राष्ट्रपति रनिङ शिल्डमा खेल छनौटमा ध्यान दिनु आवश्यक

अमृत बास्कुने
देशको खेलकर्णधार निर्माणका लागि विद्यालय स्तरबाटै खेलकुद गतिबिधि थाल्नु पर्छ भनेर शुरु गरिएको राष्ट्रपति रनिङशिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता नयाँ पुस्ताको खेल प्रतिभा पहिचान गर्ने मुख्य थलो हो । राष्ट्रपति रनिङशिल्डमा चालु शैक्षिकसत्रमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष ननाघेका छात्राछात्रहरु आ–आफ्नो समुहमा प्रतिस्पर्धा गर्ने गर्दछन् । राज्य पुनःसंरचना भन्दा अगाडी बीरेन्द्र शिल्डका नामले सञ्चालन हुने प्रतियोगिता संघिय गणतन्त्र स्थापना सँगै राष्ट्रपति रनिङ शिल्डको नामले सञ्चालन हुँदै आएको छ । विद्यालय स्तरबाटै खेल प्रतिभालाई प्रष्फुटन गर्ने र पहिचान गर्ने उत्कृष्ट थलोका रुपमा लिइने यो प्रतियोगिताबाटै धेरै खेल प्रतिभाहरुको पहिचान भएको पनि छ ।


तत्कालिन विरेन्द्र शिल्ड प्रतियोगिताबाट म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेकी अरुणा शाही भलिबल तर्फ अगाडी बढ्दै अहिले नेपाली राष्ट्रिय टिमको कप्तान हुनुहुन्छ भने मालिका गाउँपालिका–३ रुमकी कमला पुन नेपाल पुलिस क्लबकी कप्तान हुनुहुन्छ । नेपालको शिनियर टिमबाट खेलेका दुवै जना बीरेन्द्रशिल्ड खेलकुदबाटै अगाडी बढ्नु भएका खेलाडीहरु हुनुहुन्छ । बेनी नगरपालिका भित्रका पनि विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको दौडका अब्बल खेलाडी प्रविण हमाल फुटबलमा ए डिभिजन लिग क्लब हिमालयन शेर्पामा आबद्ध हुनुभएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा हाल समावेस भएका भलिबल, एथलेटिक्स, कबड्डी तथा मार्सल आर्ट तर्फ तेक्वान्दो, उसु र कराँते बिधाबाट ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै आएको छ । भलिबल, एथलेटिक्स र कबड्डीमा ३० र मार्सल आर्टमा ३६ स्वर्ण पदक समावेस गर्दै गर्दा स्थानीय तह जिल्ला र प्रदेशबाटै सम्भावना सहित माथिल्लो तह सम्म पुग्न सक्ने खेल मार्सलआर्ट देखिएको छ । नगरपालिकाबाट विगतमा भएका सहभागिता र पछिल्लो वर्षको नतिजा हेर्ने हो भने पनि म्याग्दीबाट राष्ट्रिय स्तर सम्मै पुग्ने खेलाडीहरु अधिकांश मार्सलआर्ट विधाबाटै छन् ।
विगतमा हेर्दा तेक्वान्दो खेलाडी सुनिल नेपालीले प्रकाश माध्यमिक विद्यालयबाट खेल्दै राष्ट्रिय स्तरमै पुग्नु भएको थियो । उहाँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता(साग)को अन्तिम छनौटमा अंक बराबर भएका कारण शिनियर खेलाडीलाई अगाडी बढाउँदा उहाँ बाहिरीनु भएको थियो ।
त्यस्तै कराँते खेल तर्फ माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयका मार्सल गर्बुजाले विद्यालय स्तरमा अध्ययनरत हुँदै खेरी अन्तर्राष्ट्रिय पदक सम्म हात पार्नु भएको थियो । अहिले म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकतह अध्ययनरत गर्बुजा हाल सम्म पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुँदै आउनु भएको छ ।
खेल क्षेत्रमा भलिबलमा केही खेलाडीहरु राष्ट्रिय टिम सम्म पुग्नु भएको भए पनि एथलेटिक्समा हाल सम्म सोचेजस्तो सफलता हात लाग्न सकेको छैन । अन्य जिल्लाको स्थानीय तहको तुलनामा बेनी नगरपालिका क्षेत्रमा खेलकुदमा लगानी कम भएको र नियमित अभ्यासको पनि कमिका कारण पदक हात पार्न र नतिजा आफ्नो पक्षमा पार्न नसकेको भन्ने खेलाडी तथा प्रशिक्षकको भनाईमा केही हद सम्म सत्यता रहेको छ ।
राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता–२०८० मा एथलेटिक्स बिधामा बेनी नगरपालिका बाट छात्र ११ मध्ये ४ जना जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएर प्रदेश स्तरमा सहभागि भएका थिए । त्यस्तै छात्रा तर्फ ३ जना मात्रै विद्यार्थीहरु प्रदेश स्तरीय खेलका लागि सहभागि भएको देखिन्छ । राष्ट्रपति रनिङशिल्ड–२०७९ मा छात्र तर्फ ७ जना र छात्रा तर्फ ४ जनाले प्रदेश स्तरीय खेलमा सहभागिता जनाएको देखिन्छ । त्यस्तै राष्ट्रपति रनिङशिल्ड–२०७८ मा एथलेटिक्स टर्फ ६ जना छात्र र ४ जना छात्राले बेनी नगरपालिका स्तरबाट विजयी हुँदै जिल्ला पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाएका थिए ।
टिम गेमको भलिबल तर्फ बेनी नगरपालिका क्षेत्रका खेलाडीहरुले जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशमा जाने अलिक धेरै भए पनि एथलेटिक्स तर्फ भने खासै सन्तोष जनक सहभागिता देखिएको छैन । जिल्ला सदरमुकाम रहेको र गाउँपालिकाहरुमा भन्दा केही हद सम्म भए पनि धेरै पूर्वाधार रहेको र अभ्यास पनि धेरै हुँदा पनि नगरपालिका क्षेत्रबाट खेल प्रतिभा नहुनुमा वार्षिक बजेट तथा कार्यक्रममा खेल क्षेत्र नसमेटीनु पनि कारण मान्न सक्ने आधारहरु प्रसस्त छन् ।
मार्सलआर्ट विधाको उसु, तेक्वान्दो र कराँतेबाट प्रदेशमा प्रतिस्पर्धामा पुगेका विद्यार्थीहरु प्रदेशमा विजयी हुँदै राष्ट्रिय सम्म पुगेको अवस्था छ । उसु बिधाबाट समिप किसान, सज्जन किसान, कृष किसान, प्रमिसा बानियाँ, दिक्षा राई, दिपिका राई जस्ता खेलाडीहरुले राष्ट्रिय स्तरको खेल सम्म सहभागिता जनाएका छन् । खेल पूर्वाधार तथा अन्य विकासका लागि भलिबल, कबड्डी र एथलेटिक्सका लागि लगानी भएको भए पनि मार्सलआर्ट तर्फ खासै लगानी नभएको कराँते प्रशिक्षक सुमन बानियाँको भनाई छ । मार्सलआर्ट विधाको कराँतेको पहिलो चरणमा बेनीमा दिल सिके र बिरेन्द्र श्रेष्ठले शुरु गरेको भए पनि अहिले पछिल्लो समय बानियाँले त्यसलाई थेगेर अगाडी बढ्दै आउनु भएको छ ।
कराँते खेलको सन्दर्भमा पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीबाट प्रदेश हुँदै केन्द्रीय स्तरमा सम्म मार्सल गर्बुजा, डेलिबिया गर्बुजा, प्रेरणा रोका, सुदिक्षा बुढा र रेट्रोना बानियाँले आफ्नो छाप छाड्दै आउनु भएको छ ।
त्यस्तै मार्सलआर्टकै तेक्वान्दो बिधामा पनि राष्ट्रिय स्तर सम्म खेलाडीहरु पुग्ने गरेका छन् । तेक्वान्दोमा दिपेश पुर्जा, इसा गर्बुजा, प्रकृति रन्तीजा, सज्जा पुन, रोशन श्रेष्ठले प्रदेश स्तरीय खेलमा विजयी हुँदै राष्ट्रिय स्तर सम्म पुग्नु भएको छ । उहाँहरुले केन्द्रीय स्तरमा पनि राम्रो प्रदर्शन गर्न सफल हुनु भएको थियो । राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता–२०८० मा प्रकृति रन्तिजाले राष्ट्रिय स्तरमै रजत पदक हात पर्नु भएको तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको भनाई छ । जिल्ला भित्र तेक्वान्दोको स्थायी प्रशिक्षक हुँदै गर्दा पनि सोचे जस्तो धेरै प्रगति नदेखिएको भए पनि अन्य बिधाको तुलनामा अलिक बढी पदक दिलाउने काम भने मार्सलआर्टले नै गरेको छ ।
विगतमा भएका राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा भएको लगानी र त्यहाँबाट बाहिर आएको प्रतिफल हेर्ने हो भने पनि खेल क्षेत्रमा के कति अपेक्षा गरियो र त्यस अनुसारको उपलब्धी पाउन सकियो सकिएन भन्ने पनि बुझ्न कुनै समस्या हुँदैन । तर जति यस क्षेत्रमा लगानी भएको छ त्यो भन्दा धेरै उपलब्धी भएको मान्न पनि सकिन्छ । स्थानीय तहले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भए पनि त्यो भन्दा अगाडी विद्यालयहरुलाई तयारी खर्च वा अन्य खेलकुद गतिबिधिका लागि के कति लगानी भयो र वार्षिक बजेट नीति तथा कार्यक्रममा के कति समेटियो भन्ने हेर्न पनि जरुरी छ । नगरपालिकाले बार्षिक रुपमा राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताका लागि बजेटिङ गरे पनि त्यसभन्दा अगाडी सहभागी हुने विद्यालयहरुलाई कुनै तयारी खर्च वा अन्य कुनै पनि सुविधा दिने गरेको पाइदैन । त्यसले गर्दा विद्यालयले पनि सहभागी हुने समयमा मात्रै खेलाडी जम्मा गरेर सहभागिताका लागि जाने हुँदा नतिजा राम्रो नआउने भएको पक्कै हो ।


कुनै पनि खेलाडीहरुले स्थानीय तहमा राम्रो प्रदर्शन गर्ने गरेको देखिएता पनि स्थानीय सरकारको लगानी उक्त खेलाडीलाई भएको पाइदैन । एथलेटिक्स तथा भलिबल एवम् कबड्डीमा राष्ट्रिय स्तर सम्म नगरपालिका क्षेत्रका खेलाडीहरुले राम्रो प्रभाव पारेका पाइदैन । मार्सल आर्टमा प्रदेश तथा केन्द्र सम्मै पुगेर पदक नै हात पार्ने खेलाडीहरुले पनि आफ्नै स्वमेहनतले मात्रै नतिजा निकालेको देखिन्छ । खेल क्षेत्रमा हेर्ने हो भने अहिले नगरपालिकाले खेलकुद प्रशिक्षक राखेको भए पनि उक्त प्रशिक्षकलाई कुन सम्मको लक्ष्य र उद्देश्य राखेर राखिएको छ र उसले नतिजा के कति दिन सक्छ भन्ने अपेक्षा र टिओआर बनाएको छ त नगरपालिकाले ?
कुनै पनि खेलकुदका प्रशिक्षकलाई निश्चित समयको लक्ष्य दिएर त्यो भित्र निश्चित लक्ष्य तोकेर जिम्मा दिएको खण्डमा मात्रै खेलकुद क्षेत्र विकास हुन सक्छ । स्थानीय तहस्तरमा राखिने प्रशिक्षकलाई कम्तीमा दुई वर्षको अन्तरमा अन्तर जिल्ला विधागत खेलकुद प्रतियोगिता राख्ने जिम्मेवारी सहितको लक्ष्य दिएर राखेको खण्डमा कम्तीमा उक्त प्रतियोगिता राख्दै गर्दा आफ्नो पालिकालाई टिम च्याम्पीयन बनाउन सक्ने सम्भावना रहन्छ । यदि त्यो प्रकारको लक्ष्य र केही थप जिम्मेवारी नदिने हो भने प्रशिक्षकले जागिर मात्रै खाने खेलाडी सँधै सहभागी मात्रै हुने सिवाय अरु हुन सक्दैन । त्यसैले अबका कुनै पनि प्रशिक्षकहरु यदि राख्ने हो भने उसलाई निश्चित तोकेको जिम्मेवारी पुरा गर्नै पर्ने भनेर मात्रै अगाडी बढाएको खण्डमा मात्रै खेलमा सुधार गर्न सकिन्छ ।

आइतवार, असार १७, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...