन्छ ।
रुटस्टकलाई माउण्ड लेयरिङ्ग विधि अपनाएर पनि बिरुवरा तयार पार्न सकिन्छ । तर यस विधिवाट धेरै संख्यामा उत्पादन गर्न कठिन हुन्छ । यसको निम्ति गत वर्षदेखि शीतोष्ण बागवानी विकास केन्द्र, मार्फामा दुवै विधिवाट विरुवा उत्पादनको प्रयास भइरहेको छ । यसको सफलताको लागि सबै अध्ययन अनुसन्धान तथा सरोकारवाला निकायहरुको सहकार्य जरुरी देखिन्छ ।
यसरी उत्पादित गुणस्तरीय विरुवा मुस्ताङ्गमा मात्र नभएर स्याउ उत्पादन हुन सक्ने देशका सबै ठाँउमा मागबमोजिम सस्तोमा बिक्री वितरण गर्न सकियो भने मुस्ताङ्गमा मात्र होइन देशमा नै स्याउ विकासले फड्को मार्न सक्छ । यसको लागि स्याउ उत्पादन हुनसक्ने सबै प्रदेशका प्रदेश सरकार, स्थानीय निकाय र संघीय सरकारबीच आवश्यक सहयोग र सहकार्य हुनुपर्ने जरुरी देखिन्छ ।
(शीतोष्ण बागवानी विकास केन्द्र, मार्फामा कार्यरत आत्रेय हाल अध्ययनकाे शिलशिलामा जापानमा रहेका छन् ।)

सोमवार, अशोज २४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...