पायल (यौन कथा)

-अन्जु शर्मा
” बैनीको पायल हो ?”
रत्नपार्कबाट गौशलाको गाडी चढेर जाने क्रममा मैले उनलाई सोधेँ ।उनी झ्यालपट्टीको सिटमा पहिलेनै बसेकी थिइन् ।झ्यालबाट पर हेर्दै आनन्द लिइरहेकी उनी मेरो प्रश्न सुनेर पहिले  खित्काएर हाँसिन्, अनि उल्टै प्रतिप्रश्न गरिन्।
“तपाईंले मेरो नाम पायल भनेर कसरी थाहा पनउनुभयो?”
भुूइंमा झरेको एउटा पायल मेरा हातमा थियो।अर्को उनकै खुट्टामा अल्झिरहेको।मलाई पनि राम्री केटी संग गफ गर्न आनन्दको स्वर्गीय अनुभूति भैरहेको थियो ।मेरो शरिरको आधा हिस्साले स्पर्शको चरम सुख लिदै थिए ।गाडी चारखाल आइपुगेछ।म ज्ञ्यानेश्वरमा झर्नु थियो ।त्यो बेला सम्म उनी पनि संगै थिइन् ।
” बैनी तिम्रो खुट्टाको पायल झरेछ भनेको! ” मैले पायल उनितर्फ बढाएं।
” च्याप्प समाउदै,”पाउजुपो भन्नुभएको रछ,कतिबेला खसेछ थाहै भएन।उनी पायल बाँध्न थालिन् ।म ज्ञानेश्वरमा उत्रें।
ज्ञानेश्वरको काम सकाएर म बिस्तारै रातोपुलबाट धोबी खोलाको किनारै किनार सेतोपुल तर्फ अगाडि बढें।आजकाल धोबी खोलाको सुन्दरता अनमोल छ।कोरीडोरको कल्पनाकार केशव स्थापितलाई मनमनै धन्यवाद दिएं।आहा!खोलाको दुबै किनारमा बेगमबली र चमेलियाहरू तछाडमछाड गर्दै सडकको मुहार सिंगार्न ब्यस्त थिए ।नागबेली आकारमा आफ्नो अक्ष कोर्दै गन्तव्यतिर दौडिरहेको धोबीखोला हाम्रा हजुरआमाको पालामा फर्कन कम्मर कसिरहेछ।तर कहाँ संभव छ र?हजुरआमा भन्नुहुन्थ्यो -” पहिले लठ्ठीले आइसलाई पिटेर पन्छाउनु पर्थ्यो तब न पानी देखा पर्थ्यो।”तर मैले बच्चामा देखेको ,र जवानीमा भोगेको धोबीखोला पनि त हैन।जताततै फोहोर ,अनि फोहोर माथि मरेका जनावर संगै नखरमाउलीहरूले फालेका नवशिशुको लास। कयौंपटक जिम्दा शिशुको च्यारच्यार् ।उफ..!त्यतिबेला कति निसास्यिएर बग्थिन् यी धोबी खोला ।मत क्षणभरमै सेतोपुलको गणेश मन्दिर नजिक पुगेछु।ठूलो साँझ झमक्क भयो ।निलो आकाशमा सेता बादलका लम्पटहरू बग्रेल्ती देखिए।यता मन्दिरमा आरतीको कलरवले मेरो मन अघोषित रूपमा भगवानको चरणमा लपेटियो।म बिस्तारै सेतोपुलबाट पुरानो बानेश्वर हुँदै निजी निवास सिनामंगलस्थित कटेजमा पुगें।
“आज किन ढिला गर्नुभयो ?”श्रीमतीको प्रश्न ढोका छिर्न नपाउदै आयो ।” विशेष काम थियो “।छोटो उत्तर दिदै म बेडरूमतिर सुत्त छिरें।
मन चंचल छ।वास्तवमा कति सुन्दर युवती हुन उनी यानेकी पायल!मुस्कान त झन …!अचानक मेरो मन चरम आनन्द को कम्बलले लपेटियो। ओहो !चिटिक्क परेको जीउडाल छ।अपशोच !सस्तो मेकअपले होला अनुहारको चमकलाई नराम्ररी जुकाले जस्तो चुसेको छ।सायद सामान्य परिवारकी सदस्य हुनपर्छ।तर विलकुल इनोसेन्ट अनुहार ।म भित्र अनेकौं कुण्ठाहरूले डेरा जमायो।म अधैर्य हुँदै गएं। मैले अनेकौं प्रश्न जन्माउन थाले ।वास्तवमा उनी को हुन?,कहाँबाट आइन् ?,के काम गर्छिन्?कहाँ बस्छिन् ? ह्या…!म पनि कति लबस्तरो छु।बेकारमा अरूको खोजी र खबर गर्नपर्ने।मन आँटिलो बनाएं अनि घुप्लुक्क ओछ्यानमा पल्टे।भान्साबाट चर्को स्वरमा श्रीमतीले खान खान बोलाइन्। श्रीमतीको बोली सुन्दै चुडेल जस्तो लाग्यो।खानमन छैन भन्दिएं।
उनी रिसाउदै कोठामा छिरिन्।-“हैन,आज पनि कुन भट्टीमा धोकेर आयौ?”।
म नबोली कोल्टे फिरेर सुतें।स्वर्थि छन् यी निद्रा देवी !मन चंचल बनाएर हिडिन्।निद्रा पनि आफैंले लिएर मरिछन् पटक्कै लाग्दैन्।
भोलिपल्ट बिहान म मेरो साविक डिउटीमा खटिएको थिएं ।पुरानो बानेश्वर चोकमा तरकारी छान्दै थिएं।उनी नजिकैको कपडा पसलमा उभिएर फोन गर्दै थिइन् ।म पुलकित भएं। हतारहतार तरकारी जोखेर उनी भएतिर दौडेर आएं।
” पायल! तिम्रो बसाइ यतै हो ?”
” तपाईं को हो ?”
” कस्तो बिर्सेकी!हिजो गाडीमा तिम्रो पायल दिने मै हैन?”
” होटेलमा भेटे जस्तो लाग्छ!हो हेटेलमै हो ।यहाँ परिवारले थाहा पाउलान् भनेर ठग्दै हुनुहुन्छ ?”
हैट; कस्ती पागल्नी केटी !मेरो त होस उड्यो।दायाँबायाँ हेरें धन्न कोही चिनेको मान्छे थिएन।
फेरि मनले सोच्यो -यसो भनेर यो किन उम्किन खोज्दै छे वा बाम्बार मलाई होटलमा भेटेको किन भन्छे?फेरि ममाथि प्रश्नको गुजुल्टो थोपरियो।फेरि उनलाई एकपटक सोधेँ
-” कुन होटल बैनी?”
” कुन भन्ने ?तपाईंलाई कयौंपटक भेटेकी छु।”
मेरो मन झस्कियो।पुलिस बिटबाट अगाडि छिमेकी भाउजू तरकारी किनेर अगाडि बढ्दै हुनुहुन्थ्यो ।म लाजले फनक्क पछाडि फर्केर घरतर्फ मोडिएं।
खाना खाएर अफिस गएं।दिनभरि अफिसको काम थकाइले चुर थिएं।आज पनि  कतिबेर सम्म गाडी कुर्नुपर्ने हो !मनमा कुरा खेलाउदै म गाडी पर्खिरहेको थिएं।अर्कोतिरबाट आएको गाडीबाट फुत्त उनी बाहिर निक्लिन्।
ममा उनिप्रति अथाह जिज्ञासा छ।उनको ब्यवहार मलाई ननिको लाग्दै लागेन।त्यसैले फेरि छेउमा गएर बोल्ने प्रयास गरें।
” पायल बैनी!यो साँझको बेला तिमी यहाँ ?”
” यहाँ आउने भनेकै साँझमा त हो ;मसँग जाने हो ?”
” कहाँ ?”
” म मिलाउला नि!”
अब म निकै विस्वस्त हुँदै गएं।आखिर उनी भित्रको रहस्यमय सुन्दरता यतैतिर अस्रल्ल छरिएको रहेछ।वरिपरि हेरें मेरा बर्षौ देखिका कुण्ठित मनहरू कहिलेकाहीँ यिनै सडक किनारमा वेवारिसे भएर छरिएका थिए।जसरी त्यो खुला आकाशमा अनगिन्ती ताराहरू पहिचान विहिन भएर तड्पिरहेछन्। मैले उनलाई हेरिरहें।आज त दुई चुल्ठी बाटेर आइछन्।राम्री बन्न त होला अनुहार भरि नाइसिल पाउडर दलेकी छन्।फ्याटफ्याट बज्ने सय रूपियाँका चप्पल पड्काउदै ,मुखमा पान चपाएर सडकमा पिच्चपिच्च थुक्छिन्।अनि सडक यात्री संग मुसुक्क मुस्काउछिन्।
“यताकतै बसेर चिया पिउन पायल!”मैले अपनत्व दर्शाउने प्रयास गरें।
” बोहनी भएको छैन ,तपाईंको चियाको पछि लागू?कुरा गर्ने पनि तरिका हुन्छ नि।तपाईंको ठाउँ छ भने ठिकै छ।हिड्नुस् तर रेट बढी लाग्छ। भन्द्याछ पुलिसले छापामार्ने डर त्यतिकै छ नि।”उनी कड्केर बोलिन्।
” आजलाई चिया मात्रै खान हिडन “।मभित्रको दुस्चरित्र लुकाउदै साधु बन्ने प्रयास गरें मैले ।
” पुलिसको मान्छे हो कि क्या तपाईं ? खाली बाङ्गा बाङ्गा कुरामात्र गर्नुहुन्छ।तपाईं आफ्नो काममा जानुस् ,बेमज्जा मलाई जिस्काउन पर्दैन्।उनी अगाडि बढिन्।हेर्दाहेर्दै उनलेे बाटो क्रस गरिन्।म पनि गाडी समाएर घर फर्के ।
अझै मेरो मन किन अशान्त छ।उनी टाढिन खोज्छिन् ,आफ्नो ब्यबसाय लुकाउन खोज्छिन्।म भने उनी संग नजिकिन चाँहन्छु।
साँझको समय गाडीको आवाजले कोलाहल बनिसकेको छ काठमाडौं ।म त्यो कोलाहलको काखमा जन्मिएको एउटा ….के भनौं खै?  हप्ता दिनको लागि एकदिनमा ब्यबस्थापन गर्नुपर्ने हामी सानो जागिरको बाध्यता ।भोलिपल्ट शनिबार म सपिङ्गको लागि न्यूरोड पुगें ।अनि महाबौधतिर बाट घुमेर असन ,ईन्द्र चोक हुँदै घरफर्किने गाडीको लागि उहीँ  रत्नपार्क पुगें।त्रिचन्द्रको भित्तामा उभिएर चुइगम चपाउँदै परपर आँखा डुलाउदै गरेकी पायलमाथि मेरा आँखा दौडिन पुगे।मलाई चिलले चल्ला झम्टे झैं उनलाई काखमा लुट्पुटाउन मन छ।सायद उनी यस्तै ग्राहकको गहिरो प्रतीक्षा गर्दैछिन्।मनमा गुदगुदी जमाउदै सपिङ्गको पोको बोकेर म उनितर्फ अगाडि बढें।
“पायल! आज म तिमी संग जान्छु ,कति पैसा लागछ?”
” वाओ! सामन सहित जाने!सधैंलाई श्रीमतीको दर्जा दिने विचार छ कि कसो?उनी घोडा हिल्हिलाए जसरी हाँसिन्।अनि बिस्तारै दुई हजार भनिन् ।
उनका हातमा सुम्सुमियाउदै ” अलिअलि घटाउन मिल्दैन ?”
” तपाईं घटाउने कुरा गर्नुहुन्छ ?कोठा भाडा अनि प्रहरी ,गुण्डा सबैलाई  मुखमा बुझो हाल्न पर्छ नत्र बेमतलब छापा मार्छन्।
” ल ल ठिकै छ” ।म लुरू लुरू उनको पछाडि लागे।उनलेे गल्ली भित्रको अध्यारो कोठामा छिराइन्।उनको कोठाको दृश्यले मलाई बमीट आउला झैं पेट हुडेलेर आयो ।सानो खाट ,त्यसमाथि बिच्छ्याइएका महिला कपडा ।
खाटमा बस्तै -“पायल! तिम्रो बस्ने कोठा यहीँ हो ?”
-” हैन म गौशाला तिर बस्छु।उता हुक्का रेष्टुरेन्टमा काम गर्थे अहिले छुटेको छ।त्यो भन्दा अगाडि सुनगाभा,सेबेन स्टार ,गोल्डेन डान्सबार खै के के हुन नाम पनि बिर्से अब त।
” यो भन्दा त त्यो काम सजिलो हैन र?”
” चाहिने नचाहिने कति कुरा गर्नुहुन्छ ?आफ्नो काम सकेर जानुस् “उनी कुर्ताको चेन आफै खोल्न थालिन् ।
” कति हतार गरेकी एकैछिन त पख।”
” बिजुली चम्के जसरी ,मेरो शरिरमा चम्कन्छन् मान्छेहरू।अनि काम सकाएर जान्छन् ।तपाईंले प्रहरीलाई खबर गर्नुभाको छ कि क्या हो !मेरी छोरीको त बिजोग हुन्छ ।” उनी मसंग एक्कासि डराइन्। मैले म प्रहरीको मान्छे होइन भन्दै थमथमाएं।अनि जिज्ञासालाई अगाडि सारे।
” तिम्रो बच्चा पनि छ?”
” छ, एउटी अभागी छोरी।”
“किन अभागी भन्यो त उसको बाबा कहाँ हो ?”
” बाबा नभएर त अभागी भै,बाबा हुन त लेखेर ल्याउन पर्छ।त्यो दिन एक जना प्रहरी दाइले दया नगरेको भए मरिसक्थि।ह्या! मलाई पनि ढुक्क हुन्थियो।अचानक उनका आँसु टिल्पिलाए।म पनि भवविह्वल भएछु।मानवता यसरी नै छचल्किने रहेछ।म अझै विस्वासीलो र आत्मीय बन्दै गए।उनी प्रति जिज्ञासु भने पहिले देखि नै थिए ।त्यसैको उपज न हो ममाथि प्रश्नहरूको ठूलो थुप्रो थियो ।
” प्रहरीले पनि दया गर्छन् ?कसरी ?”
उनी मेरो नजिक छिन्।शारीरिक रूपमा भन्दा पनि विश्वासको परिधिभित्र ।त्यसैले त बिना हिचकिचाहट मेरा प्रश्नको उत्तर दिदै जान्छिन्।म पुरै पछाडि फर्कन्छु।ती साना बिद्यार्थीहरू निसंकोच प्रश्नको उत्तर दिन्थे ।जसरी यी धोबीखोला बिनारोकटोक बग्ने गर्छिन् ।म अति सन्काहा थिए ,म सोच्ने गर्थें -“यो  फोहोरको डङ्गुरबाट किन बग्ने प्रयास गर्छिन् ?यी नरपशुको बिध्वङ्स गर्दै किन सडक बीचमा आइनन्?”सायदै मेरो अबुझपन भनौं ।
उनी भन्दै गइन् “त्यस दिनको कुरा -मलाई काठमाडौंका ठाउँको नाम पनि थाहा थिएन्।बच्चा जन्मेपछि रेष्टुरेन्टको कामबाट हात धुनपर्यो।एउटा साथीको यस्तै खै कुन गल्ली हो थाहै छैन ।म पनि आफ्नो धन्धा चलाउदै छोरी हुर्काउदै थिए ।दुधे बच्चा भएको कारण ग्राहक हुन्जेल नउठोस भनेर जाइफल चटाएर सुताउथें।तीन महिनाकी त थिइ होला ।प्रहरीले छापा मार्यो मपनि ग्राहक संगै समातिएं।प्रहरी चौकी पुगेको एकघण्टा पछि “सर!म छोरीलाई दुध खुवाएर आउछु “भने।
” बच्चा कहाँ छ ?”भनेर सोध्नुभयो ।
“खाटमुनी”।वहाँले थाप्लोमा हात राखेर केही नबोली छोडिदिनुभयो।
तपाईं बच्चा भएको भए आउनुहुन्थ्यो र?बच्चाको आमा संग ग्राहक आउन चाहदैनन् ।त्यो नछुने रोकिए पछि फाल्न कोशिश गरेको थिएं।कति खाले दबाइ खाएर पनि गएन।अस्पताल जान त्यति सजिलो थिएन।बाउको नाम चाहिने ।अब मैले कस्लाई बाउ देखाउने ?जवानीको रस चुस्न आउने कुन भमरा समाउ?त्यसैले बच्चा पेटमा हुर्किदै गयो ।प्राइभेट क्लिनिकहरूमा हामी जस्ताको पहुँच  दुर्लभ नै छ।चट्याङ पर्नु अघिको भूमरीमा जन्मेकी यो अब भाग्यमानी कहाँ हुन्छे?उनी मलिन थिइन् ।तरपनि हँसिली।मेरो समय सकियो खै पैसा दिनुस्”।
पायल कोठाबाट बाहिरिएर रत्नपार्कको खुला आँगनतिर मोडिन।मैले एकोहोरो हेरें।आफ्नै अर्थ लाएं।सायद अरू कसैको  पर्खाइमा छिन्।मलाई मन छैन उनी अरू संग मस्ति गरून्।तर म पनि त विवश छु।वास्तवमा म पनि बिबाहित पुरूष हुँ।सडक पेटीमा बसेर घुर्मैलो आकाशले धर्ती नियाल्छु।लमतन्न यात्रुहरू गाडीको पर्खाइमा छन् ,पायलहरू भित्ताभरि पैसाको पर्खाइमा छन्,अनि पैसाहरू पायलहरूको स्वागतमा तड्पिरहेछन्।सडकको पारीबाट एक हिजडा चुरोटको ठुटा सर्काउदै आइन।”तिमीहरूको समय भएको छैन,किन आएकी यतिछिटो?”पायल र उस्को झगडा सुरू भयो ।मैले घडी हेरे रातको ८.३० भएछ।यो समय पनि यिनीहरू बाड्दा रहेछन् ।म आश्चर्यचकित भएं।
मोबाइलमा घण्टी बज्यो ।श्रीमतीको रहेेछ।उनी रिसाउदै ” कुकुरको मुत पिएर भट्टी मै मर,नालायक ।तिमीलाई घर फिर्नुपर्ने कुरा याद छैन ?”
पायलको निर्दोशिता, भित्र म हराएको छु।उनी प्रति म यति धेरै आकर्षित छु जुन एक अविवाहित युवक पनि उस्की प्रेमिका संग त्यति आकर्षित नहोला ।म सर्लक्क बिर्सन्छु उनी एक यौनकर्मी भएको कुरा अनि म बिबाहित जागिरे अद्धबैषे पुरूष।
म नरम भाषामा श्रीमतीलाई ढाट्छु “साथीको मा छु,आइहाल्छु।”
यौनका भोका उडुसहरू सडकमा सल्बलाइरहेको अनुभुति गरें।सायद रातभरमा किर्ना भएर मिट्टीमा मिल्ने छन्।भोक र रोग आखिर दुबै समानान्तर छन् ।यिनले कहाँ माथि उठ्न दिन्छन् ?शारीरिक भोक र मानसिक दरिद्रहरू रातभर सडकाका गल्ली भरि पोखिने छन्।रातको दस बजेछ म पनि घर पुगे।श्रीमती रिसले बम भएर मसंग नबोली भित्ततिर फर्केर सुतिन्।तर म भित्र भित्रै मदहोसी भएं।श्रीमतीलाई पायल जस्तै देखें।ग्वाम्म अंगाल्ने प्रयत्न गरें।तर ममा कुनै यौनको उन्माद देखिएन।अहः पायल !
म श्रीमतीबाट टाढा हुने प्रयास गर्दै कोल्टे फिरे।अनि सोच मग्न भएं।वास्तवमा उनको घर कहाँ होला ?उनी यहीँ काममा किन आकर्षित छन?अरू काम पनि त पाउथिन् होला आदिआादि।म भोलि यी सबै कुराको उत्तर खोज्ने छु।म कति बेला निदाएं थाहै छैन ।
सधैं झैं आज पनि अफिस सकाएर म गाडीको पर्खाइमा आएं।चारैतिर आँखा लगाए तर कतै पनि पायल देखा परिनन्।निकै बेर प्रतीक्षा गरें।तर सब बेकार भयो ।करिब सात दश दिन मैले पायलको प्रतिक्षामा समय बिताएं।पायल संगको  सानिग्द्यबाट एक्लिएको म समयमा घर आउन जान थालें।यो देखेर श्रीमती अचम्मित हुँदै थिइन् ।मेरा प्रश्नको उत्तर खोज्ने अभियान करिब तुइ सकेको थियोे ।म भित्र चैत्रको खडेरीले परेड खेल्न शुरू गरेछ।म पायलको त्यो पालुवामा झुल्ने अवसर पुरै गुमेको अनुमान लगाउदै थिएं ।समय आफ्नै गतिमा गतिमान थियो ।
केही दिनपछि म पशुपति दर्शन गर्न निस्कें। सिनामंगलस्थित घरबाट हिडेर म होटल बैशालीको काखमा पुग्दा उनी बैशाली अगाडिको सडक पेटिमा मोबाइलमा बोलिरहेकी थिइन् ।म हर्षले उन्माद भएं।
” पायल! तिमी यहाँ !यतिका दिन कहाँ थियौ?”
” उहीँ त हो नि ग्राहकको खोजी ;कहिले बसपार्क ,कहिले ठमेल अनि खै कता…कता..!कति निर्धक्क उत्तर।
” तिम्रो बसाइ चाहिँ?”
” उ त्यो घरमा “।
” छोरी?
” सुतिरहेकी छे”।
उनि जीवनयापनका लागि यो बाटोमा हिड्दैछिन्।म खै के का लागि यिनका पछि लागिरहेछु?म नतमस्तक छु,भाव विह्वल पनि छु।कहिलेकाहीँ अपराधबोध पनि गर्छु।मेरी सोह्र बर्षको उमेरमा सिंदुर भरेकी अर्धाङ्गिनी प्रति कतै अन्याय त गरेको छुइन?मनमा जेसुकै भएपनि  मैले नजिकैको होटलमा चिया पिउनको लागि अनुरोध गरें।आज उनलेे सहस्र स्विकार गरिन्।
पर पशुपतिको गजुरले हामीलाई हेरिरहेको थियो।”तिमी सत्मार्गमा हिड्।”सायदै यस्तै सन्देश त होला !मृगस्थलिबाट लस्करै मृगहरू सूर्यघाटतर्फ अगाडि बढे।एक हुल मान्छेहरू लाश बोकेर आर्यघाट तर्फ बढे।एयरपोर्टतिरबाट बग्गीमा एक जोडी दुलाहा दुलही गौशाला तर्फ अगाडि बढे ।यसै मौकामा मैले मुख फोडे -” पायल ! तिमीलाई बिहे गर्न मन छैन ?”
” मन लाग्दैमा हुन्छ?हामीलाई बिहे गर्ने भनेको उहीँ हाम्रै कमाइ खानेले मात्रै हो ।सालेहरू!दुई दिनपछि गाँजामा लठ्ठिएर हिड्दा फलाना संग सुतेको पैसा ले भन्छन् ।अनि किन बिहे गर्ने ?”
” घर चाहिँ कहाँ हो ?
” रूकुम।”
” पश्चिम कि पूर्व?”
” हैन,तपाईंले सिंदुर हाल्नलाई मेरो सोधिखोजी गर्नुभा?नचाहिने कुरा नगर्नुहोस् घरबार बिग्रेला।तैपनि सोधिहाल्नुभो ,म पूर्व कि हुँ।हाम्रो कामको भाषा यस्तै हुन्छ ।मेरो नाम पनि काठमाडौंमा काम गर्न थालेपछि पायल भयो ।खासमा गाउँमा मलाई नेप्टी कान्छी भन्थे।उनले  माथितिर हेर्दै उत्तर दिइन् ।नत छलछाम,नत लाज,नत ईर्ष्या,नत पश्चताप।कति निर्दोष मस्तिष्क ।उनी प्रकृतिको कति सुन्दर रचना!म भित्रभित्रै उनलाई सलाम गर्छु।
” म अरू नै काम खोजिदिउँला नि!”
” नपढेका मान्छेलाई के काम? उहीँ भाँडा माज्ने,लुगाधुने त होला नि!गाउँमा कोदालो खन्न र भारी बोक्नाको दु:खले सजिलो कामको खोजीमा  शहर पसेकी हुँ।”भाग्य दिने कर्म ठेल्ने”गरिबको जाने ठाउँ कहाँ छ र?
मन्दिर जाने भन्नुभएको हैन?कसैले देखे बात लाउलान्।”
म प्रतिको संमान र स्नेह पोखियो उनिबाट।मैले फूलको थुङ्गा जस्तै कोमल देखें।मेरा आँखा आँसुले भरिए।मैले अन्तिम वाक्य बोले” पायल! कुनै कम्पनीमा सजिलो काम खोजी दिउँला,भरअबर कोठा भाडा तिरीदिउँला ।अब देखि रत्नपार्कमा बस्न छोडिदेउ।”
” हा..हा..गजबको आइडिया !अब तपाईंको रखैल हुनपर्ने भो।उनी फन्केर कोठा भित्र छिरिन्।
म उनका पदचापको सुस्तरी स्पर्श गर्दै मन्दिर तर्फ अगाडि बढें।

रातोपुल(2080/12/30)

शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...