को हुन् सी चिनफिङको दायाँबायाँ उभिएका ६ जना स्थायी कमिटी सदस्य?

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले आगामी पाँच वर्ष चीनमा शासन गर्नका लागि आफ्नो टिम चयन गरेका छन्। शनिबार सकिएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनबाट तेस्रो कार्यकालका लागि महासचिव बनेका सीले आइतबार ६ जना स्थायी कमिटी सदस्यहरू सार्वजनिक गरेका छन्।
यी ६ जनाले अब सीको निकट सहयोगीका रूपमा पाँच वर्ष काम गर्नेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटी महासचिवसहित सात सदस्यीय हुन्छ। त्यसमा परेका जाओ ली र वाङ हुनिङबाहेक अरू चार जना सीप्रति निकै बफादार व्यक्ति हुन्। सीले उनीहरूको वरीयता पनि आइतबार सार्वजनिक गरेका छन्।
ली छियाङ
ली छियाङ सांघाई प्रदेशका सचिव हुन्। ६३ वर्षका उनी सीका निकै विश्वासपात्र हुन्। सी जुच्याङ प्रदेशको पार्टी प्रमुखका रूपमा काम गर्दा लीले सँगै काम गरेका थिए। सांघाईमा लीले लिएको कोभिड नीति निकै विवादास्पद भएको थियो। यसले उनको आगामी राजनीतिक यात्रामा असर पर्ने आकलन भइरहेका बेला सीले उनलाई स्थायी कमिटीमा ल्याएका हुन्। वरीयतामा दोस्रो नम्बरमा रहेका उनी आगामी मार्चपछि चीनका प्रधानमन्त्री बन्ने छन्।
चाओ ल ची
६५ वर्षीय चाओ ल ची अनुशासन आयोगका अध्यक्ष हुन्। उनलाई चिनियाँ राजनीतिमा उदाउँदो ताराका रूपमा लिने गरिन्छ। चिंघाई प्रान्तको सरकारमा प्रवेश गरेसँगै उनी ४२ वर्षको उमेरमा त्यस प्रदेशको गर्भनर बनेका थिए। चाओ कम उमेरमै गर्भनर बन्ने व्यक्ति थिए। अनुशासन आयोगको अध्यक्षका रूपमा उनले धेरै वरिष्ठ कर्मचारीहरूलाई भ्रष्टाचारमा कारबाही समेत गरेका छन्।

वाङ हु निङ

६७ वर्षिय वाङ हु निङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयमा पहिलो वरीयताका सचिव हुन्। उनी प्राध्यापकसमेत थिए। उनलाई तत्कालीन राष्ट्रपति जियाङ जमिनले पार्टीमा स्थान दिएका हुन्। जेमिनले आफ्नो विज्ञ सल्लाहकारका रूपमा उनलाई नियुक्त गरेका थिए। राजनीतिक शास्त्रकै प्राध्यापक रहेका हिसाबले उनलाई कम्युनिष्ट पार्टीको मस्तिष्कका रूपमा लिइन्छ। चिनियाँ कम्युनिष्ट पार्टीले मुख्यत: तीन सिद्धान्तको आधारमा शासन गर्छ। जियाङ जमिनको वैज्ञानिक दृष्टीकोण, हु जिन्ताओको विकास मोडल र सी चिनफिङको विचारधारा। यी तीन कुरालाई उनैले फ्युजन गरेको बताइन्छ। चीनलाई एसिया, अफ्रिका र युरोपसँग जोड्ने उद्देश्यसहित चीनले अघि बढाइरहेको बेल्ट एण्ड रोड इनिसियटिभ्स उनकै प्रस्ताव रहेको बताइन्छ। उनी पार्टीका हरेक गुटमा उत्तिकै प्रभाव राख्ने व्यक्ति हुन्।
छाइ छी
६६ वर्षीय छाइ छी बेइजिङ सहरका मेयर हुन्। उनी सीका विश्वासपात्र समेत हुन्। कोरोना महामारीबीच बेइजिङले सफलतापूर्वक विन्टर ओलम्पिक सम्पन्न गरेको भन्दै उनको प्रशंसा हुने गरेको छ। तर बेइजिङमा जनसंख्या बढेको भन्दै न्यून आय भएका व्यक्तिहरूलाई सहरबाट अन्यत्रै धकेल्ने उनको योजना कारण उनी विवादमा समेत परेका थिए। सन् २०१७ मा निश्चित आयभन्दा कम आर्जन भएकालाई बेइजिङबाट अन्यत्र सार्ने योजना अघि सारेका थिए।
तिङ स्युए सियाङ 
६० वर्षीय तिङ स्युए सियाङ महासचिव तथा राष्ट्रपति कार्यालयका निर्देशक हुन्। उनी पेशाले इन्जिनियर थिए। उनी सांघाईमा रहेको सरकारी अध्ययन केन्द्रमा केही समय जागिरे थिए। सीका विश्वास पात्र भएकाले उनी छिट्टै पार्टीको उच्च पदमा पुगे। सन् २००७ मा उनी सीका स्वकीय सचिव थिए। सन् २०१४ मा उनी राष्ट्रपति कार्यालयका प्रमुख रहे। तिङ सी चिनफिङ विचारधाराका वकालत गर्ने व्यक्ति हुन्। सीसँग धेरै समय बिताउने नेताको सूचीमा उनी अग्रपंक्तिमा रहेका छन्।
ली सी
६६ वर्षीय ली सी ग्वाङ्दोङ प्रदेशका पार्टी प्रमुख हुन्। उनी सीप्रति निष्ठावान मानिन्छन्। उनलाई संकट समाधान गर्ने नेताको रूपमा लिइन्छ। उनी यनन सहरमा कार्यरत नेता रहेका थिए। सी पनि यनन सहरमा सात वर्ष काम गरेका थिए। ग्वाङ्दोङमा उद्योग, प्रविधि तथा अर्थतन्त्रको सुधारका लागि उनको भूमिका महत्वपूर्ण मानिन्छ।
(बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यबाट।)

आइतवार, कार्तिक ६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...