सिसि क्यामेराले मात्रै अपराध नियन्त्रण हुँदैन : केसी

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजारमा राखिने सिसि क्यामेराले मात्रै अपराध नियन्त्रण नहुने बताउनु भएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आयोजना गरिएको ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख केसीले सिसि क्यामेरा भएको कारणले मात्रै कुनैपनि अपराध नियन्त्रण नहुने बताउनुभएको हो ।
हालै मात्र बेनीमा भएको दुई समुह बीचको लडाइँमा धारीलो हतियार प्रहार हुँदा एक युवाको ज्यान गएको घटनालाइ इंगित गर्दै उहाँले भन्नुभयो—‘प्रहरी सिसि क्यामेरा छ भनेर ढुक्क बस्दा घटना भयो, प्रहरीले क्यामेराको फुटेज हेरेर अपराधि समात्ला तर एक जनाको ज्यान त गयो नि ।’ बजार भरी क्यामेरा राखेर मात्रै हुँदैन त्यसलाई निगरानी नगर्ने हो भने त्यस्ता क्यामेरा राख्दा अपराध झन धेरै बढेको जस्तो देखियो उहाँको तर्क थियो । सिसि क्यामेराले अपराधीलाई नियन्त्रण लिन सघाउ पुग्ला तर त्यही छ भनेर बस्दा अपराधका घटना नियन्त्रण नभइ हालै रघुगंगा गाउँपालिका १ बेगका २२ वर्षका युवाले ज्यान गुमाएको उहाँको तर्क थियो ।
नगरप्रमुख केसीले समग्र नगरपालिका क्षेत्रको दीगो विकासमा सञ्चार क्षेत्र, पत्रकार र सञ्चारकर्मीको भूमिका आवश्यक रहेकोमा जोड दिनुभएको थियो । उहाँले जिल्लामा क्रियाशील सबै पत्रकार तथा सञ्चारकर्मीहरुले म्याग्दी जिल्ला र स्थानीय तहको विकास निर्माणमा पत्रकारिताको माध्यमबाट रचनात्मक भूमिका निर्वाह गरिदिन आग्रह गर्दै म्याग्दीमा पत्रकारिताको विकास र सञ्चारमाध्यमको सबलीकरणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेलले सञ्चार क्षेत्रमार्फत जिल्लाको विकास निर्माण, शान्तिसुरक्षा, सुशासन, अमनचयन र भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरिरहेको भन्दै वर्तमान अवस्थामा पत्रकार तथा सञ्चार क्षेत्रलाई टिकाउनका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी म्याग्दीका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारानाथ शर्माले विगतको समयमा पत्रकारिता गर्दा ज्यानको बाजी थाप्नुपर्ने भए पनि अहिलेको सन्दर्भमा पत्रकारलाई टिकाउन र सञ्चारमाध्यम बचाउन चुनौती थपिएको धारणा व्यक्त गर्नुभएको थियो । प्रेस चौतारी म्याग्दीका पूर्व अध्यक्ष एवं चौतारीका निवर्तमान इन्चार्ज देवीप्रसाद शर्मा (डिपी)ले म्याग्दीमा प्रेस चौतारी पत्रकारहरुको नेता सङ्गठन भएको बताउँदै पत्रकार महासंघ स्थापना गर्नको लागि प्रेस चौतारीले अगुवाई गरेको स्मरण गर्नुभयो । पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकारले पत्रकारिताको चरित्रलाई अँगाल्नुपर्ने भन्दै स्थानीय तह अभिभावक भएको हुँदा सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य अमृत बास्कुने, प्रेस चौतारी गण्डकी प्रदेशका पूर्व सदस्य एवं पत्रकार महासंघ म्याग्दीका निवर्तमान उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले पत्रकारले समयमै पारिश्रमिक पाउने वातावरण निमाण गर्नुपर्ने, स्थानीय तहले सूचना तथा विज्ञापनहरु जिल्लाकै सञ्चारमाध्यममा प्रकाशन गर्नुपर्ने, मिडियालाई सहयोग गर्नुपर्ने जस्ता विषयहरु उठाउनुभएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेलले पत्रकारले खोजमूलक, विश्लेषणात्मक र आलोचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत एवं सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका निवर्तमान सचिव गोरखनाथ सुवेदी, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्मा, जनपत्रकार संघका जिल्ला अध्यक्ष बादल शाहीलगायत पत्रकार तथा सञ्चारकर्मीहरुले आ–आफ्नो भनाइसहित शुभकामना दिनुभएको थियो ।

मङ्लबार, माघ २३, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...