लैङ्गिक हिंसाको विरुद्ध बेनी अस्पतालमा दीप प्रज्ज्वलन (फोटोफिचर)

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बेनी अस्पताल म्याग्दीको आयोजनामा आज (आइतबार) दीप प्रज्ज्वलन गरिएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित अस्पताल परिसरमा दीप प्रज्ज्वलन गरी अभियान मनाइएको हो ।
बेनी अस्पताल म्याग्दीमा कार्यरत डाक्टर, स्टाफनर्स र स्वास्थ्यकर्मीहरुको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दीप प्रज्ज्वलन गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा (No Gender Based Violence) लेखेर दीप प्रज्ज्वलन अर्थात् (क्यान्डिल बालेर) अभियान मनाइएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले जानकारी दिनुभयो ।
सोही अवसरमा अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC)का प्रमुख समेत रहनुभएका डा. आचार्यले सन् १९६० मा डोमिनिकन गणराज्यमा महिला तथा मानव अधिकारकर्मी तीन दिदीबहिनीहरुको क्रुर शासकले निर्ममतापूर्वक हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै त्यसैको विरोधस्वरुप १९९१ देखि विश्वका विभिन्न देशहरुमा महिला हिंसा विरुद्ध १६ दिने अभियान मनाउन थालिएको बताउनुभएको थियो ।
नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आइएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा यसलाई विश्वभर मनाउँदै आएको पाइन्छ ।

सोमवार, मंसिर १९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...