अनुत्तरित विमान दुर्घटना

व्यावसायिक हवाई दुर्घटना निकै दुर्लभ मानिन्छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए) का अनुसार प्रत्येक वर्ष विश्वमा यात्रुवाहक विमानको तीन करोडभन्दा बढी फ्लाइटले कुनै अप्रिय घटनाबिना उडान भर्ने र अवतरण गर्दछन् । सन् २०२२ को तथ्याङ्कलाई हेर्दा पनि यात्रुको ज्यान जाने गरी पाँच वटा मात्र घातक दुर्घटना भएका थिए ।

सुरक्षा जाँचकर्ताले यात्रुवाहक विमान दुर्घटनाको कारण पत्ता लगाउनमा प्रायः सफलता पाउँछन् तर समुद्र तटबाट टाढा भएको दुर्घटनामा उनीहरूको कार्य निकै कठिन हुन जान्छ । केही मामिलामा यात्रुवाहक विमान आफ्नो गन्तव्यमा पुग्न असफल हुँदा विमान हावामा यसरी गायब भए– न त रेडियो सन्देश छ न त भग्नावशेष नै फेला प¥यो, कोही जीवित पनि भेटिएनन्, यतिसम्म कि दुर्घटना स्थलको सङ्केत दिन सक्ने पोखिएको इन्धनसमेत देखिएन ।

निम्न पाँच यात्रुवाहक विमानको अवस्था इतिहासमा निकै रहस्यमय मानिएको छ :

इजिप्टएयर फ्लाइट ८०४ (सन् २०१६, मे १९)

फ्रान्सको पेरिसबाट इजिप्टको कायरोका लागि ६६ यात्रु लिएर उडान भरेको एयरबस–३२० को ‘डिजिटल फ्लाइट डाटा’ र ‘ककपिट भ्वाइस रेकर्डर’ विमानको भग्नावशेषबाट निकालिए पनि पूर्वी भूमध्यसागरको १३ हजार फिट गहिराइमा डुब्ने गरी यो विमान दुर्घटना हुनुको कारण पत्ता लागेन ।

सुरुका महिनामा गरिएको अनुसन्धानबाट इजिप्टको नागरिक उड्डयन मन्त्रालयले आतङ्कवादीको बम विस्फोटबाट विमान दुर्घटना भएको र यात्रुको अवशेषमा विस्फोटक पदार्थको सङ्केत मिलेको जानकारी दिएको थियो । तथापि इजिप्टको नागरिक उड्डयन ब्युरोले सन् २०१८ मा आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेर ककपिटमा तेज गतिले आगो फैलिँदा विमान दुर्घटना भएको उल्लेख ग¥यो ।

राडारबाट विमान बेपत्ता हुनु केही समयपहिले ‘एयर ट्राफिक कन्ट्रोलर’हरूले विमानमा रहेको ‘रिपोर्टिङ सिस्टम’ बाट प्रसारित भई आएको धुवाँ (आगलागी)को सङ्केत प्राप्त गरेका थिए । ‘रिकर्डर’ले विमानमा धुवाँ रहेको पुष्टि गरेको थियो । फ्रान्सेली अधिकारीहरूले राडारबाट लुप्त हुनुपहिले विमानले असामान्य रूपमा बायाँतिर मोडियो र त्यसपछि दायाँतिर ३६० डिग्रीको मोड लिएको बताए । यदि बम विस्फोट नै भएको भए यस्तो विचित्रको उडान देखिने थिएन । धुवाँ बाहिर निकाल्नका लागि अन्तिम समयमा विमान असामान्य रूपमा उडेको विश्लेषण उनीहरूको छ । पाइलटले चुरोट पिउन थाल्दा चुहावट भइरहेको अक्सिजन मास्कका कारण आगलागी भएको हुन सक्ने सम्भावना व्यक्त गरिए पनि यो विमान दुर्घटनाको रहस्य खुलेको छैन ।

मलेसिया एयरलाइन्स फ्लाइट एमएच ३७० (सन् २०१४ मार्च ८)

मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि दुई सय ३९ यात्रुसहित उडान भरेर बिनाकुनै चिह्न छाडेर बेपत्ता भएको बोइङ ७७७ ले सारा संसारको ध्यान आकर्षित ग¥यो तथा व्यापकस्तरमा यसको खोज र अनुसन्धान गरियो । उडान भरेको ३८ मिनेटपछि ‘साउथ चाइन सी’ माथि रहँदा अन्तिम पटक सञ्चार गरेको यस विमानले अचानक आफ्नो उडानपथ परिवर्तन गरी पश्चिम दिशामा हिन्द महासागरतिर उड्न थालेको र त्यसपछि विमान सङ्केत गुमाएर बेपत्ता भएको सैन्य राडारले देखाएको थियो ।

केही उड्डयन विज्ञको विश्वास थियो इन्धन सकिन्जेलसम्म दक्षिण हिन्द महासागरमाथि विमानले उडान भरेको हुन सक्छ । यसका लागि उड्डयन इतिहासमा सबैभन्दा व्यापक र खर्चिलो खोजी अभियान सुरु गरियो । तीन सय ३४ फ्लाइटले खोजी गरियो र गहिरो समुद्रको करिब ७५ हजार वर्ग किलोमिटर क्षेत्रफलमा खोजबिन गर्दा पनि विमानको न त भग्नावेशष नै फेला प¥यो, न त पोखिएको इन्धन नै ।

मडागास्कर, मौरिसस, रियुनियन र रोड्रिगेज टापुका साथै तान्जानियासम्मका अफ्रिकी समुद्री तटमा विमानका सम्भावित करिब २० थान टुक्रा मिले र ती फ्लाइट एमएच ३७० को भएको विश्वास गरियो । सन् २०१८ मा मलेसिया सरकारले जारी गरेको अनुसन्धान प्रतिवेदनमा विमानको अवस्थाका बारेमा केही उल्लेख गरिएन । बरु विमानमा प्राविधिक वा कम्प्युटर त्रुटि नभएको तर तोकिएको मार्गबाट विचलित भएर अर्कै दिशामा विमानले उडान भर्नु र विमानको ‘ट्रान्सपोन्डर’ बन्द गरिनुले गैरकानुनी हस्तक्षेप भएको बलियो सङ्केत गर्दछ भन्यो । जुन तर्कले विमान यात अपहरणमा परेको या पाइलटको बदमासी दर्शायो ।

फ्लाइङ टाइगर लाइन फ्लाइट (सन् १९६२ मार्च १६)

भियतनाम युद्धको सुरुका दिनमा सैन्य विमानबाट यात्रा नगरी फ्लाइङ टाइगर लाइनको चार्टर्ड फ्लाइटद्वारा ९३ जना अमेरिकी रेन्जरले गोप्य अभियानका लागि सैगोन जान क्यालिफोर्नियाको ‘ट्रेभिस एयर फोर्स बेस’ बाट उडान भरेका थिए । गुआम पुगेर विमानमा इन्धन पुनर्भरणपछि उनीहरूसहित दक्षिण भियतनामको सेनाका तीन सदस्य र चालकदलका ११ सदस्य सवार ‘लकहिड एल–१०४९ सुपर कस्टिलेसन’ आफ्नो अर्को गन्तव्य फिलिपिन्सको ‘क्लार्क एसर बेस’ मा कहिल्यै पुगेन । विमान उडानका लागि मौसम राम्रो थियो र विमानबाट कुनै अप्रिय सङ्केतसमेत आएको थिएन ।

सन् १९३७ मा अमेलिया इयरहर्टको खोजीमा जत्तिको जोडबल लागेको थियो त्यसपछि पहिलो पटक व्यापकस्तरमा यस विमानको खोजीका लागि शान्तिकालमा हवाई र समुद्री उद्दार प्रयास गरियो । १३ सय जनाको खोजी दलले करिब दुई लाख ३० हजार वर्ग किलोमिटर क्षेत्रफलमा खोजबिन ग¥यो तर केही पनि हात लागेन ।

इटालीको तेल बोक्ने ठूलो पानीजहाजको चालकदलका एक सदस्यले आकाशमा विस्फोटसँगै एक चम्किलो प्रकाश देखेको र विमान जुन क्षेत्रमा बेपत्ता भएको थियो त्यहाँको समुद्रमा जल्दै गरेका दुई वस्तु खसेको जानकारी दिए । केही घण्टापहिले मात्र अलास्कामा फ्लाइङ टाइगरको अर्को विमान त्यसमा सवार सातमध्ये एक जनाको मृत्यु हुने गरी दुर्घटना भएको घटनालाई हेर्दा विमानमा छेडखानी गरिएको अनुमान गरियो तर ‘सिभिल एयरोनोटिक्स बोर्ड’ ले विमानको कुनै पनि अवशेष फेला नपरेको कारण जनाएर दुर्घटनाको कुनै सम्भावित कारण निर्धारण गर्न सकेन ।

पान एम फ्लाइट ७ (सन् १९५७ नोभेम्बर ९)

विश्व भ्रमणका लागि ३६ यात्रु र चालकदलका आठ सदस्यसहित सान फ्रान्सिस्कोबाट होनोलुलुका लागि उडान भरेको बोइङ–३७७ स्ट्राटोक्रुजरमा विलासिताको वातावरण थियो । त्यहाँ खानपिन, आराम, मनोरञ्जनको व्यवस्था राम्रो थियो । यस विमानले करिब आधा दूरी के तय गरेको थियो, बिनाकुनै गडबडीको सङ्केत दिएर विमान राडारबाट गायब भयो ।

केही दिन खोजतलास गरेपछि अमेरिकी जलसेनाको पानीजहाजले होनोलुलुबाट करिब १६ सय किलोमिटर पूर्व समुद्रमा केही टुक्राटाक्री तैरिरहेको र १९ यात्रुको शव फेला पा¥यो ।

अधिकांश यात्रुले ‘लाइफ भेस्ट’ लगाएको देखियो । जसबाट के अनुमान गरियो भने विमान प्रशान्त महासागरमा बजारिने अवस्था आउँदा उनीहरूले ‘लाइफ भेस्ट’ लगाएको हुनु पर्छ । विमान र अन्य २५ जनाको अवस्था कहिल्यै थाहा हुन सकेन । अनुसन्धानबाट थाहा भयो बरामद गरिएका अधिकांश शवमा कार्बन मोनोक्साइडको मात्र धेरै थियो तर दुर्घटनाको यकिन कारण रहस्यमै रहेको छ ।

क्यानेडियन प्यासिफिक एयरलाइन्स (सन् २०५१ जुलाई २१)

जसै कोरियाली युद्ध चर्कियो कोरियाली हवाई सहयोगका लागि एक डगलस डिसी–४ विमानले जापानको टोकियो जान भ्यानकोभरबाट उडान भ¥यो । ३१ यात्रु र चालकदलका छ सदस्यसहित उडेको क्यानेडियन प्यासेफिक एयरलाइन्सको विमान अलास्काको एन्करेजमा इन्धन पुनर्भरणका लागि त्यहाँ पुग्नै लाग्दा घनघोर वर्षाले अगाडि केही नदेखिने र अत्यन्त चिसो वातावरणमा फस्यो ।

अवतरणका लागि ९० मिनेट बाँकी छँदा अलास्काको एक सङ्कीर्ण भूभाग नजिकबाट विमानले कुनै पनि खालको समस्या नभएको जनाएको थियो । त्यसपछि त्यस विमानको कुनै पत्तो भएन । अमेरिकी र क्यानेडेली उद्दार टोलीले महिनौँसम्म विमानको खोजी गरे तर विमानको कुनै अवशेष खोज्न सकिएन ।  गोरखापत्र अनलाइनबाट साभार

बिहिबार, जेष्ठ १७, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...