इमान्दार एवं अनुभवी एमाले नेता गर्बुजा

२०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङमा जन्मिएका यामबहादुर गर्बुजा म्याग्दीको परिवर्तनको आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ । जनप्रिय मावि दरबाङबाट माध्यमिक शिक्षा हासिल गर्नुभएका गर्बुजाले पोखराको पृथ्वीनारायण क्याम्पसबाट शिक्षा शास्त्र सङ्कायमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । २०४१ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौंमा आबद्ध हुँदै राजनैतिक यात्रा सुरु गर्नुभएका गर्बुजा २०४२ सालमा पार्टीमा युवाहरुको सङ्गठन वाईएलमा पनि आबद्ध हुनुभएको थियो ।
२०४४ सालमा पृथ्वीनारायण क्याम्पस शिक्षा सङ्कायको प्रारम्भिक कमिटी सदस्य भएर गर्बुजाले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हकहित र अधिकारका निम्ती आवाज उठाउनुभएको थियो । विद्यार्थी राजनीतिको समयमै गर्बुजाले क्याम्पसमा लोकप्रिय विद्यार्थी नेताको रुपमा परिचित हुनुहुन्थ्यो । २०४३ भदौ १ गतेदेखि करिब ४ वर्षसम्म शिक्षण पेशा अङ्गाल्नुभएका गर्बुजाले जागिरे जीवनको छोटो त्यो समयलाई पनि विद्यालय र विद्यार्थीको परिवर्तनका निम्ती उपलव्धिमूलक बनाउनुभएको थियो ।
२०४८ सालमा शिक्षक सङ्गठनको जिल्ला सदस्य हुनुभएका गर्बुजा २०५१ सालमा म्याग्दी–काठमाण्डौ सम्पर्क मञ्चको संस्थापक सदस्य हुँदै २०७० सालमा अध्यक्ष भएर सफलताको साथ कार्यसम्पादन गर्नुभएको थियो । २०७३ सालमा नेकपा एमाले अञ्चल कार्यसमितिको कोषाध्यक्ष भएर पार्टीको सङ्गठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निभाउनुभएको छ । २०७५ सालमा नेकपा एमालेको गण्डकी प्रदेश सम्पर्क कमिटी सदस्य तथा २०७७ सालमा गण्डकी प्रदेश कमिटी सदस्य हुनुभएका गर्बुजा पार्टीको एक अथक सिपाही बनेर राजनैतिक यात्रालाई अनवरत रुपमा अगाडि बढाइरहनुभएको छ ।
जीवनको ५३औं वसन्तमा घुम्दै गर्नुभएका गर्बुजाले जिल्लाको विकास र परिवर्तनमा जीवन समर्पण गर्ने अठोट लिनुभएको छ । विपद्को समयमा होस् वा विकास निर्माणको काममा निगरानी गर्न, खबरदारी गर्न गर्बुजाले अग्रसरता देखाउनुभएको छ । सामाजिक सेवाको भावनाले ओतप्रोत भएका गर्बुजाले विदेशमा ज्यान गुमाएका म्याग्देलीको शव नेपाल ल्याउन पहल गर्नेदेखि लिएर विदेश तथा नेपालमा समेत दुःख, बिमार तथा अप्ठ्यारो अवस्थामा रहेका थुपै्र म्याग्देलीको समस्यामा हातेमालो गरेर म्याग्देलीहरुको मन जित्नुभएको छ ।
२०७५ साल फागुनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारका महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाको प्रमुख स्वकीय सचिवको रुपमा दुईवर्ष काम गर्नुभएको थियो । उहाँ स्वकिय सचिवको रुपमा रहँदा जिल्लामा बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्न भूमिका निभाउनुभएको थियो भने मन्त्रालयका गतिविधिहरु नजिकबाट नियालेर अनुभव समेत बटुल्नुभएको छ ।
२०७९ भदौमा सम्पन्न लोकतान्त्रिक मगर संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित भई गर्बुजाले आफ्नो मगर समुदायको संस्कार, संस्कृति, पहिचान र अस्तित्वका लागि रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहनुभएको छ । म्याग्देली माटोमा जन्मिएर सामाजिक सचेतनाको आन्दोलनमा अग्रपङ्तिमा लाग्नुभएका नेता गर्बुजा राजनैतिक यात्रामा सक्रिय हुनुहुन्छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गर्बुजा प्रदेशसभा क्षेत्र (२)बाट प्रदेशसभा सदस्यको उम्मेदवारको रुपमा हुनुहुन्छ ।
मंगला, मालिका, र धवलागिरी गाउँपालिका समेटिएको प्रदेश निर्वाचन क्षेत्रबाट उहाँको मुख्य प्रतिस्पर्धीमा पाँचदलीय गठवन्धनबाट नेकपा माओवादीका जिल्ला संयोजक समेत रहनुभएका रेशम जुग्जाली (सुविन) उम्मेदवार हुनुहुन्छ । स्थानीय निर्वाचनमा दुईवटा पालिका अध्यक्ष, उपाध्यक्ष र ९ वटा वडा जितेको एमालेको सङ्गठन मजबुत भएकाले पनि आफ्नो जित सुनिश्चित रहेको उम्मेदवार गर्बुजाको भनाइ छ । करिब ३८ वर्षको राजनैतिक यात्रामा कहीँकतै कसैसँग पनि विवादित नबनी सबैसँग मित्रवत व्यवहार गरी उच्च नैतिकता र छवि बनाएकाले पनि भोट आउने आशा गर्बुजामा छ ।
एमालेको सरकार हुँदा सो क्षेत्रको सडक, पर्यटन, शिक्षा, भौतिक निर्माण लगायतको क्षेत्रमा राम्रो काम भएकाले पनि जनताले म र हाम्रो पार्टी एमालेलाई विश्वास गरी भोट दिनेछन् भन्ने कुरामा म विश्वस्त रहेको उम्मेदवार गर्बुजाले सुनाउनुभयो । आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन, सडक लगायतमा तीनै तहको सरकारसँग समन्वय गरी विकासका गतिविधिहरु सञ्चालन गर्ने उम्मेदवार गर्बुजाको प्रतिबद्धता छ । बेनीदेखि दरबाङ, मराङ, मल्कबाङ, कुईने, ठाडाखानी, पाखापानी हुँदै पुनः बेनी जोड्ने सडकलाई स्तरउन्नति गरी बाह्रै महिना सञ्चालन हुने गरी रिङरोड सञ्चालन गर्ने, मालिकाको ओखरबोट लगायतको स्थानमा रहेका तामाखानी र रुमको (स्लेट) ढुङगाखानी सञ्चालनमा ल्याएर स्थानीयलाई स्वरोजगार बनाउने गर्बुजाको योजना छ ।
एक पालिका एक छात्रावास (करिब २०० क्षमताको) सञ्चालन गरी त्यस पालिकाका गरिब तथा विपन्न र अनाथ बालबालिकाहरुलाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाउने, एक पालिका एक सुविधासम्पन्न अस्पताल निर्माणकार्य सञ्चालन गर्ने, जलविद्युत उत्पादनलाई मेघा प्रोजेक्टको रुपमा विकास गर्ने, धौलागिरि हिमालको आधारशिविर जाने पदमार्गलाई व्यवस्थित बनाउने र आवश्यक पूर्वाधार निर्माण गरी पर्यटन विकासमा टेवा पु¥याउने, पालिकाका केन्द्र जोडने तथा पालिका भित्रका मुख्य–मुख्य सडकहरुलाई कालोपत्रे गर्ने, मंगलाको टोड्के, झाँक्रीपानी, चिनाकोट, चाङ्गा, मालिकाको दुरलेक, बाराहीताल, भाले बास्नेताल, गाइखर्कताल, धवलागिरीको ताकमकोत, मुना मालिकाधुरी लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि योजना निर्माण गर्ने र कार्यान्वयनका लागि पहल गर्ने लगायतका एजेन्डा गर्बुजाको रहेको छ ।
जिल्लाको विकास, परिवर्तन र नगरिकहरुको समृद्धि चाहने नेकपा एमालेका पाका र अनुभवी नेता गर्बुजालाई प्रदेशसभा (२)मा र नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई सूर्य चिन्हमा मतदान गरी भारी मतको साथ विजयी गराउनका लागि नेकपा एमाले निर्वाचन परिचालन कमिटी प्रदेश (२)ले मंगला, मालिका, र धवलागिरि गाउँपालिकावासी सम्पूर्ण महानुभावहरुमा हार्दिक अपिल गरेको छ ।

बिहिबार, मंसिर १, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...