नेपाल हिन्दु अधिराज्य थियो । २०६३ को अन्तरिम संविधानले नेपाल राज्य धर्मनिरपेक्ष हुने भनेको थियो भने २०७२ मा जारी संविधानले पनि धर्मनिरपेक्ष राष्ट्र नै बनाएको हो । आज इसाई धर्मका अनुयायीहरू सौहार्दता तथा खुसीयालीको चाड क्रिसमस मनाउँदै छन् । संसारभरी धेरै देशहरूमा एकै दिन अर्थात् आजैको दिन चारैतिर सार्वजनिक विदा हुने गर्दछ । नेपाल सरकारले पनि आजको दिन सार्वजनिक विदा दिएर इसाई धर्मावलम्बीको सम्मान गरेको छ । देश, विदेश सबैतिर धेरैजसो ठाउँमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटो बीचको यो पर्व क्रिसमसका धेरै पाटाहरू हिउँसँग जोडिएका पनि हुन्छन् । इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् वा पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु यशुको जन्मदिन हो ।
हामीले मनाउने कुनै पनि चाडपर्व वा दिवसको आ–आफ्नै महत्व छ । त्यस्तै महत्वपूर्ण दिन आजको दिन पनि हो । विभिन्न प्राचीन युरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने गरिन्थ्यो । समयसँगै आजको दिनलाई क्रिसमसको रूपमा मनाउन थालिएको हो । इस्वी संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसको रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । तर अधिकांश देशहरुले भने २५ डिसेम्बरलाई नै क्रिसमसको रुपमा मनाउँदै आएका छन् । इस्वी सम्वतलाई क्राईसको जन्म अगाडि र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । क्रिसमसको उपलक्ष्यमा संसारभर उपहारहरू साटासाट गरिँदै क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ ।
अंग्रे्रेजी पढ्दा हामी नेपालीहरू सबैले ए फर एप्पल, बी फर बल भनेर पढेका हौँ । यसैक्रममा पछिल्लो समयका बालबालिकाहरुलाई एक्स फर एक्समस ट्रि पनि पढाइएकै छ । हेर्दा सानो धुपीको जस्तो देखिने मिलेको यो रुख अर्थात् क्रिसमस–ट्री आजको दिनमा प्रायः देखिन्छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद–बिक्री गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरू तयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ । चाडबाडमा परम्परागत रूपमा जनावरहरू मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरू खानका लागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरू चर्नलाई पठाउन गाह्रो हुने र गोठालाहरूले काटेर घाँस वा पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरू काटेर संख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेख भएको पाइन्छ ।
आइतवार, पुस १०, २०७९ मा प्रकाशित