मुस्ताङको कागबेनीमा ‘यार्तुङ’ महोत्सवको रौनक

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा शुक्रबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीको मुख्य आयोजना र कागबेनी गाउँ समाजको सहआयोजनामा यार्तुङ महोत्सव सुरु भएको हो। यार्तुङ पर्व मुस्ताङमा बसोबास गर्ने गुरुङ, बिष्ट र लोवा समुदायका मानिसहरूले सदिंयौ वर्षदेखि मनाउँदै आएका छन्। यार्तुङको  शाब्दिक अर्थ यार भनेको बर्खायाम र तुङको अर्थ पर्व मनाउने भन्ने बुझिन्छ। पर्वको समयमा हिमाली समुदायका मानिसहरू आपसमा भेला हुने, राम्रो लगाउने, मीठो खानाका परिकार बनाएर खाने र आपसमा रमाइलो गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलन छ।
वडा स्तरीय रूपमा सञ्चालन हुने यार्तुङ महोत्सव अन्तर्गत यसवर्ष वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीको पालो परेको हो। ३ दिनसम्म सञ्चालन हुने महोत्सव आइतबार समापन हुनेछ। छैठौं कागबेनी यार्तुङ महोत्सवको गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्ग्लेङ गुरुङ, उपाध्यक्ष ढिकी गुरुङ र वडाध्यक्ष कर्मा घ्याचो गुरुङले दीपप्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
महोत्सवको उद्घाटनमा बोल्दै गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्ग्लेङ गुरुङले नेपालको संविधानको अनुसूची ८ को क्र.सं. २२ र स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ११ को उपदफा २ फ मा उल्लेख भए अनुसार स्थानीय तहले अपन्तव लिएर महोत्सवका रुपमा यार्तुङ मनाउन लागिएको बताउनु भयो । उहाँले भन्नुभयो -“सम्वन्धित स्थानीय सरकारले आफ्नो भाषा, संस्कृती र ललितकला संरक्षण र विकास सम्वन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन सोही स्थानीय सरकारले गर्न सक्नेछ भन्ने अधिकारक्षेत्र माथि टेकेर हाम्रो वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आफ्नो सोच, उद्धेश्य तथा रणनैतिक कार्यक्रम तय गरी आर्थिक सहयोग सहित यस छैठौँ कागवेनी यार्तुङ महोत्सव आयोजना गरिएको हो ।”
महोत्सवमा अध्यक्ष गुरुङले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश:-
छैठौं कागवेनी यार्तुङ महोत्सव उद्घाटन समारोहका सभाध्यक्ष तथा यस ४ नं वडाका वडाध्यक्ष श्री कर्मध्याचो गुरुङ ज्यू, बिशेष अतिथी गाउँपालिकाका उपाध्यक्ष आदरणीय श्री दिकी गुरुङ ज्यू, बिशेष अतिथी लोघेकर दामोदर कुण्ड गाउँपालिकाकाका अध्यक्ष श्री लोप्साङ छोप्पेल विष्ट ज्यू, अतिथी पूर्व गाउँपालिका अध्यक्ष ज्यू, अतिथी सम्पूर्ण वडाका वडा अध्यक्ष ज्यूहरु, कागछोदे गुम्वाका प्रमुख लामाज्यू, आयोजक समितिका पदाधिकारीहरु तथा पत्रकार मित्रहरु ।
नेपालको संविधानको अनुसूची ८ को क्र.सं. २२ र स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ११ को उपदफा २ फ मा उल्लेख भए अनुसार सम्वन्धित स्थानीय सरकारले आफ्नो भाषा, संस्कृती र ललितकला संरक्षण र विकास सम्वन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन सोही स्थानीय सरकारले गर्न सक्नेछ भन्ने अधिकारक्षेत्र माथि टेकेर हाम्रो वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आफ्नो सोच, उद्धेश्य तथा रणनैतिक कार्यक्रम तय गरी आर्थिक सहयोग सहित यस छैठौँ कागवेनी यार्तुङ महोत्सव आयोजना गरिएको हो ।
विशेषत: यार्तुङ पर्व हामी पालिकावासीहरुको ऐतिहासिक महत्व वोकेको परम्परागत पर्व हो । यस पर्वमा कलिला उमेरका वालकदेखि उमेर पुगेका वृद्धाहरुसम्मका सवै उमेर समुहका स्थानीय नागरिकहरुले फागङ्याल चाड सम्पन्न गरे लगत्तै साउन, भदौ महिनामा हर्षौउल्लासका साथ विभिन्न मनोरञ्जनात्मक कृषि, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै खुसीयाली आदानप्रदान गरिदै आएको छ । घोडादौड तथा तारा खेल प्रतियोगिता र स्थानीय लोकगित तथा नृत्य प्रदर्शन यस पर्वको मुख्य आकर्षण हो । हामी मुस्ताङवासी संघर्ष पनि गर्छौं साथसाथै ४ वटा ऋतुहरुमा ४ थरी पर्व मनाएर खुसीयाली पनि मनाउँदछौं । ४ वटा ऋतुहरुको ४ थरी पर्व मध्ये यार्तुङ पर्व एक हो ।
पछिल्लो चरणमा पालिकावासीहरु पेशा व्यवसायको खोजी, विभिन्न अति आवश्यक सुविधाहरुको खोजी अर्थात आफ्नो रोजिरोटी र जिवनस्तर उकास्न बैदेशिक पलायनले गर्दा आफ्नो धर्म संस्कार, संस्कृतीको संरक्षण र विकास गर्न चुनौती खडा भएको अवस्था छ । अधिकांश गाउँहरुमा युवा जनशक्ति करिव करिव रित्तिनै लागेको अवस्था विद्यमान छ । हाम्रा सम्पूर्ण जनसमुदायको चाहना र ध्यान केवल आर्थिक समृद्धिमा मात्र केन्द्रित भएको महशुस हुन थालेको छ । जसले गर्दा भोलीको दिनमा हाम्रो अस्तित्व र पहिचानमा समेत प्रश्न चिञ्ह खडा हुने अवस्था छ । अझ विशेष गरी युवा जनशक्तिहरुले हाम्रो धर्म, भाषा र संस्कृतीमा अग्रसरता र जागरुकता नदेखाउनाले भावि युवा पुस्ता र समुदायको भविश्य संकटमा छ ।
गाउँपालिकाले यी तमाम समस्याहरुलाई बुझेर सम्वोधन गर्न हाम्रो भाषा, धर्म, कला र संस्कृती एक पुस्ता देखि अर्को पुस्तासम्म साँस्कृतिक पुस्तान्तरण होस्, संरक्षण संगै विकास होस् तथा सामाजिक सद्भाव कायम होस्, आधुनिकतासंगसंगै आफ्नो मौलिकताको पनि कदर गरोस् तथा अन्तत्वगत्व गाउँ गाउँ र वडा वडा वीचको सम्वन्ध थप प्रगाढ होस्, मनोरन्जन संगसंगै आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगोस् भन्ने मनसायका साथ यस पर्व आयोजना तथा सञ्चालनका लागि खर्च होइन लगानी गरेको महशुस गरेको छ । हामीलाई थाहा नै छ एक हातले मात्रै पक्कै पनी ताली वज्दैन ।
यस कार्यक्रमलाई भव्य रुपमा सफल वनाउनको लागि आदरणीय पालिकावासी आमावुवा, दाजुभाई दिदीवहिनीहरुलाई आवश्यक सल्लाह सुझाव सहयोग समन्वय र सहकार्यका लागि हार्दिक हार्दिक अपिल गर्दै अन्तमा यस छैठौं कागवेनी यार्तुङ महोत्सव कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने आयोजक समितिका पदाधिकारीहरु, युवा क्लव, महिला समुह, सहभागी खेलाडी भाईवहिनीहरु, सुरक्षाकर्मी, कलाकार साथै कागवेनी वडावासीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै मलाई प्रमुख अतिथीको हैसियतले सम्वोधन गर्ने अवसर प्रदान गर्नु भएकोमा आभार व्यक्त गर्दै यस छैठौं कागवेनी यार्तुङ महोत्सवको भव्य सफलताको शुभकामना गर्दछु । धन्यवाद ।

शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...