बैंकहरू अपाङ्गमैत्री नहुँदा फरक क्षमता भएका सेवाग्राहीहरू समस्यामा

नेपाल बैंक लिमिटेड बेनी शाखामा चेक लिएर पुग्नु भएका सुरेन्द्र केसीलाई बैंकका कर्मचारीले चेकमा हस्ताक्षर गर्न भन्दा उहाँले चेकमा हस्ताक्षर गर्न सक्नु भएन । सामान्य भन्दा केही अग्ला हुने बैंकहरूको क्यास टेलरमाथी चेक राखेर हस्ताक्षर गर्न उहाँलाई मुस्कील नै हुन्छ । अपाङ्ग संघ म्याग्दीका सचिव केसीका दुवै हातको कुहीनो नजिकै देखि छैन ।

बेवारीसे बम विष्फोट हुँदा दुवै हात गुमाएका उहाँले हरेक पटक बैंकमा पुग्दा आफूले उक्त समस्या भोग्नु परेको सुनाउनु हुन्छ । एक्लै जाँदा समस्या भए पछि अन्य सहयोगी लिएर पुग्नु पर्ने बाध्यताबाट उहाँ मुक्त हुन पाउनु भएको छैन ।

नेपालको संविधानको धारा ४२ को उपधारा ३ मा अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ भन्ने उल्लेख भए पनि बैंक तथा बित्तिय संस्था सम्म पहुँच पुग्नै मुस्कील छ ।

आम नागरिक अनि राज्यको मुख्य काम बैंक सँग जोडिने भए पनि तिनै बैंकहरूमा सबै प्रकारका व्यक्तिहरूको पहुँच नपुग्दा समस्या हुने गरेको छ । आम जनताको पहुँचमा त छैन नै बैंकहरू त्यसमाथि पनि अपाङ्ग मैत्री हुन नसक्दा भने झनै समस्या हुने गरेको छ ।

अपाङ्ग संघ म्याग्दीका सचिव केसीले अपाङ्गमैत्री नहुँदा अपाङ्गहरूलाइ निकै समस्या भएको बताउनुभयो । बैंकहरूले सबै क्षमतावान वा अपाङ्गता नभएका मात्रै आउने जस्तो प्रकृतिको संरचना बनाएको हुने हुनाले पनि समस्या भएको छ । राज्यले तोकेको मापदण्ड पुरा गरीदिएको खण्डमा अपाङ्गहरूलाई सहज हुने उहाँको भनाई छ । मेरो दुबै हात गुमेको छ मैले दुई हातले कलम अड्याएर सिग्नेचर गर्ने हो र त मुस्कील छ भने ह्वीलचियर प्रयोग गर्नेले कसरी सक्लान् ? उहाँ प्रश्न गर्नुहुन्छ ।

अधिकांश बैंक तथा बित्तिय संस्था माथिल्लो तलामा हुदाको समस्या अनि अपाङ्गहरूलाई असहज हुने खालका संरचनाले निकै सास्ती भोग्नु परेको उहाँको अनुभव छ ।

२०६८ सालको जनगणनालाई आधार मान्ने हो भने म्याग्दीमा छ हजार एक सय २२ जना अपाङ्गता भएका नागरिक रहेका छन् । अपाङ्ग संघ म्याग्दीको तथ्याङ्क अनुसार म्याग्दीमा एक हजार पाँच सय ९१ जना शारिरीक अपाङ्गता, न्युन दृष्टि आठ सय २४, पूर्ण दृष्टिबिहिन ९५, बोलीमा समस्या भएका सात सय ४७, मानसिक दुई सय ४७ तथा अन्य विबिध पक्षका अपाङगता भएका गरी उल्लेखित संख्यामा अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

तीन वटा सरकारी बैंक र अन्य नीजि क्षेत्रका बैंकहरूको म्याग्दी सदरमुकाम बेनी बजारमा शाखा रहेका छन् । तीन मध्ये नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको शाखा भने माथिल्लो तलामा छ । कृषि बिकास बैंकको शाखा भुइतल्लामा भए पनि बैंक भित्र प्रवेश गर्नका लागि सिडि चडेर जानु पर्दा ह्वील चियर प्रयोग गर्नु पर्ने अपाङ्गहरू प्रवेश गर्न कठिन हुन्छ ।

शारिरीक रूपमा दुरूस्त हुने भए पनि बहिराहरूले प्रयोग गर्ने सांकेतिक भाषाको ज्ञान बैंकका कर्मचारीलाइ नहुदा पनि समस्या हुने गरेको सचिव केसीको भनाई छ । बहिराहरूले भनेको नबुझीदिदा सेवाग्राही र बैंक दुवैलाई सास्ती हुने उहाँको बुझाई छ ।

निजी क्षेत्रका बैंकहरू माछापुच्छ्रे, ग्लोबल आइएमइ, प्रभु, एनएमबी, प्राइम बैंक तथा गरिमा, ज्योती बिकास बैंक लगायतका बैंकहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूले सहज पहुँच पुर्याउन सक्दैनन् । एनएमबी बैंक, कुमारी बैंक, ज्योती विकास बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, प्राइम बैंकका बेनी बजारमा रहेका शाखाहरू माथिल्लो तलामा छन् । भर्याङ चडेर जान पर्ने उक्त बैंकहरूमा अपाङ्गहरूले सहज तबरले सेवा लिन सक्दैनन् । बैंकको सुविधा लिन बैंक भित्रै पुगेर मात्रै नभएर एटिएम मेसीनमा समेत फरक क्षमता भएका नागरिकहरूको पहुँच पुग्न सक्दैन ।

सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक नवराज ढुंगानाले आफ्नो बैंकले नागरिकको अनुकुलता अनुसार सेवा दिएको बताउनुभयो । उहाँले भन्नुभयो सामाजिक सुरक्षा भत्ता गाउँघरमै पुगेर वितरण गर्ने गरेको र अन्य अवस्थामा पनि आफ्नो बैंक माथिल्लो तलामा भए पनि भुई तलामै आएर ग्राहकको आवश्यता र स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर सेवा दिने गरेको बताउनुभयो ।

जेष्ठ नागरिक तथा अपाङ्गहरूलाई भनेर स्थान तोकीएको भए पनि अपाङ्ग मैत्री नै सुविधा भने नभएको एनएमबी बैंकका शाखा प्रवन्धक दिनेश सुवेदीले बताउनुभयो । हामीले प्राथमिकता राखेर काम गर्ने र यदी अपाङ्ता भएका र जेष्ठ नागरिकहरू आएको खण्डमा अप्रेसन म्यानेजरले तत्काल काम गरेर पठाइदीने गरेको भए पनि छुट्टै अपाङ्मैत्री भने नभएको बताउनुभयो । छुट्टै लाइन बस्नु पर्ने र कुर्नु पर्ने हुदैन तर अपाङ्गमैत्री नै ठ्याक्कै छैन सुवेदीले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार छुट्टै टेलर राखिएको भए पनि त्यहाँ कर्मचारी भने हुँदैनन, यदी अपाङ्ता भएको र त्यो टेलरबाट सुविधा लिने भनेर आएको खण्डमा अन्य काम छाडेरै भए पनि त्यहाँको सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने गरिएको बताउनुभयो ।

शुक्रबार, फाल्गुन २६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...