उच्च घनत्वमा स्याउ उत्पादन प्रविधि

क) पृष्ठभूमि

स्याउ नेपालको हिमाली भेगमा ब्यवसायिक खेती गर्न सकिने एउटा महत्वपूर्ण बाली हो। हालसम्म चलन चल्तीमा सिफारिस गर्दै आईएको स्याउको बिरुवा रोप्ने दुरी ५-६ मिटर हो जस अनुसार प्रति हेक्टरमा औषतमा ३०० स्याउका बिरुवा अट्दछन् । प्रति इकाई जमिनमा धेरै स्याउका बिरुवा रोपेर स्थापना गरेको बगैंचालाई स्याउको उच्च घनत्वको बगैंचा भनिन्छ । उल्लेखित दुरी भन्दा कम गरेर स्याउका विरुवा रोपेर उच्च घनत्वमा स्याउ बगैचा बनाउन सकिन्छ तर हाल प्रचलनमा रहेको उच्च घनत्वमा स्याउ खेतीमा बोट देखि बोट १ मिटर र लाईन देखि लाईन करिव २ दखि ३ मिटरमा लगाउने गरिन्छ । यो प्रबिधि विकसित देशहरुमा धेरै पुरानो भएतापनि नेपालमा भने यसको त्यति प्रयोग भएको छैन । प्रयोग र अवलम्बनको दृष्टिले नेपालको लागि भने यसलाई नयाँ प्रबिधि मान्न सकिन्छ।

स्याउमा उच्च घनत्व बगैंचा सबैभन्दा पहिले युरोपवाट सन् १९६० देखी शुरु भएको पाईन्छ । उच्च घनत्व बगैंचामा प्रति एकाई क्षेत्रफल जग्गामा बढी भन्दा बढी फलफूलका बोटहरु लगाई बोटको स्वास्थ्यमा कुनैपनि प्रतिकुल असर नपारी छिटो, गुणस्तरीय र बढी उत्पादन लिन सकिन्छ । शुरुमा बगैंचा स्थापना गर्दा बढी खर्चिलो हुने भएतापनि यसबाट कृषकहरुले छिटो उत्पादन लिन सक्दछन् । यस प्रविधिमा शुरुका ६ वर्ष सम्म वोटविरुवालाई बढी तालिम र कम काँटछाँट गर्नुपर्ने हुन्छ । उच्च घनत्वमा स्याउ खेती गर्दा कम क्षेत्रफलमा धेरै बोट लगाएर छिटो धेरै उत्पादन लिने, वानस्पतिक वृद्दि र फल उत्पादनलाई सन्तुलमा राखि उत्पादन लिने, जहाँ फलको उत्पादन लाई बढाउने न कि रुख बढाउने (Grow fruit, not trees) भन्ने जस्ता सिद्दान्तहरुमा आधारित रहन्छ ।

नेपालको ईतिहासलाई हेर्दा बागवानी अनुसन्धान केन्द्र, राजिकोट, जुम्लाले बि.सं. २०६८ देखी विभिन्न १० थरीका स्पर टाइपका स्याउका जातहरुको जातिय सङ्कलन गरि अनुसन्धान कार्यको सुरुवात गरेको पाइन्छ । शीतोष्ण वागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्मा आ.व. २०७२/७३ देखी भारतको हिमाञ्चल प्रदेशबाट फलफूल विकास निर्देशनालय, कीर्तिपुर मार्फत ल्याईएका पाँचवटा जातहरु (Red Greveinstein, Honey Crisp, Gala, Fuji and Star Spur Gold)  र आ.व. २०७६/७७ मा (King Roat Delicious, Fuji Kiku Fubrax, Wilton Star Red Jona Prince Select, Golden Delicious Mema) र आ. व. २०७७/७८ स्याउ जोन मुस्ताङ् र कृषि ज्ञान केन्द्र मुस्ताङ् वाट (Fuji, Golden Delicious, King Roat) जस्ता जातहरु प्राप्त गरि लगाई परिक्षण भईरहेका छन् । त्यसैगरी निजीक्षेत्रमा व्यवसायिक रुपमा स्याउको उच्च घनत्व खेतीको शुरुवात मनाङ जिल्लाको पिसांग-१, भ्राताङमा रहेको एग्रो- मनाङ प्रा.लि. ले वि स २०७२ देखी गरेको पाइन्छ । हाल उच्च घनत्वमा स्याउ खेती मुस्ताङ् लगाएत मनाङ्, सोलुखुम्वु र कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरुमा विस्तार भईरहेको छ ।

] उच्च घनत्व स्याउ उत्पादनका प्रकारहरु

  1. कम घनत्व रोपण (Low density planting):  प्रति हेक्टर १००-२५० विरुवा रोप्न सकिने, रोपेको १५-२० बर्षमा मात्र बिरुवाले सम्भावित उत्पादन दिने ।
  2. मध्य घनत्व रोपण (Medium density planting): प्रति हेक्टर २५०-५०० विरुवा रोप्न सकिने, रोपेको ९-१५ बर्षमा मात्र बिरुवाले सम्भावित उत्पादन दिने  ।
  3. उच्च घनत्व रोपण (High density planting): पुड्के खालका रुटस्टक प्रयोग गरि प्रति हेक्टर ५००-२००० विरुवा रोप्न सकिने, फलको उत्पादन बढी हुने, ६-९ बर्षमा मात्र बिरुवाले सम्भावित उत्पादन दिने ।
  4. अती उच्च घनत्व रोपण (Very high density planting)पुड्के खालका रुटस्टक प्रयोग गरि प्रति हेक्टर २०००-५००० विरुवा रोप्न सकिने, उपयुक्त तरिका अपनाई क्यानोपी व्यवस्थापन गर्नु पर्ने, रोपेको १-२ बर्षमा नै फल फल्ने, ४-७ बर्षमा मात्र बिरुवाले सम्भावित उत्पादन दिने । हाल नेपालमा स्याउमा प्रचलित रोपण विधि हो ।
  5. सुपर उच्च घनत्व रोपण (Super high density planting): अती पुड्के खालका रुटस्टक प्रयोग गरि प्रति हेक्टर ५०००-१०००० विरुवा रोप्न सकिने, उपयुक्त तरिका अपनाई क्यानोपी व्यवस्थापन गर्नु पर्ने, रोपेको १-२ बर्षमा नै फल फल्ने, ४-७ बर्षमा मात्र बिरुवाले सम्भावित उत्पादन दिने, गम्भीर शीर्ष काँटछाँट गर्नु पर्ने, न्यायिक क्यानोपी व्यवस्थापन गर्नु पर्ने ।
  6. मैदान घाँस ओर्चेडिंग (Medow orcharding): अती पुड्के खालका रुटस्टक प्रयोग गरि प्रति हेक्टर १००००-४०००० विरुवा रोप्न सकिने, उपयुक्त तरिका अपनाई क्यानोपी व्यवस्थापन गर्नु पर्ने, रोपेको १-२ बर्ष मा नै फल फल्ने, गम्भीर शीर्ष काँटछाँट गर्नु पर्ने, न्यायिक क्यानोपी व्यवस्थापन गर्नु पर्ने, व्यापक रुपमा हर्मोन र मलखादको प्रयोग गर्नुपर्ने

] उच्च घनत्व स्याउ उत्पादनका प्रमुख अवयवहरु

१. वंशानुगत रुपमै बोट होचो हुने स्याउका जातहरु (Use of genetically dwarf apple variety):

जस्तै कोलुम्नार जातहरु र स्पर प्रकारका जातहरु लगाउने । यस्ता जातहरु पुड्के रुटस्टकमा कलमी गर्नुपर्छ ।

कोलुम्नार जातहरु प्राकृतिक रुपमा होचा हुन्छन, रूखको वृद्धि ठाडो हुन्छ, सहायक हाँगा कत्ति पनि हुदैनन् र बोट रोपेको एक बर्ष पछाडी फलहरु झुप्पामा फल्दछन ।

स्पर प्रकारका जातहरु स्टेनडर्ड जात भन्दा अधिक कम्प्याक्ट र होचा हुन्छन, फल फल्ने हाँगा (Spur) छिटै विकास हुन्छ र बर्षेनी गुणस्तरिय फल बढी नै मात्रामा फल्दछन् ।

पुड्के रुटस्टकमा कलमी गरिएका स्पर प्रकारका जातहरुको बोटहरु त अधिक साना हुन्छन ।

२. पुड्के रुटस्टकको प्रयोग (Use of dwarf rootstock):

     ईडिमयल, MM 106, MM111, M7, M26, M9, M27, G16 आदी जस्ता रुटस्टकहरु प्रयोग गर्न सकिन्छ । हाल M9 रुटस्टक अत्याधिक प्रयोगमा ल्याईएको छ, जसलाई टेका प्रणालीको आवश्यकता पर्दछ । तर MM 106, MM111 जस्ता रुटस्टकहरु प्रयोग गरेमा सपोर्टको आवश्यकता पर्दैन ।

३. बगैंचामा बिरुवा बाक्लो गरि रोपेर (High density planting):

बोट देखी बोटसम्मको दुरी (०.७५ मिटर (मि)  देखि १ मि) र लाईन देखी लाईन सम्मको दुरी  (२.५ मि देखि ३ मि) माथी आफ्नो उद्देश्य, आवश्यकता, जग्गाको उपलब्धता र अनुकुलता अनुसार लगाउन सकिन्छ । बोटको संख्या र आकार तथा प्रकाशको अवरोधले कुनै पनि वगैंचाबाट पहिलो ५ बर्षमा उत्पादन हुने ताजा स्याउ फलको उत्पादन निर्धारण गर्दछ ।

४. अत्यधिक हाँगा निस्किका नर्सरीका विरुवाहरु रोपेर (Planting of feathered branched sapling):

करिव २ देखि २.५ मिटर अग्ला, फराकिलो कोणमा एकनासले ६० सेन्टिमिटर माथिबाट, करिव ३० सेन्टिमिटर लामा, ६-१५ गोटा हाँगा निकालिएका नर्सरीका बिरुवालाई फिडर बिरुवा भनिन्छ । नर्सरी बिरुवामा जति धरै फिडर हाँगा हुन्छन, त्यतिकै अनुपातमा दोश्रो र तेश्रो बर्षमा फलको उत्पादनमा वृद्धि हुन्छ  । व्हीप्स बिरुवा (हाँगा नभएका) रोपेर ४ बर्ष नपुगे सम्म फलको उत्पादन लिन कठिन हुन्छ ।फिडर विरुवामा फूल फुल्ने कोपिला (स्पर) को पूर्णतया विकास भै सकेको हुँदा रोपेको बर्षमा नै फल फल्दछ ।

५. बिरुवा रोप्ने समयमा न्यूनतम वा कत्ति पनि काँटछाँट नगर्ने (Less or no pruning during planting):

फिडर हाँगा भएका नर्सरी बिरुवाहरुलाई रोप्ने समयमा काँटछाँट गर्नु पर्दैन । बिरुवा ढुवानी गर्दा भाँचिएका र मर्किएका हाँगाहरु भएमा सिकेचरको सहायताले हटाउन सकिन्छ ।

चित्र: बिरुवा रोप्ने बेलामा काँटछाँट नगरी रोपिएका बिरुवाहरु

६. फलको भार व्यबस्थापन (Crop load management):

बोटको उमेर र खाद्यतत्वको उपलव्धता अनुसार बोटमा फलको भार व्यवस्थापन गर्नुपर्दछ ।

  • चार सेन्टिमिटरको फरकमा एउटा मात्र फल राखी बाँकी फलहरु हटाउने ।
  • हातले टिपेर वा रसायनको प्रयोग गरि फल पातलो गर्ने । बैज्ञानिक तरिकाले काँटछाँट गर्ने ।
  • सिधा माथि फर्केका ठाडा हाँगाहरुलाई नुघाउने र पार्श्व शाखा हाँगालाई तौल तथा रबरको डोरी प्रयोग गरि बङ्गाएर तारमा बाँध्ने ।

      जब नयाँ पार्श्व हाँगा ३-६ सेन्टिमिटर लामा हुन्छन, तिनीहरुलाई तारको लम्बाई तर्फ फैलाउनको लागि पोशाकपिन तथा टुथपिक्स को प्रयोग गर्ने ।

७. बहु तार र एकल पोल टेका प्रणाली (Multiple wire and Single pole system):

विशेष गरि M9 रुट स्टकहरु प्रयोग गरेर उत्पादित बिरुवाहरु/बोटहरु लुला र कमजोर हुने र धेरै फल फल्ने हुँदा फलको भार सहन गर्नको लागी पनि टेका प्रणाली अत्यन्त

आवश्यक हुन्छ । वहु तार राख्दा वगैचा व्यवस्थापन र वगैचामा काम गर्ने कामदारको सहजताको हिसाबले तलमाथी उचाई मिलाउन सकिन्छ ।

८. नेता हाँगा व्यवस्थापन (Leader Branch Management):

कमजोर नेता हटाउने, नोचिंग, डच कट,ब्यागिंग, स्नेकिंग, आदी विधिहरु अपनाएर नेता हाँगालाई रोपेकै वर्षदेखी व्यवस्थापन गर्न सकिन्छ । यसरी ब्यवस्थापन गर्दा नेता हाँगाको अधिकतम उचाई १० फिट सम्म राख्न उपयुक्त हुन्छ ।

९. पार्श्व शाखा हाँगा व्यवस्थापन (Management of lateral branch):

पोशाकपिनहरू, टुथपिक्सहरू र डोरीको प्रयोग गरेर पार्श्व शाखा हाँगाहरुलाई माथि बढ्न नदिई व्यवस्थापन गर्नु पर्दछ । बिरुवा रोप्ने समयमा सम्पूर्ण फिडर हाँगाहरुलाई तन्काएर तारमा बाध्नु पर्दछ, जसले गर्दा फल छिटो फल्दछ र ठुलो हाँगा (Scaffold branch) बिकसित हुन पाउंदैन । ठुला फिडर हाँगालाई तारमा बाँध्नाले बोट माथि बढ्न पाउँदैन र हरेक साल फल फल्ने कोपिला बन्न सहयोग गर्दछ । ठाडो स्थितिका हाँगाहरु जोसका साथ बढ्छन तर गैर फलदायी अवस्थामा रहन्छन् । सिधा माथी नगएर तेस्रो गएका हाँगाहरु (लटकन) हाँगाहरु कम जोसका साथ बढ्छन् र अर्को बर्ष यिनीहरुमा भारी फल फल्दछ ।

१०. उच्च घनत्व स्याउ बगैंचामा न्यायिक काँटछाँट  (Pruning in High Density Apple):

 क) पहिलो वर्षमा: ६-१५ गोटा फिडर हाँगा भएका स्याउका बिरुवालाई करिव बोट देखि बोट १ मिटर र लाईन देखि लाईन ३ मिटरको फरकमा पारि कलमी गरिएको भागलाई माटोको सतह देखि ६ इन्च (करिब १५ सेन्टिमिटर) माथी पारी रोप्ने, कुनै पनि नेता र फिडर हाँगाको टुप्पो नहटाउने, २४ इन्च (करिव ६० सेन्टिमिटर) भन्दा तलबाट पलाएका फिडर हाँगा र नेता हाँगाको दुई तिहाई ब्यास भन्दा ठुला फिडर हाँगालाई डच कट अपनाई हटाउने, ४-५ तारको सपोर्ट सिस्टम स्थापना गर्ने र बोटलाई ३ मिटर माथि सम्म आड दिने गरी हरेक बोटमा लठ्ठी गाडेर डोरीले बिरुवालाई बाँध्ने, जेष्ठ-असार महिनामा १० इन्च (करिव २५ सेन्टिमिटर) भन्दा लामा फिडरलाई तारमा दायाँबायाँ तन्कायर डोरीले बाँध्ने ।

) दोश्रो तेश्रो र चौथो वर्षमा: कुनै पनि नेता र फिडर हाँगाको टुप्पो नहटाउने, नेता हाँगाको दुई तिहाई ब्यास भन्दा ठुला फिडर हाँगालाई डच कट अपनाई हटाउने ।

) पाँचौ देखी पच्चीसौ वर्षसम्म: ब्यागिंग, स्नेकिंग र कमजोर हाँगा हटाउने बिधिबाट नेता हाँगाको उचाई १० फिट (करिब ३ मिटर) मात्र कायम गर्ने, हरेक वर्ष कम्तिमा दुई गोटा नेता हाँगाको दुई तिहाई ब्यास भन्दा ठुला फिडर हाँगालाई डच कट अपनाई हटाउने । आवश्यकता अनुसार नेता हाँगाको टुप्पो लाई धागोले हरेक पोलमा राम्रोसँग बाँध्ने । उच्च घनत्वमा स्याउ रोपणको उत्पादनशिल समय २० देखी २५ वर्षसम्म हुने हुनाले त्यस पश्चात त्यसलाई हटाएर पुन: अर्को नयाँ बालीमा जानु उपयुक्त हुन्छ । उत्पादनशिल समय बगैचा व्यवस्थापनमा भर पर्ने कुरा भएको हुनाले त्यसमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

११. टल स्पाईन्डल प्रविधिमा तालिम (Training in Tall Spindle System):

प्राय विकसित देशहरुमा उच्च घनत्वमा स्याउ रोपण गर्दा टल स्पाईन्डल प्रविधिमा तालिम दिने गरेको पाईन्छ । साधारणतया यो प्रविधिमा तालिम दिँदा बोटलाई १० फिट (करिव ३ मिटर) भन्दा बढि उचाईमा लगिदैँन । यसका साथ साथै पुड्के जातका रुटस्टकहरुको प्रयोग गर्ने, बाक्ला सहायक हाँगाहरु आएका बिरुवाहरुको प्रयोग गर्ने, बिरुवा रोप्ने बेलामा कम अथवा कत्तिपनि काँटछाँट नगर्ने, सहायक हाँगाहरुलाई हाँगा उत्पत्ति भएको स्थानदेखी तल झुकाएर बाँध्ने आदि कामहरु गर्नु पर्दछ । यसैगरि यस प्रविधिमा माथि उल्लेख गरे अनुरुप डच कट, नोचिङ्ग, मुल हाँगा व्यवस्थापन तथा पार्श्व हाँगाको व्यवस्थापन गर्नुपर्छ ।

१२. सिचाईमलखाद तथा झारपात ब्यबस्थापन (Irrigation, Manuring and Weed Management):

उच्च घनत्वमा स्याउ रोपण गर्दा थोपा सिंचाई अत्यन्त प्रभावकारी भएको पाईएको छ । बिरुवा रोपेको १२ हप्ता सम्म हप्तामा दुई पटक नाइट्रोजन युक्त रासायनिक मल थोपा सिँचाई मार्फत प्रयोग गर्नु पर्दछ, जसले गर्दा बिरुवाको वृद्धि पहिलो दुई बर्षमा नै अत्याधिक हुन्छ । बिरुवा रोपेको पहिलो छ महिना सम्म अनिवार्य रुपमा असल झारपात नियन्त्रण तरिकाहरु अबलम्बन गर्नु पर्दछ । अनावश्यक रासायनिक वस्तु (मल/विषादी) को प्रयोग गर्नु हुँदैन, यसले वातावरण प्रदुषित बनाउनुको साथसाथै माटोको उर्वराशक्ति, शुक्ष्म जिवाणुहरुको उपलब्धतामा नकारात्मक असर पार्न सक्दछ तसर्थ पाकेको कम्पोष्ट मल, जैविक तथा वानस्पतिक विषादिहरुमा जोड दिनु पर्दछ।

१३. बोटको बृद्दी नियन्त्रणको लागि बायो-नियामक (Plant growth regulators):

नेपालमा यस्को प्रयोग खासै गरेको पाईदैन तर विकसित देशहरुमा भने यो उत्पादनको अपरिहार्य अङ्गको रुपमा रहेको पाईन्छ । जीब्बरेलिन र साइटोकिनिनको प्रयोग बाट उच्च गुणस्तरका फिडर हाँगा भएका स्याउका बिरुवाहरु नर्सरीमा उत्पादन गर्न सकिन्छ  । अलार २००० पीपीएम, इथरेल १००० पीपीएम,  अलार र इथरेलको मिश्रण क्रमशः १००० पीपीएम र ५०० पीपीएम स्याउको बोटमा स्प्रे गर्दा बोटको बृद्दी रोकिनुका साथै फलको आकार प्रकार, रङ्ग र स्वादमा समेत सकारात्मक असर परेको पाइएको उल्लेख गरिएको पाइन्छ।

१४. अवयवहरु छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु (Point to be consider)

  •      स्याउ उत्पादन गर्ने स्थान र तरिका ।

  स्याउ उत्पादनमा प्रयोग गरिएका रुटस्टक तथा सायनका जातहरु ।

-स्याउ उत्पादनमा प्रयोग भएका प्राविधिक पक्षहरु जस्तै रोपण दुरी, टेका लगाउने विधि, तालिम तथा काँटछाँट विधि, मलखाद व्यवस्थापन, र अन्य बगैचा ब्यवस्थापनका विधिहरुमा ध्यान दिनु पर्दछ ।

मुख्य सन्दर्भ सामाग्रीहरु  (References)

Atreya, P.N. 2023. High Density Apple Production Technology (Poster). Temperate Horticulture Development Center, Marpha, Mustang. Nepal.

Atreya, P.N. 2022. High Density Apple Production Technology (Technical book). Temperate Horticulture Development Center, Marpha, Mustang. Nepal (Nepali)

Robinson T. L. 2014. Managing High Density Apple Trees for High Yield and Fruit Quality. Department of Horticultural Sciences, Cornell University Geneva, NY 14456.

Subedi, G.D., P.N. Atreya, C.R. Gurung, R.K. Giri and Y.R. Gurung. 2020. High density cultivation of major fruit crops: opportunities and challenges in Nepal. Proceeding of 11th National Horticulture Seminar (6-7th Feb, 2020), Kirtipur, Kathmandu, Nepal.

Verma M.K. 2015. High density planting of temperate fruits: technology development. Division of Fruits and Horticultural Technology. Indian Agriculture Research Institute (IARI), New Delhi-110012, India.

 लेखक पद्मनाथ आत्रेय शीतोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङमा बागवानी विकास अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

 

आइतवार, चैत्र ४, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...