
म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा हुन लागेको म्याग्दी महोत्सवको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने महोत्सव आगामी माघ ७ गतेसम्म सञ्चालन हुँदैछ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ १० दिनसम्म चल्ने महोत्सवको विभिन्न फरक पाटाहरु पक्कै छन् । तर पनि मूल ध्येय भनेको पर्यटन र व्यापार नै हो । ऐतिहासिक महत्व बोकेको नगरी बेनीबजारमा परापूर्व कालदेखि नै मेला हुन्थ्यो । तर ती मेलाहरु के कस्ता थिए भन्दा पनि ऐतिहासिक महत्वलाई निरन्तरता स्वरुप आयोजना हुने महोत्सवले विगतको इतिहासको जगेर्नासँगै निरन्तरता पनि त हो । ऐतिहासिक पर्वत राज्यको राजधानी समेत रहेको बेनीमा हुने मेला महोत्सवले भोटसँगको व्यापारिक नाकालाई पनि थप उजागर गर्नुपर्छ ।
नेपालमा बाईसे–चौबीसे राज्यको पालामा, राणाशासन र पञ्चायकालदेखि नै म्याग्दी जिल्ला व्यापारिक नाकाको रुपमा रहेको जिल्लाका रुपमा चिनिन्छ । हिमाली जिल्ला मुस्ताङबाट जाडो छल्नका लागि मुस्ताङीहरु र तराईवासी नागरिकहरु दुवैले आ–आफ्नो ठाउँमा उत्पादन भएका सामानहरु लिएर म्याग्दीमा व्यापार गर्न विगतका समयमा आउने गर्दथे भन्ने मान्यता रहेको छ । सोही समयमा बेनीमा दुई–तीन दिसम्म सामान साटासाट र खरिद–बिक्री गर्नका लागि व्यापार मेला लाग्ने जानकारहरुको भनाइलाई आधार मान्ने हो भने पनि यो समय सान्दर्भिक नै हो । हिमाली क्षेत्रमा भेडाको ऊनबाट उत्पादित राडीपाखी, कम्बल, बक्खु तथा तराई क्षेत्र र भारतमा उत्पादन भएका सामानहरु लिएर एकापसमा व्यापार गर्ने गरिन्थ्यो । म्याग्दीमा परम्परागत रुपमा हरेक वर्ष माघी पर्वको अवसरमा विशेष मेला तथा जात्रा लाग्ने गर्दथ्यो । सोही मेलाको अवसरमा स्थानीय कृषक एवं उद्यमीहरुले आफूले उत्पादन गरेका स्थानीय उत्पादनहरु मेलामा ल्याउने गर्दथे र त्यहीँ बिक्री गर्ने गर्थे ।
मेला लाग्दै आएको बेनीमा पहिलोपटक २०६० सालबाट म्याग्दी महोत्सव सुरु गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको अगुवाइमा महोत्सव लगाउन सुरु भएको थियो । पछि २०६३ सालमा पनि पुनः दोस्रो म्याग्दी महोत्सव आयोजना गरियो । महोत्सवलाई निरन्तरता दिने क्रममा २०६५ सालमा संघका पूर्व अध्यक्ष सुर्यप्रसाद मर्सानीको पालामा तेस्रो म्याग्दी महोत्सव, पूर्वअध्यक्ष कुविरकुमार श्रेष्ठको पालामा २०६८ सालमा चौथो म्याग्दी महोत्सव, संघका पूर्व अध्यक्ष जीवनबहादुर विश्वकर्माको पालामा २०७१ सालमा पाँचौं म्याग्दी महोत्सव, निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यको पालामा छैटौं र अहिले सातौं म्याग्दी महोत्सवको आयोजना भैरहेको छ । महोत्सवलाई रमाइलो भन्दा पनि मूल उद्देश्यसहितको नारा पुरा गर्नका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलोस् । यसका लागि महोत्सव सफलताको हार्दिक शुभकामना !
बिहिबार, पुस २८, २०७९ मा प्रकाशित