के महिला कचकचे नै हुन्?

यसो सुन्दा सतही लाग्ने तर अलि गहिरो कुरा गरौँ। ‘कचकच’ अर्थात् अङ्ग्रेजीमा न्यागिङ्। ‘बुढीले धेरै कचकच गर्छे’, ‘आमाले धेरै कचकच गर्नुहुन्छ’ भनेर आफन्त तथा साथीहरूले बेलाबखत यदाकदा भनेको तपाईंले सुन्नुभएकै होला। ‘महिलाको कामै कचकच गर्ने हो, शान्तिसँग बस्न नि दिँदैनन्’ भन्ने कुरा मैलेचाहिँ बुवा, काका, मामा आदिहरूको चिया गफका क्रममा पर्याप्त सुनेको छु। खासगरी बिहे भैसकेका केटा साथीहरूको जमातबीच पार्टी भइरहँदा कुनै साथीले ‘अलि बेर पार्टीमा बस् न’ भनेर अनुरोध गर्दा अर्को साथीको प्रतिक्रिया हुन्छ, ‘मलाई नि बस्न मन थियो नि, के गर्ने? बुढीले कचकच गर्छे, तेरो पो ब्या भाछैन। फेरि सधैँलाई भन्ने बाटो पाउँछे’, भन्छ। ‘मलाई त कचकच भन्ने शब्दको पर्यायवाची नै महिला हुन्’ कि जस्तो लाग्छ भन्ने पुरुष पर्याप्त भेटिन्छन्।

समाजमा ‘महिलाहरू कचकचे हुन्छन्’ भन्ने भाष्य यति बलियो छ कि महिला आफैँले आफैँलाई ‘महिला भएकै कारण कतै म कचकचे भएको हुँ कि!’ भनेर श‍ंका गर्दा हुन् जस्तो लाग्छ। महिलाहरूले नै अरू महिलालाई ‘यिनीहरू कचकचे छन्, यिनीहरू सुध्रनुपर्छ’ भनेको त मैले धेरै पटक सुनेको छु। मलाई पनि महिलाहरू कचकचे नै हुन्छन् कि जस्तो बेलाबखत लागिरहन्छ। तर अनुसन्धान र प्रतिष्ठित लेखहरूको निचोड यसमा के छ? के साँच्चै महिलाहरू आफैँमा कचकचे हुन्छन्? महिलाको मस्तिष्क नै त्यसरी विकास भएको हुन्छ त? जैविक रूपमा नै उनीहरू त्यस्तै जन्मिएका हुन्?

आग्रहको तेस्रो चरण कि कचकच!
विभिन्न सोधहरूले कचकच हुनका लागि तीन वटा खुड्किला पार गरेको हुनुपर्छ भनेका छन्। पहिलो खुड्किलो हो अनुरोध। जस्तै, केही गरिदेऊ न वा गरौँ न भन्ने बिन्ती। जब त्यही अनुरोध दोहोरिन्छ, त्यो ‘रिमाइन्डर’ (पुन:स्मरण) हो। याद दिलाउने या फेरि सम्झाउने काम हो त्यो। जब त्यही रिमाइन्डर दोहोरिन्छ, अब चाहिँ त्यो कचकच हुन जान्छ।

जस्तै, श्रीमतीले श्रीमानलाई नुहाएर प्रयोग गरिसकेपछि तौलिया (गम्छा) घाममा सुकाउन या कतै झुन्ड्याइदिन आग्रह गर्छिन् भने त्यो अनुरोध भयो। श्रीमतीको अनुरोध श्रीमानले पालना नगरेको अवस्थामा उनले केही बेरमा श्रीमानलाई ‘सुन्नुभयो?’ भन्छिन्। यो रिमाइन्डर हो। तर यति गर्दा पनि काम सम्पन्न नभएपछि उनले श्रीमानलाई भन्छिन्, ‘तपाईंलाई भन्नुभन्दा त आफैँ गर्नु बेस।’ यो चाहिँ कचकच भयो।

कचकच प्राय: घरपरिवारभित्रकै विषयमा हुने गर्छ। माथिको उदाहरणमा तौलिया सुकाउने बारेको ‘कचकच’ कचकच गर्ने व्यक्ति अर्थात् ‘न्यागर’लाई महत्त्वपूर्ण लाग्छ। तर सुन्ने व्यक्तिलाई भने सो विषय महत्त्वपूर्ण लाग्दैन।

विगतदेखि वर्तमानसम्मका नेपाली चलचित्रहरू हुन्, अहिलेका टिकटक भिडियो या कमेडीहरू नै किन नहुन्, धेरैजसोले कचकचे श्रीमतीका कारण नै श्रीमानहरूले दुःख पाउँछन् भन्ने सन्देश दिन्छन्। पात्रको चित्रण त्यसरी नै गरेको देखिन्छ। अझ घरेलु हिंसाका घटनाहरूमा पीडकले या पीडकमैत्री समाजले हिंसा अथवा आमरूपमा लोग्नेले स्वास्नी कुट्नुको कारण स्वास्नी कचकचे हुनु हो जस्तो देखाइन्छ।

ग्लोबल हेल्थ एक्सन २०२० मा प्रकाशित एउटा अनुसन्धानले बताएजस्तै नेपालमा अझै पनि धेरै मान्छेहरू ‘महिलामाथिको घरेलु हिंसाको कारण उनीहरू आफैँ हुन्, उनीहरू आफैँले निम्त्याउँछन्’ भन्ने ठान्छन्। लोग्नेको दिनहुँजसाे कुटाइ खाने मेरै गाउँकी काकीहरूलाई पनि हाम्रा आमाहरूले ‘धेरै कचकच नगरी बस, लोग्नेलाई रिस नउठाऊ’ भनेर सम्झाएको मैले पर्याप्त देखेकी छु। मेरै घरमा पनि मेरा दाजुले जहाँ लुगा खोल्नुभयो, त्यहीँ छोडेर हिँड्नुहुन्छ। तर त्यो कुरा भाउजूले पटकपटक सम्झाउँदा उहाँलाई चित्त पर्दैन। स‌ंसारकै कुरा गर्दा घरको हेरचाह गर्ने, बूढाबूढीको स्याहार गर्ने, भान्छा सम्हाल्नेलगायत सारा गृह व्यवस्थापनको जिम्मा मुख्यतः महिलाकै हुन्छ।

पुरुष किन कचकचे हुँदैनन्? 
बाहिर या घरको मात्रै काम गर्नुपर्ने अवस्थामा महिलाहरू घरभित्रका सबै कुरा व्यवस्थित हुन् भन्ने ठान्दा हुन्। आफूले नभ्याएर वा महिनावारी बार्दा खाना नपकाएको बेला श्रीमानले खाना पकाएका दिन उनीहरूको चासो रहन्छ, कमसेकम भान्छा सुँगुरको खोरजस्तो नहोस्। भन्नै नपर्ने अवस्था सिर्जना गरे या एकै पटकको अनुरोध स्वीकारे ‘दोस्रो व्यक्तिको दिमाग खाने गरी’ किन उनीहरू कचकच गर्दा हुन् र? यति भन्दै गर्दा हामीले यो पनि याद राख्न जरुरी छ कि, व्यवस्थापनको भूमिकामा भएका व्यक्तिहरू प्राय: सबै कचकचे नै हुन्छन्। हाम्रा बाउआमा पनि त हामीलाई ‘पढ पढ’ भनेर कचकच गर्नुहुन्थ्यो। आमा मात्रै कचकच गर्नुहुन्थ्यो र?

मानौँ, आमाले मात्रै कचकच गर्नुहुन्थ्यो रे, हाम्रा बाले पनि ‘छोराछोरीलाई पढाइनस्, संस्कार सिकाइनस्’ भनेर पछि आमालाई हकार्ने र कचकच गर्ने त फेरि बाउ नै हुन्। श्रीमानको अनुरोध महिलाले मान्नुपर्ने अनि नमानेको खण्डमा महिला नै अनुशासनहीन, अटेरी या मात्तेकी हुने तर पुरुषले नमानेका अवस्थामा चाहिँ महिला कचकचे हुने कुरा कसरी मिल्यो र?

ल मानौँ, कचकच गर्नु महिलाकै समस्या हो रे। बिना काम उनीहरू कराइरहन्छन् रे। तर उनीहरू किन त्यसो गर्दा हुन् त?

आज पनि धेरै नेपाली घरहरूमा हाम्रा बाहरूको टाउको दुख्यो भने नसोधीकनै आमाहरूले मालिस गरिदिने र चिया पकाएर ल्याइदिने गरिदिन्छन्। तर झिसमिसेमै उठेर घरको सबथोक गर्ने आमाले ‘टाउको दुख्यो’ भनेर उम्कन पाउँदिनन्। त्यसो त अलिअलि मात्रै दुःखेको छ भने त उनी आफ्नो दर्दभन्दा नि भन्दिनन्। कुनै काम गरिरहेका बेला बच्चाले दिशा पिसाब गर्‍यो भने बाउले आफ्नी श्रीमतीलाई बोलाउँछन् सरसफाइ गर्न र कपडा फेरिदिनका लागि।  मानौँ, उनीहरूले बच्चाको सरसफाइ गरिदिए त उनीहरूको हातै झर्दो हो। यो आम दृश्य हो। तर यहाँ महिलाहरू कचकच गर्दैनन्।

बाहिर काम गर्ने महिलाले घर फर्केपछि पनि धेरै काम भ्याउनुपर्ने हुन्छ। घर र अफिसको कामले व्यस्त भएर आफन्तका विभिन्न कार्यमा (जस्तै व्रतबन्धको अघिल्लो वा सोही दिन बिहान सेल रोटी पकाउन, विवाहमा मण्डप लिप्न, विभिन्न पूजाआजाका पूर्वतयारी गर्न, टपरी गाँस्न) सहयोग गर्न नजाँदा ‘फलानी त आफन्तहरूको वास्ता पनि गर्दिनँ, हाम्रोमा आउन खोज्दिनँ’ भनेर सुन्नु पर्छ।

शक्ति सम्बन्ध
त्यही ठाउँमा पुरुष हुँदो हो त ‘बरा, उसको काम कडा छ, भ्याउँदैन, केटाकेटीलाई नि समय दिनै पर्‍यो’ आदि भनेर सजिलै स्विकारिन्छ। सबै थोक गर्दागर्दै, दुनियाँका अनेकौँ कुरा कटाइ सुन्दासुन्दै प्राय: पुरुषहरूले चिहाउनै नपर्ने पत्रपत्र भित्रका हजारौँ काम सम्हाल्ने महिलाहरूले कदरका दुई शब्द सुन्न पाउँदैनन्। यस्तो अवस्थामा पनि तिनलाई तनाव हुँदो हो। त्यहीँबाट पनि कचकच जन्मँदो हो।

तनाव र कचकचकै आलोकमा आत्महत्या दरलाई जोडौँ।  स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा प्रजनन उमेरका (१५ देखी ४९ वर्ष) महिलाहरूको मृत्युको एक प्रमुख कारण आत्महत्या हो। अध्ययनहरूका अनुसार कम उमेर समूह र विवाहित महिलामा नेपालमा आत्महत्याको दर बढी रहेको पाइएको छ। सन् २०१६ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले महिला आत्महत्या मृत्युदरमा नेपाललाई दक्षिण एसियामा तेस्रो स्थानमा राखेको थियो। महिलाहरूले आत्महत्या गर्नुका धेरै सम्भावित कारणमध्ये विभिन्न वैवाहिक तथा पारिवारिक कारणले तनाव हुनु पनि प्रमुख हो।

अब हामी आफैँ विचार गरौँ, महिलाहरूको भावनात्मक स्वास्थ्य कस्तो होला? यस्तो अवस्थामा उनीहरू कसरी शान्त भएर बसुन् या कचकच नगरुन्? त्यसको अर्थ, महिलाहरूले धेरै कचकच गर्नु उनीहरूको चारित्रिक या प्राकृतिक खोट होइन, यो निर्मित हो। यसका तार्किक कारणहरू छन्। समाज व्यवस्थाले महिलालाई कचकचे बनाउनेतर्फ पर्याप्त भूमिका खेलेको छ। वैवाहिक संस्थाले महिला र पुरुषबीच सम्पत्तिमा समानता स्थापित गरेको छैन। सामाजिक मान्यताहरूले स्वतः पुरुषलाई मालिक र महिलालाई सेवक बनाएको छ। सोही कारण पनि श्रीमतीले भनेका कुराहरू सहजै मान्नुपर्ने दबाब श्रीमानहरूमा छैन।

पितृसत्ताबाट पाएको शक्तिले श्रीमानहरू श्रीमतीले अह्राएका वा अनुरोध गरेका कुरालाई त्यति महत्त्वपूर्ण या जरुरी सोच्दैनन् र टारिरहन्छन्। लोग्नेस्वास्नी दुवै घर बाहिरको काम फर्केपछि श्रीमती सहजै खाना बनाउन अघि सर्छिन्। तर लोग्नेहरूले घरको काम गर्थे र महिलाले लोग्नेका कुरा सुनेको नसुनेझैँ गरेर टारिदिन्थे, वास्ता नगरिदिन्थे या ‘यो बुढो कराइरहन्छ’ भनेर मोबाइल स्क्रोल गरेरै बस्थे भने उनीहरू पनि कचकचे नै ठहरिन्थे होला नि, होइन र?

अतः महिलालाई कचकचेको उपाधि एकलौटी रूपमा थमाउनुअघि यसका कारणहरू जान्नु वेश हुन्छ। सामाजिक-पारिवारिक प्रेसर र असन्तुलनले कचकच उत्पादन गरेको हो भन्ने तथ्य ख्याल गर्दै त्यसलाई कम गर्नेतर्फ लागौँ। चल्तीमा छ भन्दैमा आफ्ना आमा, दिदी, बहिनी, भाउजू र श्रीमतीहरूलाई कचकचे नभनौँ।

साभार https://www.ukaalo.com/opinion/221110-nagger-why-women-nag/923?

शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...