-आत्रेय पद्म
साँघुरा बाटाहरू,
फराकिलो मन ।
घोडाका टापहरूसँगै,
आत्तिएको तन,
बस्याक लेक (५४५० मि।) बाट,
क्षितिज नियाल्दा,
जव तिमी देखिन्छ्यौ
टलक्क टल्केको दामोदर हिमाल,
थपक्क बसेको उपत्यका,
अनि तिम्रा दिव्य स्वरूपहरू ।
बलौटे फुस्रा, पाखा र पखेराहरू,
नाउर अनि फ्याउ मुसाहरू ।
देच्याङ खोला,
थुम्का, पाटन र हरिया झारहरू,
रङ्गिविरङ्गि फूलहरू,
अनि पवित्र कुशहरू,
सेता पातला बादलका मलमले घुम्टोहरू,
देवलोक, भु-सागर,
चिसो वातावरण,
मन्द हावा, मन्द प्रकाश अनि झरी,
भृकुटि हिमाल,
रमाईरहेका मनहरू, नाचिरहेका हृदयहरू ।
मेरो समिपमा तिमी,
भेट्ने उत्कट ईच्छा,
खुसियाली अनि काउकुतीहरू ।
तिर्थालुहरूको साथ,
मिश्रित खुसी अनि थकान
अलौकिक सौन्दर्यहरू ।
थपक्क बसेका कुण्डहरू,
दुधकुण्ड, सुनकुण्ड अनि चक्रकुण्ड ।
अनुपम सुन्दरता,
शालिनता अनि पवित्रता ।
भु-स्वर्ग अनि स्वर्गिय आनन्द,
शालग्रामको काख,
बिष्णुको भगवानको सानिध्य,
झरि परिरहेको चिसो रात,
दिव्य देव भूमि दामोदर कुण्ड ।
साधु मनहरू,
बलियो अठोट अनि आँटहरू,
छोटो, मिठो तर दरिलो साथहरू,
दिव्य देव भूमि दामोदर कुण्ड ।
मुस्ताङ्ग (मुक्तिक्षेत्र)
२०८०/०४/०३
बिहिबार, साउन ४, २०८० मा प्रकाशित