बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध

पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरवाङ सडक खण्ड आइतबार दिउँसोदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । तातोपानीका स्थानीय बासिन्दा एवम् तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्व अध्यक्ष वीरेन्द्रमान शाक्यका अनुसार आइतबार १ बजेदेखि सुरु भएको सुख्खा पहिरो नरोकिँदा सवारी सञ्चालनमा समस्या भएको छ ।

उहाँले भन्नुभयो, ‘पहिरो लगातार झरिरहेको छ, रोकिने कुनै सम्भावना नै देखिँदैन, त्यसैले सडक खुलाउने प्रयास गर्नु पनि जोखिम भयो ।’ मङ्गला गाउँपालिका –२ सिमलचौर र बेनी नगरपालिका –४ तातोपानीको सिमाना क्षेत्र पर्ने घुमाउने भिरमा पहिरो जाँदा बेनी नगरपालिका –४ तातोपानीमा अध्ययन गर्न आउने सिमलचौरका विद्यार्थीले मङ्गला गाउँपालिका –३ पखेर हुँदै वैकल्पिक मार्ग प्रयोग गरेका छन् ।

त्यस्तै, सिमलचौर क्षेत्रबाट बेनीमा अध्ययनका लागि आउने विद्यार्थीलाई पनि सडक बन्द हुँदा समस्या भएको शाक्यको भनाइ छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुवरले हिजोदेखि लगातार पहिरो झरेकाले सडक खुलाउन समय लागेको बताउनुभयो । आज खुल्ने सम्भावना छैन, पहिरो रोकियो भने भोलिसम्म सडक खुल्न सक्छm, उहाँले भन्नुभयो ।

मङ्लबार, भदौ २६, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...