निर्मल पुर्जाले लिनुभयो गैर आवासीय नागरिकता

 हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) ले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैर आवासीय नेपाली नागरिकता लिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पुर्जालाई गैर आवासीय नेपालीको नागरिकता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिका –३ दाना जन्मस्थान भई बेलायती सेनामा भर्ती भएका पुर्जाले सेनाको जागिर छाडेर आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै हिमाल आरोहण गरिसक्नुभएको छ ।

आवश्यक सबै प्रक्रिया पूरा गरेपछि गैर आवासीय नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । पुर्जाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर गैरआवासीय नागरिकले प्राप्त गर्ने अधिकार मात्र प्रयोग गर्न प्रतिबद्धता जनाएपछि नागरिकता प्रदान गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

गैर आवासीय नागरिकता लिनेक्रममा पुर्जाले भन्नुभयो, ‘मैले नेपाली नागरिकता बोक्दा केही प्राविधिक रूपमा समस्या भएकाले नेपाली नागरिकता त्यागेर बेलायती नागरिकता लिएको थिएँ, अहिले कानुन बनेपछि मैले गैर आवासीय नागरिकता लिएको हुँ ।’

जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट धौलागिरि गाउँपालिका –६ घर भई अष्ट्रेलिया बसोबास गर्ने दीपक भण्डारी, धवलागिरि गाउँपालिका –७ घर भई अमेरिका बस्ने ऋषिनाथ सुवेदी, रघुगंगा गाउँपालिका–३ घर भई सिंगापुर बसोबास गर्ने पूर्णबहादुर विकले पनि गैर आवासीय नेपाली नागरिकता लिनुभएको छ ।

बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...