पश्चिमाञ्चल क्याम्पसमा ड्रोन प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा । इञ्जिनियरीङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, जियोम्याटिक्स इञ्जिनियरीङ्ग विभाग, अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रले विश्वविद्यालय अनुदान आयोग (युजीसी) को आर्थिक सहयोगमा ३ दिने ड्रोन प्रशिक्षण कार्यक्रम १५ गते सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जियोम्याटिक्स इञ्जिनियरीङ्गको बहुआयामिक क्षेत्र र यसका उपयोगिताबाट गण्डकी प्रदेशमा सूचना बैंक र परियोजना अनुसन्धान कार्यक्रमहरु जि टु जि मोडलमा विश्वविद्यालयका क्याम्पस तथा अनुसन्धान केन्द्रहरुसंग सहकार्य गर्ने योजना रहेको बताए । यस प्रकारका प्राविधिक तालीम कार्यक्रमले अध्ययन, अनुसन्धान र व्यासायिक कार्य गर्न सहयोगी हुने भएकोले तालीम कार्य प्रशंसनिय रहेका बताए ।

प्रशिक्षण सत्रमा यस क्षेत्रका अनुभवी प्रशिक्षक ई. दिनेशमणि भण्डारी, शिव पोखरेल र जियोम्याटिक्स इञ्जिनियरीङ्ग विभागका विभागिय प्रमुख उप प्रा. विकास शेरचनद्वारा प्रशिक्षण दिइएको थियो । प्रशिक्षकहरूले आ–आफ्नो ज्ञान र विशेषज्ञता व्यक्त गर्नुका साथै सहभागीहरूलाई ड्रोन टेक्नोलोजी, यसको उपयोग र व्यावहारिक कार्यान्वयनबारे प्रशिक्षित गराए ।

उक्त ड्रोन प्रशिक्षण कार्यक्रममा पोखरा विश्वविद्यालय, पोखरा बन क्याम्पस, पृथ्वी नारायण क्याम्पस (भूगोल विभाग) का आमन्त्रित ५० जना शिक्षक, विद्यार्थी र अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले ड्रोनको प्रयोगद्धारा हुने सर्वेक्षण, नक्शाङ्कन र डाटा सङ्कलनका लागि यस प्रशिक्षण कार्यक्रम प्रभावकारी रहेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

यस कार्यक्रमको समापन समारोहका प्रमुख अतिथी गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. तुलसीराम भट्ट्टराईले विद्यार्थीहरुलाई यस्तै किसिमका प्रशिक्षण दिइनु पर्ने र स्नातकोत्तर तहका विद्यार्थीको शोधपत्र तथा प्रोजेक्टका कार्यहरु प्रदेशका परियोजनामा संलग्न गराई सम्बन्धित क्षेत्रको ज्ञान आर्जन गर्ने कार्यमा सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।

पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख ई.निर्मल प्रसाद बरालले यस किसिमको प्रशिक्षण कार्यक्रम क्याम्पसले गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताउँदै कार्यक्रमको समापन गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रका निर्देशक डा. कृष्ण प्रसाद भण्डारीले गरेका थिए ।

मङ्लबार, जेष्ठ १६, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...