“आमाको स्वतन्त्रता “

आमा भन्छिन,
दूर शहरमा तलाई दुःख छ
अब त फर्केलास छोरा घर
आमा यति पनि बुझ्दिनन् त ?
यो मेरो बाध्यता हो कि रहर ?

बाध्य त तिमी पनि छौ आमा
आफ्नो मुटु जलाउन
कोशिसमा त म पनि छु आमा
तिम्रो मुहार हँसाउन ।

लुक्दै पछ्यौरीले,
आँसु पुछेको तिमिले
नदेखेको कहाँ हो र ?
भर पेट खुवाएर मलाई
मुस्कानले तिम्रो मुहार भिजेको
नदेखेको कहाँ हो र ?

मलाई पनि याद छ आमा
तिम्रो पेटमा पटुकी
धेरै पल्ट बाँधिएका छन् ।
तिम्रो ममताको आँचलमा
मेरो आँसुसित तिqम्रो हाँसो
धेरैपल्ट साटिएका छन् ।

पट्ट फुटेका पैतालाहरुले
मलम नपाएर
चिरा-चिरा परेको देखेको छु ।
बर्षौं देखिको
उही फरीया र चोलीमा
फरक-फरक सजिएको देखेको छु ।

रहर त तिम्रा पनि छन् आमा
तर, तिमी कहिल्यै बोलिनौ

अब त बोल्न सिक आमा
आफ्नो लागी
आफ्नो जीवनको लागि..
स्वतन्त्र हुनुपर्छ आमा
अब तिमी पनि
आफूमा, आफैभित्र |

बिहिबार, जेष्ठ ३१, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...