‘विदेशबाट बिदामा स्वदेश आउ तर जागिरै छाडेर घर नआउ, देशले जागिर दिँदैन’

तिहार सुरु भइसक्यो । के गाउँ के सहर झिलिमिली भएको छ । दशैँ मान्ने गरी घर फर्कनुभएका तपाईँहरू मध्ये कतिपय साथीहरू त विदेश फर्किसक्नुभयो होला ।

कतिपयको हिजोआजकै टिकट पनि होला । यसै त देश छाड्दा मन भारी हुन्छ । त्यसमाथि तिहार मनाउन नपाउँदाको पीडा पनि साथैमा लिएर परदेश उड्दा मन कति दुख्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ ।

कतिपयले भने दशैँ तिहार दुवै मनाउन पाउनुभएको होला । तर परदेशी साथीहरू अहिले नेपालमा चाडबाड मनाउन सजिलो छैन ।  परिवार, आफन्त नातागोता सबै सँगै भएर चाडबाड मनाउन पाउँदा मन त रम्छ नि । तर यहाँ महँगीले ढाँड सेक्छ ।

अलिअलि कमाएर बचाएको पैसा पनि चाडबाड मनाउँदै सकिने अवस्था छ । किनकि हाम्रो परम्परा अनुसार गर्नै पर्छ । रीतिरिवाज मान्न पनि अहिले त निकै गाह्रो परिस्थिति छ । परदेशबाट आएका यो गरौँला त्यो गरौँला भनेर ल्याएको पैसा सकिएर कतिपय साथीहरूलाई त चिन्ता सुरु भइसकेको पनि होला ।

गाउँघरमा अहिले चुनावी माहौल पनि सुरु भइसकेको छ । सहरमा रमाएर नेताहरू गाउँ गाउँ छिरेका छन् । फेरि उही पुरानो अनुहार । उही पुरानो आश्वासन । तर गर्ने केही होइनन् भन्ने कुरा त यसअघि चुनाव जितेरै पनि प्रमाणित गरिसकेका छन् । त्यसैले पनि होला हामी परदेशीलाई बल्ल बल्ल घर आउँदा उनीहरूको कुराभन्दा परिवारको साथ नै प्यारो लाग्छ ।

परदेशी भूमिमा लामो समय काम गर्दा थाकेको ज्यानले घर आउँदा आराम नै खोज्छ । परदेशबाट आउँदा देवी देवताको मन्दिर लगायत आफैँलाई मन पर्ने ठाउँमा परिवारसँग घुम्न जाने परदेशीको इच्छा हुन्छ ।

बिदामा आएका कतिपय परदेशीहरू बचेको समयमा गर्ने कुरो भनेको परदेश छोडेर, स्वदेशमा कसरी स्थापित हुने भन्ने पनि रहन्छ । आफ्नो देशमा आउँदाको रमाइलो क्षणले देशमै बस्ने अवस्था कसरी सृजना गर्ने भन्नेबारे साथीभाइसँग सल्लाह गरेको पनि देखिन्छ । तर स्वदेशमा भएकाहरूलाई भने विदेश नै जाने चाहना व्यापक छ । अर्कोतिर विदेशको दुःख बिसाएर फर्किएकाहरूको पनि कथा व्यथा उस्तै छ ।

स्वदेशमा बस्नेहरू यहाँ कमाइन्छ बचाउन सकिन्न भन्छन् भने, विदेशबाट आएकाहरू यहाँ कसरी कमाउने भन्ने कुरामा अलमल देखिन्छन् । अहिलेको अवस्थामा सजिलै कुनै नयाँ काम सफल हुने पनि देखिन्न । सफल हुन धेरै कठिन अवस्था छ ।

परदेशमा रोजगारी गुमाएर, समस्या भोगेर र देशमै केही गर्ने सपना देखेर फर्किनेहरूलाई सरकारले कुनै सुविधा दिएको छैन ।  बैङ्कले ऋण दिँदैनन् । विदेशबाट आएको रेमिट्यान्स बुझ्न बरु चासो देखाउँछन् । यही कारणले पनि हैरान भएर देशमै केही गर्ने सपना बोकेर विदेश छाडी फर्किएकाहरू पनि फेरि परदेशीने अवस्थामा छन् । यहाँ बेरोजगार भएर दिक्क भएकाहरू त झन् परदेश उड्न खुट्टा उचालेर बसेका छन् ।

यो अवस्थामा परदेशबाट घर आउने श्रमिक फर्केर फेरि गन्तव्यतिर जाँदा परदेशी साथीलाई के सन्देश लिएर जालान् त ? के यो अवस्थामा खाइपाई आएको परदेशको नोकरी छोडेर नेपाल कोही आउलान् त ? यो त पक्कै भन्न सकिन्न । म पनि यही भन्छु साथीभाइ बिदामा चाडपर्व मनाउन स्वदेश आउ तर हतारमा जागिरै छाडेर घर नआउ । देशले अहिले हामीलाई रोजगारी दिँदैन ।

आइतवार, कार्तिक ६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...