सम्वन्धहरूको उचाईमा सगरमाथा,
सन्ततीका हरेक सुख दुखमा सँगै हिंड्न सक्ने,
उकाली ओरालीहरूकी आत्मिय साथी,
अनन्त सुख र श्रृष्टिको शुरूवात्,
माया र ममता की खानी,
सच्चा धर्ती हुन् आमा !
आमा शब्द नै प्यारो,
आमाको काख प्यारो, बोली अनि हाँसो प्यारो,
आमाको ताली पनि प्यारो, गाली पनि प्यारो,
आमासँगैको विहानी प्यारो, साँझ प्यारो,
आमाको हप्काई अनि थर्काई सबै प्यारो,
प्यारोको अर्को अर्थ हुन् आमा ।
पढाईलेखाई भन्दा धेरै माथी,
बिश्वविद्यालयहरूको ज्ञान भन्दा धेरै उत्कृष्ट,
आकाशभन्दा साह्रै फराकिलो,
जन्मनुभन्दा अगाडि देखिको अगाध प्रेम,
जीवनको शुरूवात् अनि अन्त्य सम्मको स्नेह,
शीतल कल्पवृक्ष हुन् आमा ।
चर्को धुपको शीतल छहारी,
चहर्याउने घाउको मल्हमपट्टी,
आँत सुकेको वेलाको सिरसिरे बतास,
कड्याङ्ग्रिने जाडोको न्यानो काख अनि स्पर्श,
विश्राम दिने, दु:ख विसाउने चौतारी,
अनुपम उपमा हुन् आमा ।
आमा उषाका किरण हुन्,
आमा हरेक विहानी हुन्,
अन्धकार हटाई उज्यालो छर्ने ज्योती हुन्,
श्रृष्टि गर्नसक्ने सुकोमल फूल हुन्,
सन्तानकालागी पहरेदार गर्न सक्ने काँडा हुन् ,
अथाह सम्भावनाका मुहान हुन् आमा ।
बिहिबार, बैशाख ७, २०८० मा प्रकाशित