फूल, अबिर र माला
भिराएर
सिन्दुरे जात्रा
गरेर
पिडहरुको स्वागतमा
फैलिएका हातहरुलाई
प्रश्न छ ?
खै ! तिम्रो चेतनाको स्तर ?
पुरुषबादी सोच
हावी भएको समाज
न, नारीको बेदना बुझ्छ
न, चेतनाको द्वार खोल्छ ।
जब खस्किदै जान्छ
चेतनाको स्तर
तब उल्टो दिशातिर
समाज बहन थाल्छ ।
मस्तिष्कमा हावी भएका
राक्षसी विचारहरुको
आधिपत्यले
धावा बोलेका
सत्यहरुमाथि
असत्यहरु
यसरीनै
विजय प्राप्त
गर्दै जान्छन् ।
चिच्याइ – चिच्याइ
असत्यको
वकालत गर्नेहरु
शायद आफ्नै छातीमा
हात राख्न बिर्सछन्
र जुट्छन
यस्तो समाजको
निर्माणमा
जहाँ, मान्छे होइन
मान्छे जस्ता
आकृतिहरु
आफ्नो अस्तित्व चुलाउनतिर
लागिपरेका छन् ।
जुन अस्तित्वले एकदिन
सखाप पार्नेछ
आफैलाई अस्तित्व प्रदान
दिलाएका कोखहरुलाइ
आफैले जन्माएका काखहरुलाई ।
तब बिलौना गर्नेछ
एकदिन , यही समाजले
ध्वस्त पारिएका
तिनै अस्तित्वका
राखहरु बोकेर ।
मङ्लबार, असार १२, २०८१ मा प्रकाशित