माहुरीको घार बिक्रीबाट वार्षिक ८ लाख आम्दानी

पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार माहुरी चराउँदै आउनुभएको छ । सुर्केमेलाका व्यावसायिक माहुरीपालक कृषक ४२ वर्षीय खत्रीले माहुरीको घार बेचेर वार्षिक करिब ८ लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।

केसी २१ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्सको दुबई शहर पुगेर दुई वर्ष बिताएर फर्केपछि दुई वर्ष यतै बसेर २५ वर्षको उमेरमा मलेसिया उड्नुभएको थियो । मलेसियामा तीन वर्ष बसेर २८ वर्षको उमेरमा फर्केर सुर्केमेलामा सुन्तला खेती सुरु गर्नुभयो । बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर व्यवसायमा लाग्नुभएको उहाँले हाल माहुरीको घारसँगै कागती एवम् सुन्तला जातका फलफूल उत्पादन गर्दै आउनुभएको छ ।

केसीले बार्षिक माहुरी तथा घारबाट करिब १० लाखको कारोबार गर्दैआएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “तीन वर्ष अघि एक सय घार बिक्री गरेको, त्यसपछि एक सय १५, गतवर्ष एक सय ४२ माहुरीसहित घार बिक्री गरें ।” प्रतिघार माहुरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उहाँको भनाइ छ ।

केसीको भनाइका आधारमा गतवर्ष माहुरीसहितको घारबाट मात्रै उहाँले आठ लाखभन्दा बढी मुनाफा कमाउनुभएको छ । यस वर्ष चरन क्षेत्रमा राखेको ७९ घार माहुरीले दुई सय ५० केजी मह उत्पादन गर्ने अपेक्षा लिएको उहाँको भनाइ छ । रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार माहुरी चरनमा राखिएकाे छ ।

प्रत्येक घारमा माहुरीले सरदर तीनदेखि चार केजीसम्म मह उत्पादन गर्ने हुँदा सो परिणाममा मह बिक्री गर्ने केसीले बताउनुभयो । ताजा मह एक हजार रुपियाँदेखि एक हजार तीन सय रुपियाँ प्रतिकेजीका दरले बिक्री गर्नेगरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार माहुरीसहितको घारको १० हजार, माहुरी मात्रै ५ हजार, खाली घार मात्रै ३ हजार पाँच सयमा बिक्री हुन्छ । त्यस्तै खाली घार लिएर आएकालाई चार फ्रेम माहुरी हाल्दिएको ५ हजार पाँच सय रुपियाँ लिनेगरेको उहाँको भनाइ छ ।

पाँच वर्ष लामो वैदेशिक रोजगारीबाट फर्केर २८ वर्षको उमेरदेखि सुरुमा बङ्गुरपालन, त्यसपछि भैँसी, माछा, कुखुरापालनसँगै सुन्तला खेती गर्नुभएको थियो । पछिल्लो सात वर्ष अर्थात् ३५ वर्षको उमेरदेखि दुई घार माहुरीबाट पाल्न सुरु गरेको पेशामा आफू रमाएको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले केही वर्षअघि सानो मोडेल फर्म अन्तर्गत अनुदान प्रदान गरेपछि भने त्यसले ठूलो मात्रामा व्यावसायिक तबरले अगाडि बढ्न सजिलो भएको उहाँको अनुभव छ । एक छोरा र छोरीलाई नीति विद्यालयमा पढाउँदै गर्नुभएका केसीको श्रीमान श्रीमती दुवैजना माहुरी पालनमै स्वरोजगार भएकोमा खुशी भएको बताउनुहुन्छ ।

बुधबार, माघ ४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...