भूकम्प प्रभावितहरु राहतको पर्खाइमा

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते आएको भूकम्पको कारण पीडित तथा प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका भूकम्प प्रभावितहरु राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरुले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन ।

त्रिवेणी गाउँपालिकाले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार  १ हजार ९ सय ३५ घर पूर्णरुपमा क्षति भएका छन् भने १ हजार २ यस ५८ घर आंशिक रुपमा क्षति भएका छन ।
प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तीका अनुसार गाउँपालिकाका प्रभावितहरुले हालसम्म कुनै पनि निकायबाट राहत पाउन सकिरहेका छैनन् । पालिकामा एक्लै विपद्को सामना गरिरहेको जानकारी दिनुहुँदै एक्लैले मात्र त्यो सम्भव नरहेको उहाँले बताउनुभयो । सयाैँ घरपरिवार विस्थापित भएर बसिरहेको उहाँले बताउनु भयो ।

उहाँका अनुसार सयौँ घरपरिवारहरु त्रिपाल तथा टेन्ट नपाएर खुला आकाशमुनि चिसो रात बिताउन बाध्य भएका छन। चिसोको कारण बालबालिका र जेष्ठ नागरिकहरुमा स्वास्थ्य समस्या बढ्न थालेको बताउनुभयो ।

हालसम्म गाउँपालिकामा युनेस्कोले २० ओटा त्रिपाल र सशस्त्र प्रहरीले २६८ ओटा त्रिपाल मात्र उपलब्ध गराएको छ । गाउँपालिकाले प्रभावितहरुलाई राहतको व्यवस्था गरिदिन विभिन्न निकायहरुलाई अनुरोध समेत गरेको छ ।

चौरजहारी नगरपालिकामा राहत वितरण

भूकम्पमा परेर भौतिक क्षति बेहोरेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कात्तिक २१ गते राहत वितरण गरिएको छ ।

वडा नम्वर १ देखि वडा नम्वर १४ सम्म राहत वितरण गरिएको हो । नगरपालिकाभर १ हजार ९ सय भन्दा बढी परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार नगरपालिका भरीमा हालसम्म १ हजार ९ सय ४० थान त्रिपाल, १ हजार ३ सय ८५ थान कम्बल, १४ रोल म्याटका साथै दैनिक उपभोग्य खाद्य सामाग्री वितरण गरिएको हो । भूकम्प प्रभावितहरुलाई चामल, नुन, तेल, दाल लगायतका राहत सामाग्री वितरण गरिएको हो ।

वितरण गरिएका राहत सामाग्रीहरु मध्य चौरजहारी नगरपालिका आफैले केहि खरिद गरेको हो भने कर्णाली प्रदेश सरकार, रेडक्रस, असद ईन्टरप्राईजेज, मानव विकास तथा सामुदायिक सेवा नेपाल, सशस्त्र प्रहरी बलले सहयोग गरेका हुन ।

राहत वितरणमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, उप प्रमुख ईश्वरी शर्मा बिएम, जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न सहयोगी निकाय प्रतिनिधिहरु लगायतको सक्रियता वितरण भएको हो।

भूकम्पबाट मृतक परिवारलाई राहत स्वरुप किरिया खर्च प्रदान

भूकम्पमा परी मृत्यु भएका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च उपलब्ध गराएको छ ।

आठविसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठविसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो ।

मृतकका परिवारलाई किरिया कर्म गरिरहेका सबैलाई सम्बन्धित स्थानीय तहले २५ हजार रुपियाँको दरले किरिया खर्च  दिएको निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार किरिया खर्चसँगै राहत समेत उपलब्ध गराइएको छ । नगर प्रमुख रबि केसी र उप प्रमुख धनकुमारी शाहीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीका अनसार भूकम्पको कारण मृत्यु भएका १२ जना मृतकका घरमा पुगेर २५ हजार रुपियाँको दरले किरिया खर्च र राहत सामाग्री बुझाइसकिएको छ । अन्य पीडितहरुलाई पनि तिब्र रुपमा राहत वितरण गरिने उहाँले बताउनुभयो।

इन्सेक अनलाइनबाट

बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...