म्याग्दी कप–२०७९ लिग फुटबल हुँदै

म्याग्दीको बेनीमा आगामी चैत १ गते देखि म्याग्दी कप–२०७९ लिग फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप–२०७९ व्यवस्थापन समिति बेनी म्याग्दीको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा हुने लिग फुटबल १० गते सम्म चल्ने बेनीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ । व्यवस्थापन समितिका संयोजक बिक्रम सुवेदीले म्याग्दी जिल्ला भित्रका ८ सहित १० क्लबको सहभागिता रहने फुटबल प्रतियोगितामा दुई पोल बनाएर प्रतियोगिता स्रञ्चालन गर्ने बताउनुभयो ।

दुवै पोलका प्रत्येक क्लबले चारचार खेल खेले पछि शिर्ष दुई क्लब फाइनल प्रवेश गर्नेछन् । फाइनल बिजेता टोलीले नगद एक लाख १५ हजार र दोश्रो हुनेले ७० हजार रुपियाँ नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिा सञ्चालनका लागि जिल्ला खेलकुद विकास समितिले उचित सहयोग गर्ने अध्यक्ष दिनेश खत्रीले बताउनुभयो । जिल्ला भित्रैका क्लबहरु बीचमा १० दिन सम्म चल्ने फुटबलले खेल पर्यटनलाई पनि टेवा पुग्ने र खेलाडी पहिचानका लागि महत्वपूर्ण हुने अपेक्षा लिन सकिने उहाँको भनाई थियो ।

सात लाख रुपियाँ लागत अनुमान गरिएको प्रतियोगिता नाइन ए साइड खेलाइने जिल्ला खेलकुद विकास समिति म्याग्दीका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । म्याग्दी जिल्लाबाट विगतमा फुटबल खेलेर सक्रिय खेलजिवनबाट बिश्राम लिएका खेलाडीहरुको सक्रियतामा जिल्लामा अखिल नेपाल फुटबल संघ(एन्फा)को शाखा ल्याउने हेतुले यो प्रतियोेगिताको परिकल्पना गरिएको विश्वकर्माले बताउनुभयो ।

फुटबल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकीले प्रतियोगितामा सहभागि प्रत्येक क्लबबाट १४ जना खेलाडी दर्ता गर्नु पर्ने र त्यसमा तीन जना मात्रै जिल्ला बाहिरका खेलाडी राख्न पाइने बताउनुभयो । प्रतियोगिता पछि म्याग्दी जिल्लाको फुटबल टिम छनौटका लागि पनि कोशेढुङ्गा बन्ने उहाँको भनाई थियो ।

शुक्रबार, फाल्गुन १९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...